होटल संघ पोखराले राजमार्ग अवरुद्ध हुँदाको अवस्थामा अलपत्र परेका पर्यटकका निम्ति निःशुल्क आवास र भोजनको प्रबन्ध गर्ने घोषणा गरेको छ ।
होटल संघ पोखराले आइतबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले राजमार्गहरुमा सवारी संचालन नगर्न गरेको अनुरोध तथा बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै पोखरामै रोकिन बाध्य पर्यटकको सहुलियतका निम्ति यो व्यवस्था गरेको जानकारी दिएको छ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीबाट जारी विज्ञप्तिमा पछिल्लो परिस्थितिका कारण पोखरा वा वरपर कोही पर्यटक मौसमजन्य विपत्तिका कारण अलपत्र परेको भए यो सुविधा प्रदान गर्ने उल्लेख छ।
अन्य पर्यटकको हकमा चाहिँ होटल संघले प्रचलित दररेटमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ।
होटल संघको यो घोषणाको पोखराका मेयर धनराज आचार्यले स्वागत गरेका छन्। उनले भनेका छन्,‘३ दिनको अप्रत्याशित बाढी–पहिरोको पूर्वसूचना र गरिएको सतर्कताले धेरै हदसम्म क्षति न्यूनीकरण गर्न सहयोग पुगेको छ। यसपटकको वर्षामा तुलनात्मक रूपमा गण्डकी प्रदेश पोखरा कम जोखिममा रहनु सकारात्मक पक्ष रह्यो। तथापि, हिमाली क्षेत्रमा रहनुभएका वा यात्राबाट फर्किंदै गर्नुभएका पर्यटकहरूको अवस्थालाई मध्यनजर गर्दै होटल संघ पोखराले अप्ठ्यारो पर्नुभएका पर्यटकहरूलाई निःशुल्क खान र आवाससहितको व्यवस्था र अन्य पर्यटकहरुलाई पनि सहुलियतपूर्ण व्यवस्थापन गरेको छ। यस सहयोगका लागि होटल संघ पोखरालाई हार्दिक धन्यवाद। पर्यटनको राजधानी पोखरामा पर्यटकलाई हरेक सम्भव सहयोग, साथ र स्वागत गरौं।’
Shares

प्रतिक्रिया