गण्डकी


महावीरलाई सडकमा पुस्तक नबेच्न पोखराका मेयरको अनुरोध: फुटपाथको नियम तपाईंलाई पनि लागु हुन्छ

महावीरलाई सडकमा पुस्तक नबेच्न पोखराका मेयरको अनुरोध: फुटपाथको नियम तपाईंलाई पनि लागु हुन्छ

नेपालखबर
फागुन २७, २०८२ बुधबार ११:१२, पोखरा

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराका सडकमा किताब (आत्मकथा) बेचिरहेका सांसद महावीर पुनलाई यसो नगर्न आग्रह गरेका छन्। 

बुधबार बिहान सामाजिक सञ्जालमार्फत महावीरलाई सांसदको भूमिका स्मरण गराउँदै फुटपाथमा बसेर किताब नबेच्न अनुरोध गरेका हुन्। 

म्याग्दीबाट स्वतन्त्र रूपमा चुनाव लडेर प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित पुनलाई सम्बोधन गर्दै मेयर आचार्यले लेखेका छन्, ‘फुटपाथमा साना व्यवसाय गर्ने व्यक्तिहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न अनुरोध गर्दा, त्यही नियम तपाईंमाथि पनि लागु हुँदा अनावश्यक विवाद सिर्जना हुनु उपयुक्त देखिँदैन। त्यसैले माननीयज्यू, अब तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक व्यवसायीको भूमिका पुस्तक बिक्री-वितरण गर्ने हो। यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनुभयो भने हामी महासंघमार्फत त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौँ।’

यस्तो छ मेयर आचार्यको पूरा अपिल

ध्यानाकर्षण!!

माननीय महावीर पुनज्यू, हार्दिक नमस्कार।

सर्वप्रथम, अत्यधिक मतसहित विजयी हुनुभएकोमा हार्दिक बधाई तथा आगामी कार्यकालको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। यहाँको देश र समाजप्रतिको समर्पण, सादगीपन र पवित्र उद्देश्यप्रति हामी सबैको उच्च सम्मान छ। नवप्रवर्तन र अनुसन्धानको अभियानका लागि देशभरि घुमेर पुस्तक बिक्री गर्दै जनसमर्थन जुटाइरहनुभएको कार्य सराहनीय छ। वास्तवमा तपाईंको अभियानलाई सहयोग गर्ने भावनाले नै धेरैले उत्साहपूर्वक पुस्तक खरिद गरिरहेका छन्। तर, बिना दर्ता वा आवश्यक अनुमति कुनै पनि वस्तुको बिक्री-वितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्छ भन्ने कुरा तपाईंलाई अवगत नै छ। पछिल्ला केही दिनमा सडकमा उभिएर पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको तथा केही अनावश्यक सवालजवाफ भएको देखिएको छ, जुन तपाईंजस्तो सम्मानित व्यक्तित्वलाई सुहाउने अवस्था होइन। आज तपाईं केवल महावीर पुन मात्र नभई, देशले सम्मान गरेको एक आदरणीय व्यक्तित्व र सार्वजनिक नेतृत्वको स्थानमा हुनुहुन्छ। देशभर करिब १८ हजार पुस्तक व्यवसायी छन्, जो राज्यका विभिन्न निकायमा दर्ता भई लेखकहरूका पुस्तक बिक्री-वितरण गर्दै आएका छन्। यदि तपाईं पोखरा आउने समय दिनुहुन्छ भने पुस्तक व्यवसायी महासंघमार्फत तपाईंलाई सहज र उपयुक्त स्थान उपलब्ध गराई पुस्तक बिक्री-वितरणमा सहयोग गर्न सकिनेछ। यसले तपाईंको अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिएका छौँ। फुटपाथमा साना व्यवसाय गर्ने व्यक्तिहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न अनुरोध गर्दा, त्यही नियम तपाईंमाथि पनि लागु हुँदा अनावश्यक विवाद सिर्जना हुनु उपयुक्त देखिँदैन। त्यसैले माननीयज्यू, अब तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक व्यवसायीको भूमिका पुस्तक बिक्री-वितरण गर्ने हो। यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनुभयो भने हामी महासंघमार्फत त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौँ। साथै हालसम्म कति पुस्तक बिक्री-वितरण भयो भन्ने विवरण सार्वजनिक गर्न सकिएमा पारदर्शिता बढ्नुका साथै कर भुक्तानीसम्बन्धी उठ्न सक्ने प्रश्नहरूको पनि सहज जवाफ प्राप्त हुन सक्नेछ। पुनः तपाईंको अभियान र उद्देश्यप्रति हाम्रो उच्च सम्मान व्यक्त गर्दै सहयोग र सहकार्यका लागि सदैव तयार रहेको जानकारी गराउन चाहन्छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad