ग्लोबल


बेलायती प्रधानमन्त्रीका पिताविरुद्ध लाग्यो एक सांसदसहित दुई महिलालाई यौन दुर्व्यवहार गरेको आरोप

बेलायती प्रधानमन्त्रीका पिताविरुद्ध लाग्यो एक सांसदसहित दुई महिलालाई यौन दुर्व्यवहार गरेको आरोप

फाइल तस्बिर : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका बुबा स्टान्ली जोन्सन एक सम्मेलनमा भाग लिँदै। तस्बिर : अन्तर्राष्ट्रिय सञ्चारमाध्यम।


नेपालखबर
मंसिर १, २०७८ बुधबार १५:३९, काठमाडौँ

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनका बुबा स्टान्ली जोन्सनविरुद्ध दुई महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका छन्।

तीमध्ये एक कन्जरभेटिभ सांसद हुन्। अर्की महिला पत्रकार हुन्। दुवै घटना निकै पुराना भए पनि अहिले चर्चामा आएका हुन्। 

स्टान्ली यसअघि पनि धेरैपटक चर्चामा आएका थिए। उनी आफैं राजनीतिज्ञ हुन् र विश्व बैंकमा पनि आबद्ध छन्।

अन्तर्वार्तामा खुलासा गरे
क्यारोलिन नक्स कन्जरभेटिभ पार्टीकी सांसद हुन् र हाल बेलायती संसदको महिला समितिकी सदस्य छन्।

नक्सले ‘स्काई न्युज’लाई दिएको अन्तर्वार्तामा बेलायती प्रधानमन्त्रीका पिताविरुद्ध यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएकी हुन्। नक्सले आरोप लगाए कि स्टान्लीले आफूलाई गलत तरिकाले छोएकाे उनकाे आरोप छ। पछि एक पत्रकारले पनि उनीविरुद्ध यस्तै आरोप लगाएकी हुन्।

नक्सले भनेकी छन्, ‘मलाई लाग्छ, स्टान्सली एक चर्चित व्यक्तित्व हुन्। यो घटना भएका बेला उनी डेभोन क्षेत्रबाट कन्जरभेटिभ उम्मेदवार थिए। उनले  मलाई अनुचित रूपमा छोए र दुर्व्यवहार गरेर त्यहाँबाट हिँडे। उनले अश्लील टिप्पणीसमेत गरेका थिए।’ 

नक्सका अनुसार सन् २००३ मा पार्टीको वार्षिक बैठकका क्रममा दुर्व्यवहार गरिएको हो। त्यतिबेला उनीहरू दुवै जना सांसदको चुनाव लड्दै थिए। 
उनले भनिन्, ‘त्यतिबेला म करिब ३० वर्षकी थिएँ।’

क्यारोलिन नक्स कन्जरभेटिभ पार्टीकी सांसद हुन् र हाल बेलायती संसदको महिला समितिकी सदस्य छन्।

पत्रकारले पनि उठाइन् आवाज 
नक्सपछि न्यु स्टेट्सम्यानकी वरिष्ठ पत्रकार एलिबे रेले पनि बेलायती प्रधानमन्त्रीका पिता स्टान्लीविरुद्ध यस्तै आरोप लगाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत घटना खुलासा गरेकी हुन्। 

उनले भनेकी छन्, ‘सन् २०१९ मा कन्जरभेटिभ पार्टीको सम्मेलन थियो। यस क्रममा स्टान्लीले मसँग पनि यस्तै दुर्व्यवहार गरेका थिए। मलाई सत्य बोल्ने साहस दिनुभएकामा नोक्सलाई धन्यवाद। हरेक शक्तिशाली व्यक्तिको गल्तीविरुद्ध बोल्ने अधिकार हामीलाई छ, चाहे त्यो व्यक्ति प्रधानमन्त्रीका पिता नै किन नहुन्।’ ​​

बेलायती प्रधानमन्त्रीका पिता स्टान्लीविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाउने अर्की महिला वरिष्ठ पत्रकार एलिबे रेले। 

नक्सले लगाएको आरोपबारे प्रधानमन्त्री बोरिसका बुबा स्टान्लीले भने, ‘मलाई नक्सको बारेमा केही याद छैन। त्यसैले म जवाफ दिन चाहन्नँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad