पोखरा महानगरपालिका-१६ स्थायी घर भई सोही महानगरपालिका वडा नम्बर ९, रामघाट बस्ने ६० वर्षीय रमेश सुनार, धादिङको त्रिपुरासुन्दरी १ स्थायी घर भई हाल पोखरा-११ फूलबारी बस्ने ३२ वर्षीय हरिराम बुर्लाकोटी र पाल्पाको रामपुर नगरपालिका ४ घर भई पोखरा-१० रामघाट बस्ने ३८ वर्षीय कृष्णबहादुर भुजेल दिनभरि सँगै मजदुरी गर्थे।
काम सकेपछि उनीहरू रक्सी किन्थे र एकान्त ठाउँमा सँगै बसेर पिउँथे।
मंसिर २४ गते साँझ पनि उनीहरूले काम सके र रक्सी किने। अनि पोखरा-१२ ढिकालेथर शिव मन्दिरनजिकै एकान्त ठाउँमा बसेर पिउन थाले।
यस क्रममा उनीहरूबीच विवाद भयो। झगडाले उग्र रूप लिएपछि कृष्णबहादुर रमेशमाथि जाइलागे। र, नजिकैको ढुंगाले हानेर टाउको फुटाइदिए। रमेश ठहरै भए। त्यसपछि उनको लास नजिकैको झाडीमा फालेर कृष्ण हिँडे।
तर कास्की प्रहरीले मंसिर २५ गते बिहान मात्र शिवमन्दिर छेउमा कोही मृत फेला परेको जानकारी पायो।

कास्की जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान अगाडि बढायो।
चिनजानकै मान्छेबाट हत्या भएको निचोडमा पुगेको प्रहरीले अघिल्लो दिन दिउँसो सँगै काम गर्ने कृष्णबहादुर भुजेल र हरिराम बुर्लाकोटीको खोजी थाल्यो।
यस क्रममा प्रहरीले भुजेललाई दिउँसो २ बजेतिर पोखराकै रामघाटबाट पक्राउ गर्यो भने बुर्लाकोटीलाई मंसिर २६ गते मात्र पोखरा १२, माटेपानीबाट नियन्त्रणमा लियो।
झगडा भएपछि आफूले सुनारलाई ढुंगाले हानेर मारेको र लास झाडीमा फाल्न बुर्लाकोटीले सघाएको बयान भुजेलले प्रहरीसमक्ष दिएका छन्।

प्रहरीले दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।
Shares

प्रतिक्रिया