सन् २०१८ देखि २०२२ सम्म विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता भारत बनेको छ। यो अवधिमा विश्वमा भएको हतियार आयातमध्ये ११ प्रतिशत भारत भित्रिएको स्विडेनस्थित स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले जनाएको छ।
इन्स्टिच्युटले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार यो अवधिमा भारत रुसको सबैभन्दा ठूलो हतियार ग्राहक बनेको छ। रुसले निर्यात गरेकामध्ये ३१ प्रतिशत हतियार भारतले किनेको छ।
यद्यपि, २०१३–२०१७ को तुलनामा भने भारतलाई रुसको हतियार निर्यातमा ३७ प्रतिशतले गिरावट आएको देखिन्छ।
पछिल्लो पाँच वर्षमा रुसले बेचेकामध्ये २३ प्रतिशत हतियारचीनले किनेको छ। जुन अघिल्लो पाँच वर्षको तुलनामा ३७ प्रतिशतको वृद्धि हो।
युद्धका कारण २०२२ मा भने युक्रेन विश्वको तेस्रो ठूलो हतियार आयातकर्ताका रुपमा उदाएको छ। युद्धअघि युक्रेन १४ औँ ठूलो आयातकर्ता थियो।
त्यस्तै यो अवधिमा पाकिस्तानले किनेकोमध्ये ७७ प्रतिशत हतियार चीनले उसलाई बेचेको छ। जसका कारण पाकिस्तान हतियारमा चीनसँग निर्भर देखिन्छ।
गएको पाँचवर्षमा भारतपछि साउदी अरब, कतार, अस्ट्रेलिया र चीन प्रमुख हतियार आयातकर्ता बनेका छन्। जसले यो अवधिमा जम्मा ३६ प्रतिशत कारोबार ओगटेका छन्।
भारतले हतियार खरिदमध्येका ११ प्रतिशत, साउदी अरबले ९.६ प्रतिशत र कतारले ६.४ प्रतिशत हिस्सा ओगटेका छन्।
निर्याततर्फ भने अमेरिका सबैभन्दा अगाडि छ। त्यसपछि रुस, फ्रान्स, चीन र जर्मनी छन्। यी पाँच मुलुकले विश्वमा हुने हतियार बिक्रीमध्ये ७६ प्रतिशत हिस्सा ओगट्छन्।
अमेरिकाले ४० प्रतिशत हिस्सा ओगट्छ भने उसले बेचेको ४१ प्रतिशत हतियार मध्यपूर्वका मुलुकहरुले किन्छन्। एजेन्सी
Shares

प्रतिक्रिया