ग्लोबल


अमेरिकाले फुटाएको चिनियाँ बेलुनबारे थाहा भएका कुरा

एउटै बेलुनले दुई महाशक्तिबीच निम्त्यायो कूटनीतिक तनाव
अमेरिकाले फुटाएको चिनियाँ बेलुनबारे थाहा भएका कुरा

नेपालखबर
माघ २२, २०७९ आइतबार १५:६, काठमाडौँ

गएको साता अमेरिकी आकासमा उडेको एउटा चिनियाँ बेलुनले विश्वका दुई महाशक्ति मुलुकबीच कूटनीतिक हलचल निम्त्याएको छ। शनिबार अमेरिकी वायुसेनाले सो बेलुनलाई आन्ध्र महासागरमाथिको आकाशमा फुटाइदिएको छ।

चीनले त्यो गैरसैनिक र खासगरी मौसमसम्बन्धी अनुसन्धानका लागि प्रयोग गरिने बेलुन भनेको छ। सो बेलुन खराब मौसमका कारण बाटो बिराएर अमेरिकी आकासमा पुगेको उसको भनाइ छ।

तर, अमेरिकाले बेलुन फुटाएपछि चीनले ‘थप कारबाही’को धम्की दिएको छ।

बेलुन फुटाइसकेपछि चिनियाँ विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै अमेरिकाले बल प्रयोग गरेर अति प्रतिक्रिया देखाएको र अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लंघन गरेको जनाएको छ। 

‘चीनले सम्बन्धित कम्पनीको वैध अधिकार र हितको रक्षा गर्नेछ। सँगसँगै जवाफमा थप कारबाहीको अधिकारी पनि आफूसँग राख्छ,’ वक्तव्यमा भनिएको छ।

तर, अमेरिकाले भने निस्सन्देह त्यो जासुसी बेलुन भएको दाबी गरेको छ। अमेरिकी आकासमा सो बेलुन देखिएपछि विदेशमन्त्री एन्टोनी ब्लिंकेनले चीन भ्रमण रद्ध गरे। जुन भ्रमणले दुई मुलुकबीचको तनाव कम गर्ने अपेक्षा गरिएको थियो।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार सो बेलुनले सेन्सर र निगरानीका उपकरण बोकेको र त्यसले आफ्नो बाटो बदल्न सक्ने बताएको छ। सो बेलुन अमेरिकाको मोन्टानास्थित सैन्य हिसाबले संवेदनशील मानिने स्थानमा उडेको थियो। जहाँ अमेरिकी सेनाका आणबिक बम राखिएका छन्। 

त्यसैले जासुसी रोक्नका लागि बेलुन फुटाउनु परेको अमेरिकाको भनाइ छ।

अमेरिकी वायुसेनाको एउटा लडाकु विमानले हतियार प्रहार गरी शनिबार दिउँसो सो बेलुन फुटायो। टीभीमा प्रशारित फुटेजमा सानो विस्फोटको आवाज सुनियो। त्यसपछि बेलुन बिस्तारै पानीमा खस्यो। 

बेलुनमा भएका उपकरण निकाल्ने कार्य चलिरहेको छ। 

अमेरिकी अधिकारीहरुले यो बेलुनको आकार तीन वटा स्कुल बसजत्रो भएको बताएका छन्। जुन बेलुन ६० हजार फिट (१८.६ किलोमिटर) को उचाइमा पूर्वतर्फ अघि बढिरहेको थियो।

यसलाई निगरानी र जासुसीका लागि प्रयोग गरिएको बताए पनि अधिकारीहरुले त्यसको प्रमाण भने दिएका छैनन्।

अमेरिकाका रक्षा तथा सैन्य अधिकारीहरुले शनिबार जनाएअनुसार सो विमान जनवरी २८ का दिन अमेरिकी आकासमा प्रवेश गरेको थियो। अलास्का हुँदै जनवरी ३० मा क्यानडाको आकासमा पुगेको थियो। अर्को दिन यो पुनः अमेरिकी आकासमा पुग्यो। 

ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनलाई बेलुनबारे मंगलबार जानकारी दिइएको थियो। यसबारे विदेशमन्त्री ब्लिंकेन र उपमन्त्री वेन्डी सेरमनले बुधबार चिनियाँ दूतहरुसँग कुराकानी गरेका थिए।

बेलुनबारे पहिलो पटक सार्वजनिक वक्तव्य दिँदै पेन्टागनका प्रेस सेक्रेटरी बिग्रेडियर जनरल प्याट राइडरले सो बेलुन अमेरिकाका लागि सैन्य वा भौतिक खतरा नभएको बताएका थिए। जसमा कुनै हतियार नभएको उनको स्वीकारोक्ति थियो।

