समानुपातिकतर्फबाट गण्डकी प्रदेशबाट एमालेका दुई तथा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट एक/एक जनाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सुनिश्चित भएको छ।
एमालेले समानुपातिकतर्फ सचिव पद्मा अर्याल र लमजुङकी टुकाभद्र हमाललाई महिलातर्फ खस–आर्य क्लस्टरबाट संसदमा सिफारिस गरेको हो।
पद्मा एमाले केन्द्रीय कमिटीकी एकमात्र महिला पदाधिकारी हुन्। यसअघिको १० औं महाधिवेशनमा पनि उनी सोही पदमा रहेकी थिइन्। २०३६ सालतिर तत्कालीन मालेको भातृ संगठन युवा लिगबाट राजनीति सुरु गरेकी पद्मा २०५४ सालमा एमाले विभाजन हुँदा मालेतिर लागेकी थिइन्। तर, वामदेवले पार्टी एकीकरण गरेसँगै उनी मुलधारमा फर्किइन्। नवौं महाधिवेशनमा उनले केपी शर्मा ओलीको लाइन समातिन् र त्यसपछि निरन्तर राजनीतिक उचाइ बढाउँदै लगिन्। स्याङ्जा एमालेभित्र दुई धार रहँदा उनी २०७० सालमा एमालेभित्र पहिलो महिला जिल्ला अध्यक्षको रुपमा निर्वाचित बनिन्।
२०७९ को चुनावमा स्याङ्जा २ बाट प्रत्यक्ष चुनावमा होमिएकी उनी नेपाली कांग्रेसका उपसभापति धनराज आचार्यसँग पराजित बनेकी थिइन्। २०७४ को चुनावमा चाहिँ उनले नेपाली कांग्रेसका हस्ती गोपालमान श्रेष्ठलाई पराजित गर्दै संसद यात्रामात्र तय गरेकी थिइनन्, मन्त्री नै बनेकी थिइन्। अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा भूमि सहकारी तथा गरिबी निवारणमन्त्रीको रहेकी पद्माकै पालामा नेपालको ‘चुच्चे नक्सा’ सार्वजनिक भएको थियो। यद्यपि,उनको कार्यकाल विवादरहित भने थिएन।
योपटक चाहिँ उनी प्रत्यक्ष चुनावमा होमिइनन्। एमालेले समानुपातिकतर्फ खस आर्य महिलामा एक नम्बरमा राख्दै उनको सांसद पद चाहिँ सुनिश्चित गरेको थियो।
अखिल नेपाल महिला संघ अध्यक्ष टुकाभद्र हमालको राजनीतिक यात्रा पनि लामो छ।
अर्को संयोग के छ भने अर्याल एमाले पदाधिकारीकी एक्ली महिला हुन भने हमाल एमालेको जनसंगठन अनेमसंघकी अध्यक्ष हुन्। एकजना पार्टी कमिटी र अर्की जनसंगठनको पदाधिकारी हुन्।
हमाल २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फ संविधानसभा सदस्य प्रवेश गरि संसदीय यात्रा थालेकी थिइन्।
यता अर्याल भने २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधीसभा निर्वाचनमा विजयी भएकी थिइन। २०७९ को निर्वाचनमा भने कांग्रेसका धनराज गुरुङसँग पराजित भएकी अर्याल २०८२ को निर्वाचनमा समानुपातिक तर्फ एक नम्बरमा थिइन्।
गत पुसमा सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवार बनेकी नेतृ भएकी हुन्। १५३० मत ल्याएर विजयी बनेकी उनी निर्वाचित भएका १९ जना पदाधिकारीमा अर्याल एक्ली महिला हुन्। २०६९ सालमा एमाले स्याङ्जाको जिल्ला अध्यक्ष निर्वाचित भएर महिला जिल्ला अध्यक्षको रेकर्ड समेत उनकै छ।
मंसिर २०७८ मा भएको दशौँ महाधिवेशनबाट समेत अर्याल सचिव निर्वाचित भएकी थिइन्।
अर्यालसँग कृषि तथा पशुपन्छी विकास मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेर काम गरेको अनुभव छ।
०७४ मा प्रतिनिधीसभामा विजयी बनेकी पद्मालाई तत्कालीन ओली सरकारमा भूमि व्यवस्था तथा गरीवी निवारण मन्त्री रहँदा नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको भनेर प्रशंसा समेत गरिन्छ।
उनकै पालामा नेपालले आफ्नै स्रोतसाधान र जनशक्तिबाट पहिलोपटक सगरमाथाको उचाई मापन गरी घोषणा समेत गरेको थियो।
२०३६ सालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहँदै २०७० मा स्याङजा एमालेको नेतृत्वमा पुगेकी थिइन्। राजनीतिक यात्रामा अखिल नेपाल विद्यार्थी संघ (अनेरास्ववियु) मा, पार्टी जिल्ला कमिटी, अञ्चल कमिटी र केन्द्रीय कमिटीमा विभिन्न जिम्मेवारी सम्हालेकी थिइन्।
अर्यालसँगै हमालको राजनीतिक यात्रा पनि लामो छ। तर, उनको राजनीतिक पाइलाभने चितवनबाट सुरु भएको थियो। लमजुङकी हमालको कम्युनिष्ट आन्दोलन र महिला नेतृत्वको रुपमा लामो इतिहास छ।
२०१९ भदौ २२ मा लमजुङको दोर्दी गाउँपालिका ३ मा जन्मिएकी हमालले पछि चितवनको अरुणोदय माध्यमिक विद्यालयबाट २०३७ सालमा एसएलसी उत्तीर्ण गरिन्।
क्याम्पस जीवनसँगै उनको राजनीतिक यात्रा पनि सुरु भयो। विद्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय हुँदै उनी चितवन जिल्ला सचिवमा निर्वाचित भइन्। २०३८ सालमा चाहिँ उनले तत्कालीन मालेमा रहँदै भूमिगत तरिकाले राजनीति सुरु गरिन्। कार्यक्षेत्र लमजुङ बनाइन्।
सो उपक्रममा इलाका कमिटीको सचिव, जिल्ला उपसचिव भइन्। २०४६ को जनआन्दोलनपछि पढाइ र राजनीतिलाई सँगै अगाडि बढाइन्। भरतपुरस्थित वीरेन्द्र क्याम्पसबाट स्नातक तह पूरा गरेपछि पूर्णकालीन राजनीतिमा लागेकी उनी २०६५ सालमा पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइन्।
गण्डकीको सह–इन्चार्जको जिम्मेवारी सम्मालेकी उनलाई पार्टीले २०७० सालको संविधान सभा चुनावमा समानुपातिकतर्फको उम्मेदवार तय गर्यो। उनी सम्मिलित संविधान सभाले नयाँ संविधान बनायो। हाल अनेमसंघमा अध्यक्षसमेत रहेकी हमाल १२ वर्षपछि समानुपातिकतर्फबाटै संसद प्रवेश गर्दैछन्। उनले सचिव पद्मासँग मिलेर गण्डकीको तर्फबाट संसदमा आवाज उठाउने अवसर पाएकी छन्। किनकि, गण्डकीका १७ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको एमालेले यहाँ प्रत्यक्षतर्फ एउटै सिट जितेको छैन।
पूर्वउपमेयर र भलिबल खेलाडीको संसद यात्रा
सरस्वती क्याम्पसमा पढ्दा रेनुका काउचा मगर भलिबल खेल्थिन्। गाउँमै सिकेको भलिबल खेल्ने महिला साथी नपाउँदा चाहिँ उनी हैरान थिइन्। केटाहरू खेलिरहेको ठाउँमा पुगेर पनि भलिबल स्पाइक गरेको उनको अनुभव छ। पुस्तौनी कांग्रेसकी सन्तान उनी २०५९ सालमा अध्ययनका लागि काठमाडौको सरस्वती क्याम्पसमा भर्ना भएपछि उनी राजनीतिमा सक्रिय बनिन्।
पुस्तैनी कांग्रेसको नाताले उनी नेपाल विद्यार्थी संघबाट राजनीति थालेकी हुन्। अध्ययन र राजनीतिमा सक्रिय रहँदै जाँदा पार्टीले उनलाई ३३ वर्षको उमेरमा उपमेयरको टिकट दिएको थियो। उनै रेनुका २०७४ मा बागलुङको गलकोट नगरपालिकाकी उपमेयर निर्वाचित भइन्। दोस्रोपटक मेयरको आकांक्षा राखे पनि उनले पाइनन्। तर, राजनीतिमा सक्रियता चाहिँ छाडिनन्।
उनै रेनुकालाई नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधीसभा सदस्य बनाएको छ। आदिवासी जनजाति महिला क्लष्टरबाट काउचाको नाम कांग्रेसले निर्वाचन आयोगमा पठाएको हो। उनी गण्डकीबाट कांग्रेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसकी एकमात्र महिला सदस्यसमेत हुन्।
यसअघिसम्म संस्थापन अर्थात, त्यतिबेलाका सभापति शेरबहादुर देउवा खेमामा रहेकी उनी पुसको अन्त्यमा कांग्रेसभित्रको विद्रोह र विशेष महाधिवेशन आयोजना भएपछि विशेषकै पक्षमा उभिएकी थिइन्।
गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा लगेको कांग्रेसले मनाङ र मुस्ताङबाट २ सिट जितेको छ। उनी गण्डकीबाट प्रतिनिधित्व गर्ने तेस्रो र एकमात्र महिला सांसद हुने भएकी छन्।
क्यान्सरसँग लड्दै गरेकी बलावतीको संसद यात्रा
नेकपाबाट प्रतिनिधित्व गर्ने बलावती शर्मा यतिबेला क्यान्सरसँग लड्दै छिन्। नेता देवेन्द्र पौडेलकी पत्नी बलावती शर्माको नाम नेकपाले निर्वाचन आयोगमा पठाएसँगै उनले अब गण्डकीको प्रतिनिधित्व गर्नेछिन्।
नेता देवेन्द्रकी पत्नी भएकाले अवसर पाएको आरोप लागे पनि भूमिगत राजनीति गरेकी तथा जनयुद्धमा सक्रिय सहभागिता जनाएकी बलावती काविल नेता हुन्। आफ्नै क्षमताले अगाडि बढेकी उनीउनी २०६४ सालमा एक वर्ष अन्तरिम व्यवस्थापिका संसद बनेकी थिइन्। दुईवटा विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी उनी पार्टीभित्र बौद्धिक नेताका रुपमा पनि चिनिन्छिन्। उनी अधिवक्ता पनि हुन्।
जनयुद्ध लडेकी बलावती अहिले क्यान्सर रोगको उपचार गराउँदै छन्। २०४२ सालदेखि विद्यार्थी आन्दोलनमा होमिएकी उनी जनयुद्धकालमा पूर्णकालीन कार्यकर्ता भएर काम गरेकी हुन्। जनयुद्धकालको सुरुवाती चरणमै अनेमसंघ(क्रान्तिकारी) को काठमाडौं जिल्ला अध्यक्ष हुँदै जेल, नेल र यातना बेहोर्दै निरन्तर क्रियाशील रहेकी थिइन्। संकटकालकै उत्कर्षमा पार्टीको रोल्पा जिल्ला सहइन्चार्जको भूमिकामा चर्चित खारासहित लडाइँका मोर्चाहरूमासमेत प्रत्यक्ष सामेल भएकी थिइन्।
पार्टीको ब्यूरो सदस्य, जिल्ला कमिटी सेक्रेटरी, केन्द्रीय सदस्य, नेकपाकालमा बाग्लुङ जिल्ला इन्चार्ज हुँदै पछिल्लो चरणमा स्थायी समिति सदस्य रहेकी छन्।
गण्डकीका १७ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेकपाको एक्लो प्रतिनिधित्व अब बलावतीले गर्दैछिन्। उनको गृह जिल्ला बागलुङ १ मा चाहिँ नेकपाले जनमोर्चालाई सघाएको थियो।
Shares

प्रतिक्रिया