गण्डकी


सधैँ पानी पर्ने पोखरामा ‘आरीघोप्टे बादल’ किन पसेन?

सधैँ पानी पर्ने पोखरामा ‘आरीघोप्टे बादल’ किन पसेन?

वाशुदेव मिश्र
असोज १९, २०८२ आइतबार १५:५१, पोखरा

जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भएको न्यूनचापीय मौसम प्रणाली नेपाल पस्दा असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा बाढी,पहिरो र डुवानका समस्या देखिने,राजमार्गहरू अवरुद्ध हुनसक्ने प्रक्षेपण गर्‍यो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले अत्यावश्यकबाहेक यात्रामा ननिस्कन र सुरक्षित रहन सार्वजनिक आह्वान गर्‍यो।

मौसम विभागले गरेको प्रक्षेपण सही ठहरियो। देशका विभिन्न भागमा ठूलो पानी पर्‍यो,बाढी आयो र पहिरोले राजमार्गहरू अवरुद्ध बने। इलामलगायतका क्षेत्रमा जनधनकै क्षति भयो। विभागले आइतबार चाहिँ यो मनसुन बिस्तारै नेपालबाट निस्कने क्रममा रहेको तर खतरा कायमै रहेको जानकारी दिएको छ। 

जेनजी आन्दोलनले गिजोलेको आममान्छेलाई वर्षा र बाढी–पहिरोको त्रासले दिनु सास्ती दियो। जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्राकृतिक विपत्ति सामनाका निम्ति गरेको तयारी र प्रकाशित सूचनाले दसैँको बेला मान्छेहरूको यात्रा रोकियो। मौसम विभागको प्रक्षेपण र सरकारबाट जारी सूचनालाई विभिन्न कोणबाट अर्थ्याइयो।

देशकै सबैभन्दा बढी पानी पर्ने ठाउँ पोखरा रहेको गण्डकी क्षेत्रलाई पनि मौसम विभागले सम्भावित बढी वर्षा हुने क्षेत्रको रुपमा प्रक्षेपित गरेको थियो। तर, पोखरामा भने बंगालको खाडीबाट पानी बोकेर हिँडेको बादल आइपुग्दै पुगेन। साँझ परेपछि सधैँजसो पानी पर्ने र बेमौसम पनि छाता बोकेर हिँड्नुपर्ने पोखरामा पानी त पर्‍यो तर त्यो सामान्यभन्दा पनि कम रह्यो। त्यसैले हुनुपर्छ–केही पोखरेलीहरूले विभागको प्रक्षेपणलाई लिएर सामाजिक सञ्जालमा उदेकपूर्ण टिप्पणी पनि गर्न भ्याए। 

जल तथा मौसम विभागबाट पोखरा एयरपोर्टमा गरिएको मापन अनुसार पछिल्लो २४ घण्टायता देशकै सबैभन्दा बढी पानी पर्ने पोखरामा २.८ मिलिलिटरमात्र वर्षा भयो। मापन केन्द्रमा रहेकी हुमा गुरुङका अनुसार असोज १८ गते चाहिँ पोखरामा २९.८ र १७ गते ०.५ मिलिलिटरमात्र पानी परेको थियो। यत्तिको पानी पर्नु पोखराको लागि नौलो कुरा हैन। यो समाचार तयार पारिरहँदा पोखरामा टन्टलापुर घाम लागेको छ। 

जल तथा मौसम विभाग कार्यालय पोखराका सूचना अधिकारी सुजन सुवेदीका अनुसार बर्खाको बेला पोखरामा एकै दिन ३ सय मिलिलिटर हाराहारीमा पानी परेको रेकर्ड रहेको छ। पोखराको पनि ठाउँ हेरेर कतै कम र कतै बढी पानी पर्ने उनले बताए। देशकै सबैभन्दा बढी पानी पर्ने ठाउँ चाहिँ कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्ले क्षेत्र हो।

सूचना अधिकारी सुवेदीका अनुसार सन् २०२१ को सेप्टेम्बर १० तारिखमा पोखरामा २८०.४ मिलिलिटर वर्षा भएको थियो। उनका अनुसार वार्षिक तथ्याङ्क हेर्दा चाहिँ सन् १९९८ मा सबैभन्दा बढी ४ हजार ८ सय ७९ मिलिमिटर वर्षा भएको थियो। उनका अनुसार पोखरामा बंगालको खाढीबाट आएको बादल प्रवेश नै गरेन। बर्खायामको नियमित बादलले नै यो वर्षा गराएको उनले बताए।  

जल तथा मौसम विभाग काठमाडौंमा कार्यरत जलविज्ञ इन्जिनियर विनोद पराजुलीका अनुसार अहिले बंगालको खाडीबाट विपत्ति बोकेर आएको मेघ र पोखरामा साँझ नपर्दै सुरु हुने मेघको आइनो–साइनो नै छैन।

‘पोखराको भौगोलिक अवस्थाले एउटा छुट्टै मौसमी अवस्था सिर्जना गरेको छ र त्यसले वर्षभरमा औषत रुपले देशको सबैभन्दा बढी वर्षा हुने अवस्था छ,’उनले भने,‘क्षणिक भारी वर्षा हुने क्षेत्र चाहिँ पोखरा हैन। त्यस्तो क्षेत्र भनेका चुरे आसपासका क्षेत्रहरू, काठमाडौं दक्षिणी क्षेत्रहरू हुन्।’ 

पोखरामा वार्षिक रुपले हुने बढी वर्षा र अहिले बंगालको खाढीबाट आएको वायु प्रणालीलाई जोडेर हेर्न नमिल्ने कुरा उनले पुनः दोहोर्‍याए। अहिले नेपालबाट बाहिरन आँटेको मौसम प्रणालीले पोखराको आसपासदेखि पूर्वतिरमात्र पानी पार्ने भन्ने पूर्वानुमान रहेको पनि उनले स्मरण गरे।

‘त्यो (मनसुन) बिहारबाट नेपाल प्रवेश गर्‍यो तर भारतकै उत्तर प्रदेश गएन र अहिले यो नेपालबाट बिस्तारै बाहिर निस्कँदैछ। नेपालकै पश्चिमतर्फबाट यो प्रणाली (पानी पार्ने) विकास हुन सकेन,’ उनले भने,‘पश्चिम बंगालबाट आएको मनसुनले बागमती,मधेस र कोसीमा असर गर्ने देखिएको थियो। भयो पनि त्यस्तै।’ 

लामो समयसम्म पोखराकै मौसम विभागमा काम गरेका रामकुमार कापैरको भाषा सापट लिने हो भने पोखराको मौसमबारे अनुमान गर्न कठीन हुन्छ। कहिले पानी पर्छ भन्यो, पानी नै नपर्ने र कहिले अनुमानै नगरेको बेला पानी दर्कनु पोखराको लागि नौलो नभएको उनले स्वीकारे।

‘ठूलो वर्षा हुने अनुमान चाहिँ मिल्न जान्छ तर पोखरामा सानातिनो वर्षा भइरहेको हुन्छ। ठ्याक्कै मिल्दैन,’ उनले भने,‘नजिक हिमाल भएकाले यहाँको हावाको गति नै फरक पारेकाले पोखरामा मौसमको पूर्वामान गर्न नसकेकोजस्तो हुन्छ।’

जल तथा मौसम विभाग पोखराका सूचना अधिकारी सुजन सुवेदीका अनुसार यो संयोग हो। त्यो बादल जसरी नेपाल पस्यो र आकासमा मडारियो। त्यसले आफू जाने ठाउँ र निस्कने बाटो आफैं तयार पार्‍यो। पोखरातिर यसले चिहाएन। 

कालो बादल किन पोखरा पसेन?
साँच्चै किन पोखरातिर आएन त पानी पार्ने कालो बादल? हामीले सोधेको यो प्रश्नमा जलविज्ञ इन्जिनियर विनोद पराजुली यसरी पोखिए–‘पहिलो (पोखरा)यस्तो उपत्यका हो, जसको वरपर उच्च पहाड र हिमालहरू छन्। खासगरी यसको माथिल्लो भागमा रहेको कालीगण्डकी गर्ज साँघुरो छ। त्यसले दक्षिणतिरबाट गएको हावालाई मुस्ताङतिर छिर्न दिँदैन। पानी बोकेको बादल त्यहाँबाट फर्कँदा पर्वत, कास्कीको लुम्ले र पोखरालगायतका क्षेत्रमा पानी बढी पर्छ। यो क्षेत्रमा बढी पानी पर्नुको कारण एउटा यही हो। अर्को कुरा–पोखराको आफ्नै एउटा बाष्पिकरण प्रक्रिया छ। पोखरामा ८ वटा ताल छन्। ती तालहरूबाट निरन्तर पानी बाफ बनिरहेको हुन्छ। त्यो बाष्पिकरण प्रक्रियाले बादलमा पानी गइरहेको हुन्छ र त्यो बाफ बोकेको बादलाई यहाँका डाँडाकाँडाले बाहिरिन दिँदैनन् र उत्तरी हिमाली क्षेत्रमा त्यो बादल पुग्दा चिसिएर पानी बन्छ अनि पानी पर्छ । सामान्यतयाः तालबाट दैनिक एक मिलिलिटर पानी यसरी बाफ बनेको हुन्छ। त्यसले गर्दा दिउसो १ वा २ बजेपछि पोखरामा पानी पर्ने गरेको हो।’ 

तर, उनले यी विषयको वैज्ञानिक अध्ययन चाहिँ नभएको सुनाए।

‘यसको अध्ययन भएको छैन। यहाँको तालबाट दैनिक कति पानी बाफ बन्छ भन्ने कुरा ठ्याक्कै भन्न सकिँदैन। तथ्य चाहिँ हामीले देखेको र भन्दै आएको वरपर नै छ,’उनले कुराको बिट मारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad