देशमा चुनावी माहोल छ। जेनजी आन्दोलनपछि फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि देशैभर नयाँ र आशालाग्दा अनुहार प्रतिस्पर्धामा छन्।
यहीबिच एउटा प्रखर वक्ता, भरोसायोग्य र हँसमुख नेताको सम्झना भइरहेको छ। ती नेता हुन्- रवीन्द्र अधिकारी। कास्कीको भरतपोखरीमा जन्मेका उनी पयर्टनमन्त्री रहेका बेला २०७५ आजकै दिन अर्थात् फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परेर बितेका थिए। ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शनपछि फर्किने क्रममा उनी सवार डाइनेस्टीको हेलिकप्टर फुङलिङ नगरपालिका-१० सिस्नेभिरमा खसेको थियो।
जसमा परी अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका तत्कालीन उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, तत्कालीन प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, तत्कालीन पर्यटनमन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको पनि मृत्यु भएको थियो।
कास्की क्षेत्र नम्बर २ बाट तीनपटक चुनाव जितेका अधिकारी २०७४ चैत २ गते पर्यटनमन्त्री नियुक्त भएका थिए। पार्टी (एमाले) अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा मन्त्री बनेका उनले पर्यटन क्षेत्र सुधारका निम्ति नीतिगत प्रयत्न थालेका थिए।
पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुँदा होस् कि अनेरास्ववियुको अध्यक्ष- उनी चर्चामा थिए।
सार्वजनिक सवारीसाधनमा विद्यार्थीका लागि भाडामा सहुलियत कायम गराएर तथा प्रवीण गुरुङ हत्याकाण्डमा तत्कालीन युवराज पारस शाहविरुद्ध हस्ताक्षर संकलन गरी दरबारमा बुझाएर उनी तत्कालीन मालेको महत्त्वपूर्ण ‘प्रचार औजार’ बने।
पोखरेली मतदाताले उनलाई तीनपटक पत्याए। संविधान सभाअन्तर्गत विकास समितिको सभापति हुँदा चाहिँ उनको क्रियाशीलताले वाहवाही बटुल्यो।
‘सम्मृद्ध नेपाल’ पुस्तकका लेखकसमेत रहेका उनै रवीन्द्रलाई २०७४ सालको चुनावमा तत्कालीन एमालेले कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बनायो। उनी भारी मतले विजयी बने। लगत्तै बनेको सरकारमा मन्त्री बनेपछि उनी झन् सक्रिय भए।
वाम बुद्धिजीवी झलक सुवेदीका अनुसार पार्टी, आफूले पाएको काम र देशप्रति बफादारी रवीन्द्रको विशेषता थियो। उनी सधैँ सिर्जनात्मक काम गर्न खोज्थे।
राजनीतिक जीवनमा अधिकारीसँग लामो सहयात्रा गरेका सुवेदी भन्छन्, ‘नेताको आशीर्वादले हैन, कामले नै नेता बनेको मान्छेको हो ऊ। गणतन्त्रवादी चेतको विकास गराउन पनि उनको भूमिका उत्तिकै थियो। तत्कालीन युवराज पारसमाथि कारबाहीको माग गर्नु त्यो बेला चानचुने कुरा थिएन। विकास समितिको अध्यक्षका रूपमा खेलेको भूमिकाले रवीन्द्रलाई राष्ट्रिय राजनीतिमा स्थापित गराएको हो।’
यसो भनिरहँदा राजनीतिक रूपले रवीन्द्रले भोगेका प्रताडना र अवरोध पनि सम्झनुपर्ने सुवेदी बताउँछन्। माले पृष्ठभूमिका उनलाई एमालेमा अगाडि बढ्न नदिन विभिन्न हर्कत गरिएको स्मरण गर्दै उनी सुनाउँछन्, ‘तर पनि निरन्तर जुधेर नै रवीन्द्र अगाडि बढेका हुन्।’
रवीन्द्रको निधनपछि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन भयो। उपनिर्वाचनमा एमालेले रवीन्द्रकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनायो। पतिको निधनले विक्षिप्त बनेकी विद्या त्यो बेला सक्रिय राजनीतिमा आउन इच्छुक थिइनन्।
‘म घरमै छोराहरु हुर्काउन व्यस्त थिएँ, कलेज त पढाउँथे तर स्थायी भएको धेरै भएको थिएन,जम्माजम्मी ७ वर्ष भएको थियो। अध्ययन/अनुसन्धानमै लाग्छु भन्ने मन बनाएको बेला पार्टीले भनेपछि राजीनामा दिएँ, त्यो विशेष परिस्थिति थियो नि,’ उनले हालैको एक कुराकानीमा नेपालखबरसँग भनेकी थिइन्।
२०७९ सालको चुनावमा पनि एमालेले कास्की क्षेत्र नम्बर २ मा विद्यालाई नै उम्मेदवार बनायो। उनले सहजै विजय प्राप्त गरिन्। विजयी बनेपछि उनलाई शिक्षामन्त्रीको जिम्मेवारी प्राप्त भयो। शिक्षामन्त्री रहँदै गर्दा शिक्षक आन्दोलन भयो। त्रिवि सुधारका योजना र शिक्षक आन्दोलनलाई टुंग्याउन गरेको प्रयासमा अवरोध उत्पन्न भएपछि उनले राजीनामा दिइन्।
यसपटक उनी उम्मेदवार बनिनन्। अहिले कास्की क्षेत्र नम्बर २ मा एमालेबाट रश्मि आचार्य उम्मेदवार छन्।
उनी रवीन्द्रको सपना साकार पार्न आफू चुनावी मैदानमा आएको बताउँछन्।
हो, रवीन्द्र सपना देखाउँथे। उनी लोकप्रिय थिए र रवीन्द्रलाई ७ वर्षपछि पनि पोखरेलीले बिर्सेका छैनन्। रवीन्द्रसँग सहकार्य गरेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य रवीन्द्रमा भएको सरलता, इमान्दारिता र विकासप्रतिको संकल्प सधैँ प्रेरणादायी रहने बताउँछन्।
रवीन्द्र यो धर्तीमा छैनन्। पोखराको मुख्य बजार महेन्द्रपुलको दक्षिणपट्टिको भित्तो अर्थात् पोखरा १८, ग्यारजातीमा रहेको सहिद तथा विभूति पार्कमा उनको शालिक ठडिएको छ। रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ र त्यही प्रतिष्ठानले शुक्रबार बिहानै उनको सालिक छेउ उभिएर रवीन्द्रप्रति श्रद्धासुमन व्यक्त गरिएको छ।
Shares

प्रतिक्रिया