ग्लोबल


पुटिनले सीलाई भने : एक ध्रुवीय विश्व बनाउने प्रयास अस्वीकार्य छ

रुससँग मिलेर महाशक्तिको भूमिका निर्वाह गर्न तयार छौँ : सी
पुटिनले सीलाई भने : एक ध्रुवीय विश्व बनाउने प्रयास अस्वीकार्य छ

रोयटर्स


नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १८:३, काठमाडौँ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ समकक्षी सी चिनफिङलाई युक्रेन युद्धमा सन्तुलित अडान लिएको भन्दै धन्यवाद दिएका छन्।

उज्बेकिस्तानको समरकन्दमा सांघाइ कोअपरेसन फोरमको साइडलाइनमा यी दुई नेताबीच भेटवार्ता भएको हो। सी कोरोना महामारी सुरु भएयता पहिलो पटक विदेश भ्रमणमा निस्केका हुन्। यो युक्रेन युद्ध सुरु भएपछिको सी र पुटिनबीचको पहिलो आमनेसामने भेट हो।

द्विपक्षीय वार्ताको सुरुवातमा आफ्नो भनाइ राख्दै पुटिनले अमेरिकातर्फ संकेत गर्दै एक ध्रुवीय विश्व निर्माण गर्ने प्रयासको भर्त्सना गरे। 

‘एक ध्रुवीय विश्व बनाउने प्रयासले हालैको समयमा एकदमै कुरुप स्वरुप लिएको छ। जुन प्रयास पुरै अस्वीकार्य छ,’ पुटिनको भनाइ एएफपीले उधृत गरेको छ।

‘युक्रेन संकटको सन्दर्भमा हामी हाम्रा चिनियाँ मित्रहरुको सन्तुलित अडानलाई निकै मूल्यवान् सम्झन्छौँ,’ पुटिनले भने, ‘हामी तपाईंको प्रश्न र चासोहरुलाई बुझ्छौँ। आजको बैठकमा निश्चय नै हामी हाम्रो अडानलाई व्याख्या गर्नेछौँ।’

ताइवान मामिलामा पनि पुटिनले चीनको अडानको समर्थन गरे।

‘हामी एक चीन सिद्धान्तलाई बलियोगरी पालना गर्ने चाहना राख्छौँ। अमेरिका र उसका कठपुतलीहरुले ताइवान जलसन्धिमा गरेका उत्तेजक गतिविधिहरुको हामी भर्त्सना गर्छौँ,’ पुटिनले भने।

जवाफमा सीले चीन महाशक्तिका रुपमा रुससँग मिलेर काम गर्न चीन इच्छुक रहेको बताए।

‘चीन रुसको साथमा महाशक्तिको भूमिका निर्वाह गर्न इच्छुक छ। सामाजिक उथलपुथल बेहोरिरहेको विश्वमा स्थायित्व र सकारात्मक उर्जा प्रवाह गर्न मार्गनिर्देशकको भूमिका खेल्न तयार छ,’ सीले भने। 

उनीहरुबीच युक्रेन युद्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। रुसले युक्रेनमा आक्रमण गर्नुअघि चीनले रुससँग सीमाहीन मित्रताको घोषणा गरेको थियो। तर, युक्रेन युद्धमा क्षति बेहोर्दै गएपछि पछिल्लो समय पुटिन अप्ठेरोमा छन्।

यसअघि रुस पुगेका चीनको तेस्रो वरीयताका नेता ली सान्सुले रुसको मुख्य स्वार्थमा चीनको सदा समर्थन रहने बताएका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad