कला


१० वर्षपछि अष्ट्रेलिया यात्रामा मंगोलियन हार्ट

१० वर्षपछि अष्ट्रेलिया यात्रामा मंगोलियन हार्ट

नेपालखबर
चैत २३, २०७९ बिहिबार ९:८, काठमाडौँ

नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछि अष्ट्रेलियामा सांगितिक यात्रा गर्ने भएको छ। नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा अष्ट्रेलियाको विभिन्न ८ शहरमा ब्यान्डले आफ्नो सांगितिक प्रस्तुति दिने भएको हो।

अप्रिल १० बाट म्यूजिकल टुर सुरु हुने ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले बताए।

‘हामी शुक्रबार नै नेपालबाट अष्ट्रेलिया प्रस्थान गर्दैछौँ’, लामाले भने, ‘१० वर्षपछि अष्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौं। दर्शक/श्रोतालाई सरप्राइज दिने हिसाबले हामीले तयारी गरेका छौं ।’ 

टुर व्यवस्थापक नेपाली टच अष्टे«लियाका सिइओ दिपेश पुनका अनुसार ब्यान्डको पहिलो सांगितिक प्रस्तुत १० तारिखमा मेल्बर्न शहरमा हुने छ । त्यसपछि १३ ताखिरमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्टहुँदै ३० तारिखमा एडलेडमा पुगेर टुंगिनेछ।

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा। लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।

ब्यान्ड यात्रा ३० वर्ष पुगेको अवसरमा अष्ट्रेलिया टुर गर्न पाउँदा उत्साहित छन्, ब्यान्डका फ्रन्ट म्यान गायक राजु लामा। 

‘१० वर्षपछि अष्ट्रेलियामा मंगोलिन हार्टसहित ‘ज्यो ज्यो’ जाँदैछ,’लामाले भने, ‘ब्यान्डका पुराना र केही नयाँ गीत हामी त्यहाँ प्रस्तुत गर्नेछौं। हामी अष्ट्रेलियासँगको हाम्रो पुरानो सांगितिक सम्बन्ध फेरि रिन्यू गर्न पाउँदा साह्रै उत्साही छौं।’

‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .