ग्लोबल


विषाक्त रक्सी पिउँदा बिहारमा २२ जनाको मृत्यु

विषाक्त रक्सी पिउँदा बिहारमा २२ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर २९, २०७९ बिहिबार २०:१, पटना

भारतको बिहार राज्यको सारण जिल्लाका तीनवटा गाउँमा विषाक्त मदिरा पिउँदा २२ जनाको मृत्यु भएको छ भने २० जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ।

राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिई स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्। 

महिला समूहहरूले मदिरा उत्पादन तथा बिक्री-वितरणविरुद्ध अभियान चलाएपछि बिहार राज्यमा सन् २०१६ मा मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको थियो।

प्रहरीका अनुसार अस्पताल भर्ना भएका २० मध्ये धेरैले आँखाको ज्योति गुमाएका छन्। गैरकानुनी रूपमा मदिरा बिक्री गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ। सारण जिल्ला राज्यको राजधानी पटनाबाट करिब ६० किलोमिटर उत्तरमा अवस्थित छ। 

अवैध रूपमा बनाइएको मदिरा सेवनबाट हुने मृत्युलाई भारतमा सामान्य  मानिन्छ। अवैध रूपमा उत्पादन हुने मदिरालाई कडा बनाउन कीटनाशकलायत रसायन प्रयोग गरिन्छ। यसरी उत्पादित मादक पदार्थ कम मूल्यमा बिक्री हुने गरेको छ। कर छलेर अवैध तरिकाले उत्पादन गर्ने यो व्यवसाय लाभदायक उद्योग भएको छ। 

यो वर्षको प्रारम्भमा विषाक्त मदिरा पिउँदा पश्चिम भारतको गुजरात राज्यमा कम्तीमा २८ जनाको मृत्यु भएको थियो भने ६० जना बिरामी भएका थिए। गुजरातमा पनि मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ। सन् २०२० मा भारतको उत्तरी पञ्जाब राज्यमा पनि विषाक्त मदिरा पिएर एक सय २० जनाले ज्यान गुमाएका थिए। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad