ad ad

गण्डकी


रहेनन् डा. बाबुराम भट्टराई र डा. उपेन्द्र देवकोटालाई पढाउने ‘पुतली बाजे’

जसले ५० जिल्लामा गएर २५ हजार पुतली संकलन गरे
रहेनन् डा. बाबुराम भट्टराई र डा. उपेन्द्र देवकोटालाई पढाउने ‘पुतली बाजे’

वाशुदेव मिश्र
कात्तिक १८, २०८० शनिबार १३:४९, पोखरा

पोखरालाई दोस्रो घर बनाएर पुतलीको अध्ययन-अनुसन्धानमा जीवन बिताएका कोलिन फिलिप स्मिथको निधन भएको छ।

जसलाई पोखरेलीहरु ‘पुतली बाजे’को नामले पुकार्थे। मानार्थ नेपाली नागरिकसमेत रहेका उनको शनिबार बिहान निधन भएको हो।

पछिल्लो समय उनी विभिन्न रोगबाट ग्रस्त थिए। 

पुराना तस्बिर संकलनमा क्रियाशील अभियन्ता सुनिल उलकले उनको निधनको पुष्टि गरेका हुन्।

लामो समयदेखि हरियो खर्क अस्पताल, पोखरामा उपचाररत उनको शनिबार बिहान करिब ३ बजे ८७ वर्षको उमेरमा देहावसान भएको हो।

‘उहाँको अन्त्येष्टि कात्तिक २० गते पोखरा गाईघाट (आईएनएफ पछाडि) मा गरिनेछ। कात्तिक २० गते बिहान ८ बजे अस्पतालबाट उहाँको शव नयाँ गाउँको चर्चमा केही समय श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि नदीपुर चर्चमा श्रद्धाञ्जलीका लागि लगिनेछ’, उनले नेपालखबरसँग भने। 

१९९३ मंसिर ९ गते बेलायतमा जन्मिएका स्मिथ युनाइटेड मिसन टु नेपालमार्फत शिक्षणका लागि २०२२ सालमा पहिलोपटक नेपाल आएका थिए।

पोखरा आएलगत्तै उनले लामाचौर गण्डकी बोर्डिङ स्कुलमा पढाए। त्यसपछि गोरखा पुगेर लुइँटेल स्कुलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा डा. उपेन्द्र देवकोटालाई विज्ञान र गणित पढाए। पाँच वर्षपछि उनी बेलायत गए तर मन थामिएन। गणितमा स्नातकोत्तर गरेका उनी आफ्नै सुरमा पुनः नेपाल आए। विभिन्न विद्यालयमा पढाए। 

सानैदेखि पुतलीमोह भएका उनले नेपाल आएपछि पनि त्यो कर्म छाडेनन्। दोस्रोपटक नेपाल आउँदाको क्रममा उनले त्रिभुवन विश्वविद्यालयमार्फत पुतली अध्ययनको काम पाए।

आफ्नो रुचिको काम पाएपछि उनी दंग परे। उनले त्रिभुवन विश्वविद्यालय,पृथ्वीनारायण क्याम्पसलगायका निम्ति विभिन्न प्रकारका पुतली संकलन गरे। त्यस क्रममा उनले ५० भन्दा बढी जिल्ला पनि घुमे। प्रायः उनको हातमा पुतली समाउने जाली हुन्थ्यो। ६६० भन्दा बढी जातका पुतली नेपालमा पाइने र तीमध्ये ५५० प्रजाति आफूले संकलन गरेको उनी बताउने गर्थे।

पोखराको पृथ्वीनारायण क्याम्पसको अन्नपूर्ण नेचुरल हिस्ट्री संग्रहालयमा उनले संकलन गरेका पुतलीहरु राखिएका छन्। पृथ्वीनारायण क्याम्पसको अन्नपूर्ण संग्रहालयमा वैज्ञानिक रुपले पुतलीहरुको संरक्षण गर्ने व्यक्ति स्मिथ नै थिए।

उनले ५० जिल्लामा गएर करिब २५ हजार पुतली संग्रह गरी हरेकको नामकरण गरे। आफूले संकलन गरेका पुतली सुरक्षितसाथ प्राकृतिक विज्ञान संग्रहालयलाई हस्तान्तरण गरे। पुतली संग्रह गर्न हिडेँकाले नै उनको नाम पुतली बाजे रहन गएको हो। उनले पुतलीबारे १० वटा पुस्तक, ५ वटा बुकलेट पनि लेखेका छन्। पुतलीबारे सोधखोज गर्नेलाई उनी स:शुल्क पुस्तक दिन्थे। 

२३ कात्तिक २०७६ मा उनलाई नेपाल सरकारले मानार्थ नेपाली नागरिकता प्रदान गरेको थियो। सन् १९९४ मै नेपाली नागरिकताका लागि अनुरोध गरे पनि आफूलाई नागरिकता नदिइएको उनी बताउँथे।

पछि सरकारले सरकारले संविधानको धारा ११ को उपधारा ९, नेपाल नागरिकता ऐन २०६३ को दफा ६ र नेपाल नागरिकता नियमावली २०६३ को नियम ८ को उपनियम ५ बमोजिम सम्मानार्थ नागरिकता प्रदान गरेको थियो। 

जीवनको उत्तरार्द्धतिर नेपाली नागरिकता पाएकामा औधी खुसी भएका स्मिथले अब के गर्नुहुन्छ भन्ने प्रश्नमा भनेका थिए,‘अब स्वर्गमा गएर गीत गाउँछु।’

नेपाली नागरिकता पाएसँगै उनले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता पनि लिने गरेका थिए। उनी पोखरा १८ सराङकोट जाने बाटोमा पर्ने लामागाउँ भन्ने ठाउँमा बस्थे। नेपाललाई नै दोस्रो घर बनाएका उनले एक नेपाली महिलासँग कागजी बिहे पनि गरेका थिए।

चर्चमा आउने एकल महिलासँगको उनको वैवाहिक सम्बन्ध खासै सुमुधुर भने नभएको उलकले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .