ad ad

ग्लोबल


एक मुलुक, दुई व्यवस्थाको चिनियाँ योजना ताइवानद्वारा खारेज

एक मुलुक, दुई व्यवस्थाको चिनियाँ योजना ताइवानद्वारा खारेज

नेपालखबर
साउन २६, २०७९ बिहिबार १८:५८, काठमाडौँ

एक मुलुक, दुई व्यवस्थाअन्तर्गत ताइवानको एकीकरण गर्ने भन्दै चीनले जारी गरेको श्वेतपत्रलाई ताइवानले खारेज गरेको छ। आफ्नो लागि यो विकल्प कहिल्यै पनि मान्य नहुने ताइवानको भनाइ छ।

चीनले साता दिन लामो सैन्य अभ्यास समापन गरेकै दिन बुधबार सो श्वेतपत्र जारी गरेको थियो। जसमा बेइजिङले ताइवानलाई मुख्यभूमिका एकीकरण गर्ने योजनाको व्याख्या गरेको थियो।

‘ताइवान मुद्दा र नयाँ युगमा चीनको पुनर्एकीकरण’ शीर्षकको सो श्वेतपत्रमा बेइजिङले भनेको छ, ‘हामी अधिकतम इमानदारीसाथ काम गर्नेछौँ र शान्तिपूर्ण पुनर्एकीकरणका लागि अत्यधिक प्रयास गर्नेछौँ। तर, हामी बलप्रयोगलाई त्याग्दैनौँ। आवश्यक सबै उपाय अपनाउने विकल्प हामी सुरक्षित राख्छौँ। यो बाहिरी हस्तक्षेप र सबै अलगाववादी गतिविधिबाट सुरक्षाका लागि हो। तर, यो कसैगरी ताइवानमा रहेका हाम्रा चिनियाँहरुप्रति लक्षित छैन।’

एकीकरणपछि एक मुलुक, दुई व्यवस्थाअन्तर्गत ताइवानका अधिकारहरुको रक्षा हुने पनि बेइजिङले जनाएको थियो।

तर, त्यसको जवाफ दिँदै ताइवानले युद्धअभ्यासमा टापुलाई घेरेर शान्तिपूर्ण एकीकरणको कुरा गर्नु निरर्थक भएको जनाएको छ।

‘चीनले बारम्बार उत्तेजनाकारी गतिविधि गरिरहेको छ। युद्धको ध्वाँस दिने सैन्य अभ्यास, साइबर आक्रमण, गलत सूचना प्रचार गरेर ताइवानलाई दबाब दिन खोजेको छ। र, मातृभूमिसँग ताइवानको शान्तिपूर्ण एकीकरण गर्ने कथित मिसनलाई प्रबद्र्धन गर्न कथित श्वेतपत्र पनि जारी गरेको छ,’ ताइवानी विदेश मन्त्रालयकी प्रवक्ता जोआन उले बिहीबार भनिन्।

‘श्वेतपत्रको विषयवस्तुले ताइवान जलसन्धिका दुई पक्ष एकअर्काको साथमा छैनन् भन्ने तथ्यलाई बेवास्ता मात्र गर्दैन, बरु यसले अन्तर्राष्ट्रिय कानुन र ताइवानको सम्प्रभुताको उल्लंघन पनि गर्छ। त्यसैले हामी यसको भर्त्सना गर्छौँ,’ उनल थपिन्।

बेइजिङका कम्युनिस्टहरुले ताइवानमाथि कहिल्यै शासन नगरेको र यो टापु २ करोड ३५ लाख ताइवानी जनताको भएको पनि बताइन्।

ताइवानको मुख्यभूमि मामिला परिषदले पनि श्वेतपत्रलाई इच्छाजन्य विचार र तथ्य बंग्याएको भन्दै आलोचना गरेको छ।

‘लामो समयदेखि ताइवानको मूलधारको विचार भनेको एक मुलुक, दुई व्यवस्था अस्वीकार्य छ र यो ताइवानका लागि कुनै विकल्प होइन भन्ने हो,’ परिषदले भनेको छ।

ताइवानले यही महिना चार दिने क्षेप्यास्त्र परीक्षण पनि गर्ने भएको छ। जहाँ चिनियाँ जनमुक्ति सेनाले साता दिन लामो युद्ध अभ्यास टुंग्याएको थियो।

ताइवानको नेसनल चुङ सान इन्स्टिच्युट अफ साइन्स एन्ट टेक्नोलोजीले अगस्ट १८–१९ र २५–२६ मा टापुको पूर्वी भागमा क्षेप्यास्त्र परीक्षण गर्ने जनाएको हो। यो ताइवानको सबैभन्दा ठूलो हतियार निर्माता हो। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .