ad ad

ग्लोबल


भारतमा लम्पीबाट मरे हजारौँ गाई, खुला चौरमा फ्याँकिँदा ५ किमीसम्म फैलियो दुर्गन्ध

भारतमा लम्पीबाट मरे हजारौँ गाई, खुला चौरमा फ्याँकिँदा ५ किमीसम्म फैलियो दुर्गन्ध

नेपालखबर
भदौ २२, २०७९ बुधबार १७:२६, काठमाडौँ

भारतमा राजस्थानसमेत कयौँ राज्यमा छालामा संक्रमण हुने रोग लम्पीबाट हजारौँ गाई मरेका छन्। 

गाईगोरुमा फैलिएको यस भाइरसको तुलना मानिसमा सरिरहेको खतरानाक कोरोना भाइरससँग गरिएको छ। 

राजस्थान र गुजरातमा यस रोगका कारण मर्ने गाईगोरुको संख्या दशौँ हजार छ। 

अवस्था यतिसम्म भयावह भएको छ कि गाड्न नसकेपछि मरेका गाईगोरुलाई खुला चौरमा फ्याँकिदैछ। 

यसका कारण बाक्लो मानव बस्ती भएका क्षेत्रमा दुर्गन्ध फैलिएको छ। 

गाईगोरु कुहिएर निस्किने दुर्गन्धका कारण मानिसमा खतरनाक सरुवा रोग देखिने जोखिम बढेको छ। 

राजस्थानका करिब १० जिल्लामा लम्पीको कहर भयावह छ। राजस्थानमा मात्रे बितेको एक महिनायता ५० हजारभन्दा धेरै गाईगोरु मरिसकेका छन्। 

जोधपुर, जालोर, पाली र बिकानेरमा अवस्था सबैभन्दा भयावह छ। बिकानेरमा अवस्था यति भयावह छ कि शहर आसपासका क्षेत्रमा दैनिक करिब ३ सय गाईगोरु मरिरहेका छन्। 

यस्तोमा प्रशासन र स्थानीयबासीले गाईसहित मरेका अन्य जनावरलाई शहरभन्दा करिब १० किलोमिटर बाहिरको जोडबिडस्थित खुलला डम्पिङ यार्डमा फ्याँकिरहेका छन्। 

बिकानेर शहरमा गाई लाश उठाउने जिम्मा नगर निगमलाई दिइएको छ। निगमका अनुसार ती गाईलाई जोडबिड क्षेत्रमा फ्याँकिदैछ।

जोडबिडको यो क्षेत्र जनावरको डम्पिङ यार्डका लागि छुट्याइएको छ। यो पूरा क्षेत्र गिद्धका लागि प्रसिद्ध छ। यहाँ पहिले पनि मरेका ऊँट र अन्य जनावर गिद्धलाई दिने गरिन्छ। तर यस पटक मरेका जनावरको संख्या हजारौँ छ। 

यहीकारण यहाँ चारैतिर गाईका लाश परेका छन्। यस्तोमा गिद्धको संख्या कम हुँदा गाईका लाश सडेर दुर्गन्ध फैलिएको हो।

दुर्गन्ध यति चर्को छ कि ५ किलोमिटरसम्म उभिन मुस्किल छ। यस क्षेत्र आसपासका गढवाल, सुरधना, किलचु, आम्बासर, नैनोको बास, गिगासरको ५० हजार बढीको बस्ती दुर्गन्धले हैरान छ। 

अर्कातिर लुणकरनसर (बिकानेर) मा राष्ट्रिय राजमार्गको केही दूरीमा गाईका लाश जथाभावी फ्याँकिएको छ। राजमार्गनजिकै सडेका गाईको दुर्गन्धले सास्ती वर्णन गर्नै नसकिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .