पोखरामा २१औँ ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप २०२६’ सुरु भएको छ। पोखराका मेयर धनराज आचार्यले बिहीबार प्रतियोगिताको उद्घाटन गरे।
चैत ७ गते शनिबारसम्म हुने प्रतियोगितामा एकलतर्फ पुरुष र महिला एक्युरेसी तथा समूहगत प्रतिस्पर्धा हुँदैछ। नेपाल,भारत,चीन,फ्रान्स र जर्मनीका ६२ जना खेलाडी पाइलट सहभागी भएको कार्यक्रम संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिए। तीमध्ये १० जना महिला छन्।
यसअघि ७ देशका एक सय खेलाडी सहभागी हुने भनिए पनि मध्यपूर्वी तनावका कारण खेलाडीले अन्तिम समयमा नाम फिर्ता लिएका थिए।
प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेलहरू सामान्य रूपमा सम्पन्न भए पनि मौसम प्रतिकूल भएका कारण १५ जना पाइलटले मौसमका कारण उडान गर्न नसकेको आयोजक संस्था नाले जनाएको छ। प्रतियोगितामा ‘एक्युरेसी’ विधा मात्र सञ्चालन गरिएको छ।
नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता चैत ७ गतेसम्म जारी रहनेछ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले पोखराको पर्यटनको मुख्य आधारका रूपमा रहेको प्याराग्लाइडिङलाई नियमित र व्यवस्थित बनाउन विभिन्न पहलहरू भइरहेको बताए।
अन्तर्राष्ट्रिय विमानस्थलका कारण प्रभावित बनेको प्याराग्लाइडिङ उडानलाई पुनः व्यवस्थित रूपमा सञ्चालन गर्न सरोकारवालासँग छलफल भइरहेको उनको भनाइ थियो।
प्रतियोगितामा व्यक्तिगततर्फ पुरुष विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। समूहतर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पाउनेछन्।
महिलातर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो।

Shares

प्रतिक्रिया