तर, बेलुनमा हतियार नभए पनि त्यो अमेरिकाका लागि जोखिम भएको अवकाशप्राप्त जर्नेल जोन फेरारीले बताए। बेलुन आफैँमा अमेरिकी प्रतिरक्षा क्षमताको एउटा परीक्षा भएको उनको भनाइ थियो। सम्भवतः बेलुन आउँदै गरेको अमेरिकाले कतिबेला थाहा पाउँछ, उसको प्रतिरक्षा प्रणालीमा कुनै गडबडी छ कि भनेर परीक्षण गर्न बेलुन पठाइएको हुनसक्ने उनको तर्क छ।

एउटै क्षेप्यास्त्रले खस्यो बेलुन
बुधबार सो बेलुन मोन्टाना राज्यको आकासमा देखियो। त्यतिबेलै नागरिकको जिउधनमा जोखिम नहुने ठाउँमा पुगेपछि त्यसलाई खसाउन राष्ट्रपति जो बाइडेनले आदेश दिए।

विशाल आकारका कारण बेलुनका उपकरण परपरसम्म छरिने हुनाले शीर्ष सैन्य नेतृत्वले बाइडेनलाई बेलुनलाई जमिनमाथि खसाउन नहुने सल्लाह दिए।

शनिबार २ः३९ मा बेलुन साउथ क्यारोलाइनाको किनाराबाट ६ नटिकल माइलको दुरीमा समुद्रमाथि उडिरहेको बेला भर्जिनियाको ल्याङ्ली हवाई अड्डाबाट उडेको एउटा एफ–२२ लडाकु विमान ५८ हजार फिटको उचाइमा पुग्यो। र, सो विमानले एआईएम–९एक्स साइडविन्डर नामक क्षेप्यास्त्र प्रहार गर्यो। 

सो क्षेप्यास्त्र छोटो दुरीमा आकासबाट आकासमै मार हान्न प्रयोग हुन्छ। क्षेप्यास्त्र १० फिट लामो र ९० किलो हाराहारीको हुन्छ।

क्षेप्यास्त्र विस्फोटपछि बेलुन फुट्यो र लामो समय लगाएर आन्ध्र महासागरमा खस्यो।

बेलुन खसाउने एफ–२२ विमानलाई अनेक लडाकु विमानहरुले सहयोग गरेका थिए। मासाचुसेट्सबाट एफ–१५ उठेका थिए भने अरेगन, मोन्टाना, साउथ क्यारोलाइना र नर्थ क्यारोलाइनाबाट ट्यांकर उडेका थिए।

सबै पाइलटहरु सुरक्षित रुपमा आआफ्नो स्थानमा फर्केको सैन्य अधिकारीहरुले बताएका छन्।

बेलुन पानीसम्म आइपुग्दा त्यसलाई उठाउन नैसैनिक डुंगाहरु तम्तयार भएर बसिसकेका थिए। 

२०१५ मा एआईएम–९एक्स साइडविन्डर प्रहारको अभ्यास गर्दै एक एफ-२२ विमान

त्यसबेला सो इलाकाको हवाई क्षेत्र बन्द गरिएको थियो। त्यस्तै कयौँ विमानस्थल बन्द गरिएको थियो।

पानीमा झरेको बेलुन र त्यसका उपकरण ७ माइल परपरसम्म छरिएको अधिकारीहरुले बताएका छन्। पानीमा पनि बेलुन ४७ फिट गहिरोमा पुगेको बताइएको छ।

उपकरण बटुल्न अमेरिकी नौसेनाका कयौँ जहाज खटाइएको बताइएको छ। बरामद उपकरणको परीक्षणका लागि एफबीआईका अधिकारीहरु पनि त्यहाँ पुगेका छन्।

उपकरणको परीक्षणपश्चात बेलुन किन अमेरिकी आकासमा आइपुगेको थियो भन्ने जानकारी पाउन सकिने अधिकारीहरुले बताएका छन्।

जासुसी बेलुनको इतिहास
जासुसी बेलुन नयाँ कुरा होइन। शताब्दियौँ अघिदेखि प्रयोग गरिँदै आएको यो तरिका दोस्रो विश्वयुद्धमा व्यापक प्रयोगमा आयो।

ट्रम्प प्रशासनका बेला पनि यस्तै चिनियाँ बेलुन कम्तीमा तीन पटक र बाइडेन प्रशासनको सुरुवाती चरणमा एक पटक अमेरिकी आकासमा देखा परेको अधिकारीहरुले बताएका छन्। तर, ती बेलुन यति लामो समय कहिल्यै रहेका थिएनन्।

दोस्रो विश्वयुद्धका बेला जापानले बम राखिएका हजारौँ हाइड्रोजन बेलुन उडाएको थियो। जसमध्ये सयौँ अमेरिका र क्यानडा पुगेका थिए। धेरैजसो बेकार भए पनि एउटा बेलुनले भने कयौँको ज्यान लिएको थियो।

१९४५ को मे महिनामा अरेगनमा भेटिएको बेलुन चलाउँदा ६ नागरिकको मृत्यु भएको थियो।

शीतयुद्धताका अमेरिकाले पनि सोभियत क्षेप्यास्त्र पत्ता लगाउन कयौँ बेलुन उडाएको थियो। जसलाई उनीहरुले प्रोजेक्ट मुगल भनेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .