ग्लोबल


जब ११ हजार फिट उचाइमा उडेको विमानमा पाइलटको पिठ्युँमा किङकोब्रा उक्लियो

जब ११ हजार फिट उचाइमा उडेको विमानमा पाइलटको पिठ्युँमा किङकोब्रा उक्लियो

नेपालखबर
चैत २३, २०७९ बिहिबार ९:०, काठमाडौँ

दक्षिण अफ्रिकाका पाइलट रुडोल्फ एरसमसका लागि त्यो उडान अन्य जस्तै नियमित र सामान्य थियो। तर उनलाई थाहा थिएन कि विमानमा थप एक यात्री छ, जुन किङकोब्रा हो र जहाज ११ हजार फिटमा उडान भर्दै गर्दा त्यो पिठ्युँमा उक्लिँदै आफ्नो सिटमुनि आइपुग्नेछ।

रुडोल्फ ११ हजार फिटको उचाइमा जहाज उडाइरहेका थिए। त्यही बखत उनको पिठ्युँमा चिसो स्पर्शको महसुस उनले गरे। सुरुमा लाग्यो कि त्यो पानी हो। बोतलको बिर्को राम्रोसँग बन्द नभएर सर्टमा खसेको अनुमान उनले गरे। तर त्यो चिसो सल्बलाउँदै विस्तारै तल ओर्लियो। जसै उनले बायाँतर्फ फर्किएर सिटमुनि हेरे- त्यहाँ किङकोब्रा थियो।

रुडोल्फले भनेका छन्, 'त्यसबेला मेरो दिमागले केही सोच्नै सकेन, म जमेँ। के गर्ने? बुझ्न सकिनँ।' 

रुडोल्फ ब्लोमफन्टेनबाट प्रिटोरियाको लागि विमान लैजाँदै थिए। उक्त विमानमा थप चार जना यात्रु थिए। अब के गर्ने भन्नेबारे त सुरुमा सोच्न पनि सकेनन् उनले। अनि ठण्डा दिमागले सोचेर सामान्य आत्तिन नहुने मनस्थिति उनले बताए। भन्छन्, 'पाइलटलाई धेरै किसिमको परिस्थितिमा के गर्ने भनेर तालिम दिइएको हुन्छ। तर ककपिटमा सर्प भेटियो भने त्यो सर्पसँग कस्तो व्यवहार गर्ने भन्ने तालिम कहीँ कहिल्यै दिइएको थिएन।'

त्यसपछि उनले आत्तिए अवस्था झन् खराब हुनसक्ने बुझे। कोब्रा विमानमा रहेको थाहा पाएपछि आकस्मिक अवतरणको तयारी गरे। कोब्राले टोकेमा ३० मिनेटभित्रै आफ्नो मृत्यु हुनसक्ने र विमानमा सर्प छ भन्दा अन्य यात्रु आत्तिनसक्ने बुझेर उनले सुरुमा त यात्रुलाई यसबारे नभन्ने सोचे।

शान्त भएर सोचेपछि पछाडि भएका यात्रुलाई यसबारे जानकारी दिनु उचित ठाने। उनले भने, 'विमानभित्र एउटा सर्प छ। त्यो अहिले मेरो सिटमुनि छ। त्यसैले जतिसक्दो चाँडो आकस्मिक अवतरण गर्नुपर्ने भएको छ।' तर उनले त्यो सर्प किङकोब्रा भएको भन्ने जानकारी भने गराएनन्।

यसबीच उनी निकै डराएका थिए। यात्रुको प्रतिक्रिया कस्तो रह्यो भन्ने प्रश्नमा रुडोल्फ भन्छन्, 'सियो खस्यो भने पनि त्यसको आवाज सुन्न सकिन्छ। तर त्यो भनेपछि यात्रु एकदमै स्तब्ध थिए, कुनै प्रतिक्रिया आएको थिएन। सायद त्यो क्षण सबैका लागि भयावह थियो, यात्रु चिसिएका थिए।'

यसैबीच उनले वेलकम सिटीमा विमानको आकस्मिक अवतरण गराए।

धेरैई अचम्मित पार्ने यो घटना केही कर्मचारीका लागि भने अचम्मको थिएन। विमान वर्सेस्टर फ्लाइङ क्लबबाट उडेको थियो। त्यहाँ काम गर्ने दुई जनाले विमानमुनि सर्प देखेको बताएका छन्। उनीहरूले त्यसलाई समातेर भगाउने प्रयास गरे, तर असफल भए। 

त्यसपछि त्यो सर्प हरायो। कर्मचारीले भनेका छन्, 'हामीलाई लाग्यो त्यो सर्प विमानबाट बाहिर निस्केर कतै गइसक्यो होला।'

उक्त सकुशल अवतरणपछि दक्षिण अफ्रिकाको नागरिक उड्डयन विभागका आयुक्त पोप्पी खोसाले पाइलट रुडोल्फको प्रशंसा गरेका थिए।न्यूज २४ वेबसाइटकाअनुसार खोसाले भनेका छन्, 'रुडोल्फले यस्तो परिस्थितमा पनि सबैको ज्यान बचाउनेगरी अद्भूत काम गरेका छन्। उनी सम्मानका योग्य छन्।

तर रुडोल्फले भने विमानमा सर्प भेट्दा आफू निकै डराएको भए पनि आफूले गरेको उक्त काम सामान्य भएको बताएका छन्। उनले भनेका छन्, 'त्यस्तो अवस्थामा नआत्तिकन शान्त बसेका यात्रुको म प्रशंसा गर्दछु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .