अफगानिस्तानको सत्ता तालिबानले कब्जा गरेको एक महिना पुगेको छ। गत अगस्ट महिना आजकै दिन अर्थात् १५ तारिखमै हो– तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको।
तालिबानका लडाकुलाई काबुल कब्जा गर्न मुस्किल पर्छ भन्ने ठानिएको थियो, तर तालिबानले सहजै काबुल कब्जा गर्यो। त्यही दिन राष्ट्रपति असरफ गनी देशै छाडेर भागे, अहिले उनी सपरिवार यूएईको शरणमा बसेका छन्।
यसबीच तालिबानले आफ्नो अन्तरिम सरकार पनि घोषणा गरिसकेको छ।
यो पनि : तालिबानका यी दुई शीर्ष नेता ‘बेपत्ता’, यस्ता आशंका!
तालिबानले अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएपछिको यो एक महिनाभित्र के के भए?
यी हुन् प्रमुख घटना-
१५ अगस्ट २०२१
-तालिबान लडाकु राजधानी काबुलमा प्रवेश। हेर्दाहेर्दै उनीहरूले पूरै काबुल सहर आफ्नो कब्जामा लिए। यो काम यति छिटो भएको थियो कि विश्व नै चकित भयो।
-यही दिन तालिबानका लडाकुले काबुल घेराबन्दी गरेपछि राष्ट्रपति असरफ गनी अचानक देश छाडेर भागे।
-अफगानिस्तान छाडेर जान चाहने विदेशी, अफगान नागरिकहरूको भीड काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको थियो, भागदौड मच्चिाएको थियो, कति मानिस मरे, कैयौं घाइते भए।
१७ अगस्ट २०२१
-अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लाने विषयमा मौनता तोडे। योसँगै अफगानिस्तानको सत्तामा तालिबानको पुनरागमन निश्चित भयो।
-विमानस्थलभित्र र बाहिर सयौं मानिस उडानको प्रतीक्षामा बसिरहेको तस्बिर र हवाईजहाज चढ्न कुदाकुद गरेका तस्बिर तथा भिडिओ फुटेज विश्वभरका सञ्चारमाध्यमका प्रमुख शीर्षकमा छाए।
-अफगानिस्तानको यस्तो दयनीय अवस्था देखेर अमेरिकी नीतिको आलोचना भयो।
-तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले काबुल कब्जापछिको पहिलो पत्रकार सम्मेलन गरे।पत्रकार सम्मेलनमार्फत उनले आफूहरूको नयाँ शासनमा पहिलेभन्दा फरक हुने र महिलाका अधिकार र सम्मान सुनिश्चित गर्ने भनेर अफगान नागरिक र अन्तर्राष्ट्रिय समुदायलाई आश्वासन दिए।
१८ अगस्ट २०२१
-पूर्वीसहर जलालाबादमा तालिबानविरोधी प्रदर्शन भयो, जसमा केही मानिस मारिएको र घाइते भएको खबर आयो।
-१९ अगस्ट २०२१ काबुलको विमानस्थलमा भीडभाड जारी रह्यो। विमानस्थलको एक भागमा रहेका तालिबानी लडाकुले फायरिङ गर्दा भागदौड मच्चियो।
-तालिबानको आश्वासनविपरीत विदेशी सेनालाई सहयोग गरेका व्यक्तिलाई केरकार र हिंसा भइरहेका खबर आइरहे। असदाबाद र काबुलमा तालिबानविरुद्ध प्रदर्शन भए।
२१ अगस्ट २०२१
-तालिबानले आफ्ना लडाकुले गरेका अत्याचार घटनाको छानबिन गर्छु भनेको थियो। उसले पुनः आश्वासन दियो– पीडितहरूको अधिकारको रक्षा गरिनेछ। विमानस्थलमा मच्चिरहेको अराजकता आफ्ना कारण नभएको उसले जिकिर गर्यो र जो अफगानिस्तान छाड्न चाहन्छ र जससँग बाहिरिने आधिकारिक कागजपत्र छन्, उसलाई सुरक्षित रूपमा जान दिइएको छ भनेर तालिबानले दाबी गर्यो।
२३ अगस्ट २०२१
-आर्थिक उथलपुथलबीच हाजी मोहम्मद इदरिसलाई केन्द्रीय बैंकका कार्यवाहक गभर्नर पदमा नियुक्ति दिइयो।
२४ अगस्ट २०२१
-विश्व खाद्य कार्यक्रमले कोरोना महामारी र सुक्खाका कारण देशका लाखौं मानिस भोकमरीको चपेटामा पर्न सक्ने चेतावनी दियो।
२६ अगस्ट २०२१
-काबुलको विमानस्थलनजिक आत्मघाती आक्रमण भयो। जसमा परी १३ जना अमेरिकी सेनासहित सय जनाभन्दा बढी व्यक्ति मारिए। इस्लामिक स्टेटको स्थानीय शाखा खुरासानले आक्रमणको जिम्मेवारी लियो।
२७ अगस्ट २०२१
-अमेरिकाले त्यस समूहलाई लक्ष्य गरी ड्रोन हमला गर्यो।
२९ अगस्ट २०२१
-अमेरिकाले आफूले गरेको ड्रोन हमलामा एक जना आत्मघाती आक्रमणकारी मारिएको दाबी गर्यो। यसबारे अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले त्यस आक्रमणकारीले काबुल विमानस्थलमा हमला गर्ने तयारी गरिरहेको थियो भन्यो।
-त्यस हमलामा सर्वसाधारण नागिरक मारिएको भनेर प्रश्न उठ्यो। पछि तालिबानले पनि त्यस आक्रमणमा सर्वसाधारण नागरिक मारिएको भन्दै घटनाको निन्दा गर्यो।
३० अगस्ट २०२१
-अमेरिकी केन्द्रीय कमान्डका प्रमुख जनरल फ्रान्क म्याकेन्जीले २० वर्षे युद्धको अन्त्य गर्दै अफगानिस्तानमा रहेका आफ्ना सबै सेना फिर्ता भएको घोषणा गरे।
३१ अगस्ट २०२१
-बैंकहरूका बाहिर मानिसको लामो लाइन, खाद्यान्नको मूल्य बढ्यो र अफ़गानिस्तान छाड्न सक्दो प्रयास गरिरहेका मानिसका तस्बिर सार्वजनिक भइरहे।
३ सेप्टेम्बर २०२१
-तालिबानले राजधानी काबुलदेखि उत्तरस्थित पन्जसिर प्रान्त पनि कब्जा लियौं भनेर दाबी गर्यो। तर पन्जसिरका तालिबानविरोधी लडाकुले आफूहरूले प्रतिकार गरिरहकै दाबी गरे।
४ सेप्टेम्बर २०२१
-उद्धार उडान र घरेलु सेवाका लागि काबुल विमानस्थल पुनः खुला।
७ सेप्टेम्बर २०२१
-तालिबानले आफ्नो नयाँ सरकार घोषणा गर्यो, योसँगै तालिबान सरकारबारे धेरै दिनदेखि जारी बहस र अनुमानको अन्त्य भयो। मुल्ला मोहम्मद हसन अखुन्दकलाई प्रधानमन्त्री, मुल्ला अब्दुल गनी बरादरका उपप्रधानमन्त्री बने।
यो पनि : बरादरको विडम्बना: प्रधानमन्त्री हुने चर्चा थियाे, बनाइए उपप्रधानमन्त्री, लगत्तै भए ‘बेपत्ता’
९ सेप्टेम्बर २०२१
-नयाँ तालिबान सरकारअन्तर्गत पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडानमार्फत काबुलबाट सयभन्दा बढी यात्रु विदेश गए।
१३ सेप्टेम्बर २०२१
-केही देशले अफगानिस्तानलाई झन्डै एक अर्ब डलर सहयोग दिने घोषणा गरे।
१४ सेप्टेम्बर
-कन्दहारमा नागरिकले विरोध प्रदर्शन गरे।
Shares

प्रतिक्रिया