गण्डकी


‘बेलढुंगा’ पर्यटकका रोजाइमा

‘बेलढुंगा’ पर्यटकका रोजाइमा

बेलढुंगामा पर्यटक।


नेपालखबर
फागुन ७, २०७९ आइतबार ७:४३, ढोरपाटन

बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ - बेलढुंगा। दुई हजार ६ सय मिटरको उचाइमा रहेको बेलढुंगा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ। बर्खामा होस् वा हिउँदमा, बेलढुंगा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ। आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँ ओझेलमा थियो। जब सडक सञ्जालले बेलढुंगा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ पर्‍यो। 

हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरूले बेलढुंगामा चहलपहल निकै हुने गर्छ। यस वर्ष हिउँ परेन। तर सूर्योदय र दृश्याअवलोन गर्नेहरूको कमी भने भएन। बेलढुंगा बागलुङ र बेनी बजारबाट नजिक रहेको हुँदा पर्यटक सहजरूपमा यहाँ पुग्ने गरेका हुन्। यातायात र पदमार्गमार्फत पुग्न सकिने हुँदा दैनिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको स्थानीयको भनाइ छ। पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको सङ्ख्या अझ बढ्दो छ। 

बेलढुंगा नजिकै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) छ। जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ। यहाँबाट अनगिन्ती हिमशृङ्खलासँगै, बागलुङ र म्याग्दीका अधिकांश भूभागसँगै पर्वत, कास्की, गुल्मीलगायतका ठाउँ सहज रूपमा देख्न सकिन्छ। अब ढकमक्क गुराँस फुलेर वनै ढाक्ने सिजन सुरु भएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको बेलढुंगा सामुदायिक होमस्टेका सचिव गोपाल श्रीसले बताए। 

यस वर्ष एक दिन पनि बेलढुंगा रित्तो नभएको श्रीस बताउँछन्। बर्खाको समयमा पनि पदमार्गबाट यहाँ पर्यटक घुम्न आएको भन्दै पछिल्लो समय दैनिक एक सय हाराहारीमा पर्यटक आउने गरेको उनको भनाइ छ। पूर्वाधार निर्माण र प्रचारप्रसारपछि बेलढुंगामा बाह्रै महिना पर्यटक आउन थालेको उनी बताउँछन्। 

‘पाँच/छ वर्ष अगाडिसम्म बेलढुंगा निकै सुनसान थियो, स्थानीयले यहाँ घाँस, दाउरा गर्ने गर्थे, म्याग्दी र बागलुङको सिमाना भएको हुँदा अलि–अलि मान्छे त आउँथे तर अहिलेको जस्तो थिएन’, सचिव श्रीसले भने, ‘बेलढुंगामा पर्यटक आउँदा होमस्टे पनि राम्रो चलेको छ, यहाँ खानेपानी, शौचालय व्यवस्थापन हुनसकेको छैन, त्यसको व्यवस्थापन भए अझ राम्रो हुने थियो।’

पछिल्लो समय बिदाको दिन विद्यार्थी, विभिन्न सङ्घसंस्था गाडी लिएर घुम्न तथा वनभोज खान आउनेको सङ्ख्या बढेको उनको भनाइ छ। म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम छ। यहाँ पूजाआजा गर्न आउने भक्तजन पनि बेलढुंगा चढ्न आउने गरेका छन्। दुई वर्ष अगाडिसम्म बेलढुंगामा जोखिम मोलेर चढ्नुपर्थ्यो भने अहिले पदमार्गमार्फत सहज रूपमा टुप्पोमा पुग्न सकिन्छ। 

सामाजिक सञ्जालमा यहाँका तस्बिर–भिडियो निकै भाइरल भएको हुँदा आफू पनि घुम्न आएको बागलुङको गलकोटका सुजन खत्रीले बताए। उनी भन्छन्, ‘यो ठाउँ साँच्चिकै स्वर्गजस्तो रैछ, हिमाल पनि आँखै अगाडि देखिने, डाँडाकाँडा, वनजङ्गल, पशुपक्षी सबै देख्न पाइने यस्तो ठाउँ सायद दुर्लभ नै होलान्, हामीहरू सात जनाको टिम आएको मज्जाले रमाइलो भयो।’

गत वर्ष काठेखोला गाउँपालिकाले विनियोजन गरेको रु दुई लाख ५९ हजारबाट बेलढुंगालाई फराकिलो र व्यवस्थित बनाइएको छ भने गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटमा देउराली डाँडादेखि यहाँसम्म जोड्ने दुई सय ६० मिटर स्लेट ढुङ्गा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको छ। बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकलल्यान्डसमेत बनाइएको छ। 

काठेखोला गाउँपालिकाका प्रवक्त टीकासङ्गम विकले बेलढुंगा गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य रहेको जनाउँदै यसको प्रवर्द्धनका लागि गाउँपालिकाले योजना बनाएर लागेको बताए। उनी अघिल्ला वर्षहरूमा यहाँ केही पूर्वाधार निर्माणका काम गरेको चर्चा गर्दै शौचालय, खानेपानी र यहाँ पुग्ने सडकलाई थप व्यवस्थित बनाउने बताउँछन्। 

उनी भन्छन्, ‘बेलढुंगा काठेखोलाको शिर हो, गौरव हो, यस ठाउँमा अझै थुप्रै संरचना बनाउन बाँकी छ, पहिलेको तुलनामा यसको मुहार निकै फेरिएको छ, अब संचरना बनाउने, प्रचार–प्रसार गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने गरी काम गर्छौँ, पर्यटनमार्फत यहाँ समृद्ध हासिल गर्ने लक्ष्य छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad