ad ad

ग्लोबल


युद्ध र गरिबीपछि अफगानी नागरिकलाई भूकम्पको मार

युद्ध र गरिबीपछि अफगानी नागरिकलाई भूकम्पको मार

नेपालखबर
असार ११, २०७९ शनिबार १५:९, काठमाडौँ

रहमत गुलको परिवार एक पूर्वराजनीतिकर्मीले दानमा दिएको पाल बाँध्न व्यस्त छ। सँगै रेड क्रसले दिएको अर्को पाल बाँधिएको छ। 

पक्तिका प्रदेशस्थित ज्ञान जिल्लामा रहेको उनीहरुको घर भूकम्पको केन्द्रविन्दुनजिकै थियो। जसका कारण घर ध्वस्त भयो। त्यति मात्र होइन, सुतिरहेका परिवारका सात सदस्यको पनि ज्यान गयो।

‘अब मेरो जीवनको कुनै अर्थ छ,’ रहमत गुल भन्छन्, ‘मेरो आँखाले तीन छोरी र चार नातिनातिना मारिएको देख्नुप¥यो। मेरो मुटु चुँडियो।’

तर, उनले अरु बालबालिकाको ख्याल राख्नुपर्नेछ। भूकम्पपछिको पहिलो रात उनको परिवारले झरीमा भिज्दै काट्यो।

‘हामीलाई सहयोग चाहिएको छ। हामीसँग केही छैन। हाम्रो जेजति थियो, सबै स्वाहा भयो,’ उनी भन्छन्।

पीडितहरुका लागि तालिबान सरकारसँगै संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय तथा स्थानीय दाताबाट सहयोग जुट्दैछ। 

रहमत गुल बसेनजिकै रेडक्रसले तेल र कम्बलजस्ता अत्यावश्यक सामग्री राहत बाँड्दैछ।

‘हामीलाई हरेक थोक चाहिएको छ किनभने हाम्रो सबैथोक पुरियो,’ राहत पर्खिरहेको भीडमा रहेका एक व्यक्तिले भने।

पहिलेको सानो बजार सहायता वितरण केन्द्रमा बदलिएको छ। राहत सामग्री भरिएका ट्रकहरु यहाँ आएर रोकिन्छन्। तर, यसअघि नै आर्थिक र मानवीय संकटमा परेको अफगानिस्तानमा भूकम्पले झन् समस्या थपिदिएको छ।

गत वर्षको अगस्टमा तालिबानमा सत्तामा आएपछि औसत आम्दानी एक तिहाइले घटिसकेको छ।

मानवीय सहायता निरन्तर आए पनि विकास सहयोग रोकिएको छ। अहिले पक्तिका र कोस्त प्रान्तका सयौँ परिवार घरबारविहीन भएका छन्।

घाइतेहरुले अझै उपचार पाइसकेका छैनन्। एउटा पालमुनि बसेर स्वास्थ्यकर्मी नकिबुल्लाह केटाकेटीको उपचार गरिरहेका छन्। पाँच वर्षीय बराकतुल्लाहको हातमा चोट लागेका छ। नकिबुल्लाह उनको हातमा बाँधिएको पट्टी जाँचेर त्यत्तिकै छाडिदिन्छन्। 

‘थुप्रा बालबालिका घाइते भएका छन्,’ उनी भन्छन्। 

विशेषज्ञ सेवा आवश्यक पर्ने बिरामीलाई सेनाको हेलिकोप्टरबाट काबुल लगिएको छ। यी गाउँ सबभन्दा नजिकको ठूलो सहरबाट कम्तीमा पनि तीन घण्टा टाढाको दुरीमा छन्। 

जरमा गुलको खुट्टामा सामान्य चोट लागेको छ। उनले हामीलाई आफ्नो घर देखाए, जहाँ ढुंगामाटोको थुप्रो मात्र थियो। 

जब भूकम्प आउन सुरु भयो, तब उनले भयानक द्विविधाको सामना गर्नुपर्योः पहिले कसलाई बचाउने?

‘सिलिङ र पर्खाल भत्केपछि मैले श्रीमतीले बोलाएको सुनेँ, ‘बचाऊ’। तर, छोरी पनि त्यही कोठामा थिइन्। मैले उनलाई पहिले निकालेँ,’ जरमा गुल भन्छन्।

त्यसपछि उनी अरु बालबच्चालाई बचाउन अर्को कोठातिर दगुरे। उनी फर्केर आउँदा उनकी पत्नीको मृत्यु भइसकेको थियो।

दशकौँको युद्ध र आर्थिक मन्दीले थकित जनताले नयाँ संकट झेल्नुपरेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .