ग्लोबल


श्रीलङ्कामा घट्यो इन्धनको मूल्य

श्रीलङ्कामा घट्यो  इन्धनको मूल्य

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार ७:२६, काठमाडौँ

विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त श्रीलङ्काले सोमबार इन्धनको मूल्य घटाएको छ।

ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य सोमबार रातिदेखि प्रतिलिटर ४० रुपैयाँले घटाएर ३ सय ७० रुपैयाँ (करिब १.०२ अमेरिकी डलर) कायम गरिएको जनाएको छ।

तर नियमित पेट्रोलको मूल्य गत वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै दोब्बर छ भने डिजेलको मूल्य सन् २०२१ को डिसेम्बरको तुलनामा साढे तीन गुणा बढी छ।

श्रीलङ्कामा वैदेशिक मुद्राको अभावसँगै इन्धन खरिदका लागि यस वर्षको सुरुमा सवारी चालकहरूले इन्धन प्राप्त गर्न हप्तौं बिताउनु परेको थियो। इन्धन अभावसँगै देखिएको आर्थिक सङ्कट र खाद्यान्न लगायतका सामानमा अत्यधिक मूल्यवृद्धिले हप्तौंसम्म चलेको प्रदर्शनमा योगदान पुर्‍याएको थियो। 

आन्दोलनले उचाई लिँदा तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षलाई जुलाईमा पद त्याग गरी देश छोड्न बाध्य बनाएको थियो। 

हालैका हप्ताहरूमा पम्पहरूमा इन्धनको लागि पर्खनेको लाइन केही कम भएको छ, तर आवश्यक आयातको लागि भुक्तानी गर्न आवश्यक डलरको स्थायी अभावको कारण इन्धन अझै पनि कडाइका साथ वितरण गरिएको छ।

डिजेलको अभावका कारण सार्वजनिक यातायात पनि ठप्प भएको थियो तर अहिले सेवाहरू लगभग सामान्य अवस्थामा फर्केका छन्, यद्यपि यातायात भाडा, अन्य सेवा र सामानको बढ्दो मूल्य दोब्बरजस्तै भएको छ।

आधिकारिक वार्षिक मुद्रास्फीति दर ७० प्रतिशतको हाराहारीमा छ।

विश्व बैंकले श्रीलङ्काको केन्द्रीय बैंकले प्रक्षेपण गरेको ८.७ प्रतिशतको प्रक्षेपणभन्दा आर्थिक सङ्कुचन भयावह हुने चेतावनी दिएपछि पेट्रोल र डिजेलमा पछिल्लो पटक कमी आएको हो।

विश्व बैंकले गत साता सार्वजनिक गरेको पछिल्लो विवरणमा आगामी वर्ष पनि अर्थतन्त्र खुम्चिँदै जाने उल्लेख छ। आगामी वर्ष ४.२ प्रतिशतले सङ्कुचन आउने अनुमान गरिएको छ।

कोभिड–१९ महामारी र युक्रेन युद्धका अतिरिक्त श्रीलङ्काको स्वतन्त्रतापछिको सबैभन्दा खराब सङ्कटको आंशिक कारण राजापाक्षले नोभेम्बर २०१९ मा सत्तामा आएपछि घोषणा गरेको कर कटौती पनि हो।

यो सङ्कटले सरकारलाई अप्रिलमा ५१ अर्ब अमेरिकी डलर को विदेशी ऋण तिर्न बाधा परेको थियो। 

राजापाक्षका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले केही कर कटौतीलाई उल्ट्याएका छन् र बढी राजस्व सङ्कलनका लागि नयाँ योजना सार्वजनिक गरेका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चार वर्षका लागि दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता स्वीकृत गरेको छ।

तर मुद्रास्फीति नियन्त्रण गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एउटा सहयोग स्वीकृत भएपनि यो प्याकेज श्रीलङ्काको प्रमुख ऋणदाता चीनलगायतका अन्य ऋणदातासँग सम्झौताको अधीनमा छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad