श्रीलंकाका कृषिमन्त्रीले एक लाख लोपोन्मुख टोक मकाक (बाँदर) चिनियाँ कम्पनीलाई बेच्ने बताएपछि उक्त तयारीको पशु अधिकारकर्मीले विरोध गरेका छन्।
संरक्षणकर्मी र पशु अधिकारकर्मीहरूले चिनियाँ चिडियाखानामा एक लाख बाँदरलाई राख्ने व्यवस्थित चिडियाखाना छन् भन्नेमा आफूहरू विश्वस्त नभएको बताएका छन्। प्रयोगशालामा परीक्षणका लागि बाँदरहरू प्रयोग हुने सम्भावना बढी रहेको दाबी उनीहरूको छ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको लोपोन्मुख वन्यजन्तुको सूचीमा समावेश गरिएको टोक मकाक श्रीलंकामा पनि संरक्षित प्रजाति भने होइन।
श्रीलंकामा रहेका करिब ३० लाख टोक मकाकहरूले बालीनालीमा क्षति पुर्याउने गरेको भन्दै किसानहरूले व्यवस्थापनका लागि सरकारी निकाय गुहारेका थिए। यहीबीच त्यहाँका कृषिमन्त्रीले बाँदर निर्यात गर्ने योजना भएको बताएका थिए।
वन्यजन्तु तथा प्रकृति संरक्षण समाज, सेन्टर फर इन्भाइरोमेन्टल जस्टिस, फेडेरेशन अफ इन्भाइरोमेन्टल अर्गनाइजेसन र र्याली फर एनिमल राइट्स एन्ड इन्भाइरोमेन्ट श्रीलंकाले विज्ञप्ति निकालेर सरकारको उक्त तयारीको विरोध गरेका हुन्।
उनीहरूले चीनमा अन्तराष्ट्रिय मापदण्ड पूरा गरेका चिडियाखाना १८ वटा मात्रै रहेको बताएका छन्।
Shares

प्रतिक्रिया