पोखरामा रहेका सहकारी पीडितहरुले जेनजी पुस्ताको आन्दोलनको क्रममा सहकारीको बचत रकम ठगीका सवै प्रमाणहरु नष्ट गरिएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्।
सहकारी बचतपीडित संघ कास्कीले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गते भएको आन्दोलनको क्रममा सहकारी ठगी र त्यसमा जोडिएका अनुसन्धानका फाइलहरु रहेका जिल्ला र उच्च अदालत पोखरा, जिल्ला सरकारी वकिलको कार्यालय,उच्च अदालत सरकारी वकिलको कार्यालय तथा सहकारी शाखामा आगजनी गरी सम्पूर्ण सबुत प्रमाण र कागजात नष्ट गरिएको बताएको हो।
विज्ञप्तिमा अगाडि प्रश्न गरिएको छ, ‘किन सहकारी मुद्दासँग जोडिएका निकायलाई केन्द्रबिन्दु बनाइयो? किन सहकारी मुद्दासँग जोडिएर थुनामा बस्ने ठाउँलाई केन्द्रबिन्दु बनाइयो? पोखरा महानगरपालिका सहकारी शाखा जलाइयो तर सहकारी रजिष्ट्रारको कार्यालय केही गरिएन?’
जेनजी पुस्ताले गरेको आन्दोलनलाई सहकारी बचतपीडितको पूर्ण समर्थन रहेको स्मरण गर्दै अन्य समूह र पार्टीका व्यक्तिले घुसपैठ गरी सो काम गरिएको आशंका पनि व्यक्त गरिएको छ।
‘हाम्रा घरघरका जेनजी पुस्ता पनि यही बचत रकम नपाउँदा पीडत छन्, अब यो सहकारीपीडितहरुको समस्याबारेमा जेनजी पुस्ताबाट आवाज उठ्नु जरुरी छ। हामी सहकारी पीडित पनि बिगत ३ वर्ष यिनै सरकार, सरकारी पद, राजनीतिक पार्टी, पद र दायित्वमा बसेका मानिसहरुबाट पीडित बनेका हौँ। यो विषयमा जेनजी पुस्तबाट आवाज उठोस् भन्ने चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी नितान्त सहकारी पीडित हौँ, हामी कुनै पार्टीमा आबद्ध छैनौँ र यही समस्याको बारेमा वर्षौंदेखि आवाज उठाइरहेका छौँ। बिगत ३ वर्षदेखि हामी सरकार र सहकारी ठगसँग लडिरहेका थियौँ। अब हामीले न्याय पाउने हो भने त्यो व्यवस्थाभित्र सहकारी पीडितलाई पनि सहभागी बनाइयोस्।’
कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जोडिएको बहुचर्चित सूर्यदर्शन, ढोरपाटनका मेयर देवकुमार नेपाली जोडिएको प्राइम सहकारीसहित अन्य कम्तिमा ७ वटा सहकारी ठगी प्रकरणको मुद्दा विचाराधीन अवस्थामा थिए। ती मुद्दाका सवैजसो अनुसन्धानका प्रमाण, प्रतिलिपिहरु आन्दोलनको क्रममा सरकारी कार्यालय आगजनीमा परेर नष्ट भएका छन्।
कास्की कारागारमा सूर्यदर्शन सहकारी प्रकरणसँग जोडिएका ६३ जनालाई प्रतिवादी बनाइएकोमा सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाश दर्लामी,संचालक समितिका सदस्य भविश्वर अर्याल,जीबी राईकी सहयोगी भनिएकी लीला पछाईंसहितका व्यक्तिहरु कारागारमै थिए।
जेनजीको आन्दोलनको क्रममा कास्की कारागारमा पनि आक्रमण भयो। जेलमा रहेका कैदीबन्दीहरु त्यहाँबाट बाहिर निस्केका छन्। कास्की कारागारमा ७ सय ७४ जना कैदीबन्दी रहेकोमा ७ सय ७३ जना जेल बाहिर निस्केका थिए। तीमध्ये १८ जनामात्र सम्पर्कमा आएको कास्की कारागार स्रोतले बताएको छ।
Shares

प्रतिक्रिया