अवकाशको उमेर पहिल्यै पार भइसकेका तर राष्ट्रपति सी चिनफिङका निकट रहेका जर्नेल चाङ युसिया चीनको शक्तिशाली केन्द्रीय सैन्य आयोग (सीएमसी) को प्रथम उपाध्यक्ष बन्ने भएका छन्। उनी युद्ध मैदानका अनुभवी जर्नेल हुन्।
आइतबार नै सीएमसीका सदस्यहरुको नामावली सार्वजनिक हुनेछ। सीएमसीका उपाध्यक्ष जर्नेल सु छिलियाङ, रक्षामन्त्री जर्नेल वेइ फेङहे र जोइन्ट स्टाफ डिपार्टमेन्ट चिफ जर्नेल ली चुओचेङ तीनै जनाले अवकाश पाउँदैछन्। ६८ पुगिसकेका उनीहरु शनिबार सार्वजनिक केन्द्रीय सदस्यको सूचीमा अटाएका छैनन्।
चीनमा सीएमसीका सदस्यहरु केन्द्रीय सदस्य हुनुपर्ने प्रचलन छ।
सीएमसीको पोलिटिकल वर्क डिपार्टमेन्टका प्रमुख जर्नेल मियाओ हुवा र सैन्य अनुशासन प्रमुख चाङ सेङमिन मात्र केन्द्रीय सदस्य छन्। दुवै ६८ मुनिका हुन्।
तर, जर्नेल चाङ युसिया भने अपवाद बनेका छन्। जुलाई ७२ पुगेका उनी अझै केन्द्रीय समितिमा छन्। हाल उनी सीएमसीको दोस्रो उपाध्यक्ष छन्। सीएमसी २० लाख सेनाको सम्पूर्ण नेतृत्व गर्ने समिति हो, जसको प्रमुख पनि सी चिनफिङ नै छन्।
चाङ सीप्रति वफादार मानिन्छन्। उनका बुबा जर्नेल चाङ चोङसुन १९७० को दशकमा जनमुक्ति सेनाको बन्दोबस्तीसम्बन्धी प्रमुख थिए। त्यसको ३० वर्षअघि १९४७ मा उनी पीएलएको उत्तरपश्चिमी आर्मी कर्प्सका कमान्डर थिए। सो कर्प्सको राजनीतिक कमिसार भने सीका बुबा सी चोङसुन थिए।
चाङ १८ वर्षको उमेरमा सेनामा भर्ती भएका थिए। १९७९ को चीन–भियतनाम युद्धका बेला उनी कम्पनी कमान्डर थिए।
सेनामा सीले गरेको सुधार कार्यक्रममा जर्नेल चाङको भूमिका महत्वपूर्ण थियो। सीले थालेको सुधार प्रक्रिया पूर्णताको निकट रहेकाले चाङको निरन्तरता स्वाभाविक भएको हङकङस्थित सैन्य विश्लेषक लियाङ कुओलिङ बताउँछन्।
सीपीसीको नयाँ केन्द्रीय समितिमा चिनियाँ सेनाका १४ नयाँ अनुहार थपिएका छन्। त्यसमध्ये सबैभन्दा कान्छा हुन् ५५ वर्षीय जर्नेल चाङ तिङछिउ। उनी गतवर्ष पीएलएको हवाई सेना कमान्डर बनेका थिए। एससीएमपी
Shares

प्रतिक्रिया