सोभियत संघको पतनबाट चिनियाँ राष्ट्रपति सी चिनफिङले एउटा ठूलो पाठ सिकेको हालै सरकारी टेलिभिजन सीसीटीभीमा प्रशारित एउटा डकुमेन्ट्री सिरिजले उल्लेख गरेको छ। १५ खण्डको उज्यालोको खोजी नामक डकुमेन्ट्रीको एउटा खण्डको शीर्षक छः ‘बलियो मुलुकसँग बलियो सेना हुनैपर्छ।’ यो सी चिनफिङको मार्गदर्शक सिद्धान्त पनि हो।
सो डकुमेन्ट्रीमा राजनीतिशास्त्रीहरुले सोभियत संघको पतन र उसको सेनासँगको सम्बन्धलाई सीले निकै जोड दिने गरेका छन्। जसले मुलुकमा र बाहिर पनि संकट र दबाब आइपर्दा उनलाई सचेत राख्ने गरेको छ।
भूराजनीतिक परिवर्तन भइरहँदा सीले जनमुक्ति सेनामा ‘लाल सेनाको आत्मा’ ब्युँताउने प्रयास गरेको पनि डकुमेन्ट्रीमा उल्लेख छ। यो कम्युनिस्ट पार्टी र सेनालाई एकअर्कामा विलय गराउने प्रयास हो। जुन ‘बन्दुक पार्टीले नियन्त्रण गर्छ’ भन्ने सिद्धान्तमा आधारित छ।
यो भनाइ माओ चेतुङको अर्को प्रसिद्ध भनाइमा आधारित छ। माओले भनेका थिए, ‘राजनीतिक शक्ति बन्दुकको नालबाट जन्मिन्छ।’ जनमुक्ति सेनाको पूर्ववर्ती सेना अर्थात् लाल सेनालाई कोमिन्ताङविरुद्ध माओले नै नेतृत्व गरेका थिए।
‘सेनामा माथिदेखि तलसम्मको र एकीकृत कमान्डको व्यवस्था हुनैपर्छ। राजनीतिक शिक्षा अन्त्य गर्ने सोभियत कम्युनिस्ट पार्टीको निर्णय यसलाई पतनतिर डोर्याउने एउटा महत्वपूर्ण पक्ष हो,’ एकेडेमी अफ मिलिट्री साइन्सेसका सैन्य सिद्धान्तकार चियाङ तिचुनले भनेका छन्। यो एकेडेमी जनमुक्ति सेनाको प्रमुख एकेडेमीमध्ये एक हो।
‘सोभियत शासन र सोभियत कम्युनिस्ट पार्टीको अन्त्यको पाठ के हो भने सेनामाथिको पार्टीको सम्पूर्ण पकड आधारभूत विषय हो। त्यसलाई खुकुलो होइन, अझ बलियो बनाइनुपर्छ,’ उनले डकुमेन्ट्रीमा भनेका छन्।
सोभियत संघको सेनामा पहिले राजनीतिक कमिसारको व्यवस्था थियो। जसले सेनाको वैचारिक शिक्षाको रेखदेख गर्ने गर्थ्यो। तर, १९४२ मा सो व्यवस्था हटाइयो। सैन्य संरचनामा एकीकृत कमान्ड र नियन्त्रण तयार गर्ने उदेश्यले सो निर्णय लिइएको सांघाइ युनिभर्सिटी अफ पोलिटिकल साइन्स एन्ड लका पूर्व सहप्राध्यापक तथा चिलीमा बस्ने राजनीतिक विश्लेषक चेन ताओयिन बताउँछन्। यो निर्णयले दोस्रो विश्वयुद्धमा फासीवादी शत्रुहरुलाई हराउन सोभियत संघलाई सहयोग गरेको उनी बताउँछन्।
‘सोभियत कम्युनिस्ट नेतृत्वले युद्धको सुरुवातमा नाजी जर्मनीसँगको हार राजनीतिक कमिसार प्रणालीले निम्त्याएको हो भन्ने निष्कर्ष निकाल्यो। किनभने त्यसले कमान्ड संरचनालाई जटिल तुल्याउँथ्यो,’ चेन भन्छन्, ‘सोभियत सेनालाई पार्टीको होइन, राष्ट्रिय सेना बनाउनुपर्छ भन्ने निर्णयबाट चाहिँ पाठ सिक्न जरुरी छ।’
सैन्य वफादारी वृद्धि गर्ने सीको प्रयासले सेनामा पार्टीको सम्पूर्ण नियन्त्रण बलियो हुने चेनले बताए। तर, उनले थपे, ‘सेना वफादार हुँदैमा युद्ध लड्न सक्षम हुन्छ भन्ने छैन।’
‘युक्रेन युद्धका आधारमा भन्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सेनालाई पूर्ण रुपमा नियन्त्रणमा राख्न सफल रहेको हामी देख्न सक्छौँ। तर, त्यो सेना निकै ठूलो दलदलमा फसेको छ,’ उनले भने।
सोभियत शासन १९९१ मा ढल्यो। सो पतनको अध्ययन गर्न चिनियाँ कम्युनिस्ट पार्टीले विशाल स्रोत खर्च गरेको छ। २०१२ मा जनमुक्ति सेनाको नेतृत्व हातमा लिएपछि सीले जनमुक्ति सेनाका टुकडीहरुको निरीक्षण गर्ने क्रममा बारम्बार सर्तक रहनुपर्ने बताउँदै आएका छन्।
‘पार्टीले दिएको जोड र उसले अघि सारेका कुराहरुले सेनामा अझै वफादारीको कमी रहेको संकेत गर्छ। महामारीले सिर्जना गरेको घरेलु समस्या र युक्रेन युद्धपछि उत्पन्न विश्वव्यापी चुनौतीहरुसँग चीन जुधिरहेको छ,’ सांघाइ युनिभर्सिटी अफ पोलिटिकल साइन्स एन्ड लका प्राध्यापक नी लेस्योङ भन्छन्।
‘वफादारीका लागि सीले गरेको आह्वानले के संकेत गर्छ भने सेनाले आफ्नो आत्मविश्वास अझै बढाउन आवश्यक छ। जसलाई गएका वर्षहरुमा सीले चलाएको भ्रष्टाचारविरोधी अभियानहरुले असर पारेको थियो,’ उनले थपे।
भ्रष्टाचारविरोधी अभियानका क्रममा जनमुक्ति सेनाका सयौँ जर्नेलहरुलाई पदच्यूत गरिएको थियो। जसमा केन्द्रीय सैन्य आयोगका दुई पूर्वउपाध्यक्ष र शीर्ष जर्नेलहरु समेत थिए।
जनवादी गणतन्त्र स्थापनाको ७३ औँ वर्षगाँठ र आउँदो २० औँ पार्टी सम्मेलनको अवसरमा चलाइएको प्रचार अभियानको एउटा हिस्सा हो सो डकुमेन्ट्री। गएको दशकमा सीले सेनामा गरेका अभूतपूर्व परिवर्तनहरुलाई समेटेर सीसीटीभीले अनेकौँ डकुमेन्ट्री निर्माण गरेको छ।
एकेडेमी अफ मिलिट्री साइन्सेसका प्राध्यापक सेन चिहुवाले सी चिनफिङ विचारधाराको प्रबद्र्धन र सीको दुई केन्द्रीय पद– पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगको अध्यक्ष– सेनामाथि पार्टीको नियन्त्रणमा सुधार गर्न आवश्यक उपाय भएको बताए।
‘दुई प्रमुख पद उनले लिनु भनेको जनमुक्ति सेनाले सधैँ पार्टीलाई पछ्याउने सुनिश्चित गर्नु हो,’ उनले भने।
डकुमेन्ट्रीमा सिन्जियाङमा आतंकवादमाथिको दमनका लागि सशस्त्र प्रहरीको पनि प्रशंसा गरिएको छ। १५ लाख सदस्य रहेको सशस्त्र प्रहरीलाई २०१७ मा सीले सैन्य आयोग मातहत ल्याएका थिए। त्यसअघि सो प्रहरी आयोग र सार्वजनिक सुरक्षा मन्त्रालय मार्फत चीनको स्टेट काउन्सिल अर्थात् मन्त्रिपरिषद दुवैको मातहतमा थियो।
पार्टीको ‘तरवार’ भनिने सशस्त्र प्रहरी युद्धको समयमा सेनाको जगेडाका रुपमा पनि प्रयोग हुन्छ। आन्तरिक रुपमा यो प्रदर्शनहरुलाई दबाउन तथा आतंकवादविरोधी कारबाही, सीमा सुरक्षा र अग्निनियन्त्रणका लागि पनि जिम्मेवार छ।
–एससीएमपीबाट
Shares

प्रतिक्रिया