गण्डकी


घुमाउने घरको सट्टा आधुनिक प्रदेशसभा भवन बनाउँदै गण्डकी, मासिँदै नदीपुरको क्रिकेट मैदान

घुमाउने घरको सट्टा आधुनिक प्रदेशसभा भवन बनाउँदै गण्डकी, मासिँदै नदीपुरको क्रिकेट मैदान

वाशुदेव मिश्र
भदौ ३, २०८२ मंगलबार १६:३२, पोखरा

ढुंगाले छाएको घुमाउने घर। छानोसँगै हिमाल टाँस्सिएजस्तो। समाचार, सामाजिक सञ्जालतिर देखिने गण्डकी प्रदेशसभा भवन साँच्चै फरक र सुन्दर छ।

अन्य ६ प्रदेशभन्दा फरक खालको यो भवन २०४९ सालतिर बनेको हो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘नगर प्रशिक्षण भवन’को रुपमा यसको उद्घाटन गरेका हुन्। पोखरा ३,नदीपुरमा रहेको जमिन र भवनसँग पञ्चायतकालीन साइनो छ। खासमा यो पञ्चायत प्रशिक्षण प्रतिष्ठान थियो। तत्कालीन अञ्चलाधीश शंकरराज पाठक नेतृत्वमा तयार पारिएको पोखराको गुरुयोजना अनुसार त्यो भवनको डिजाइन भएको थियो।

शंकरराज पोखरा नेपालका अन्य सहरभन्दा फरक होस् भन्ने चाहन्थे। अहिले चल्तीमा रहेको ‘बुटिक’ शब्द उनले अमेरिकामै सुनेका थिए।

‘हाम्रो वीरगञ्च र सीमा पारिको सहरमा कुनै भिन्नता छैन। घरहरू उस्तैउस्तै छन्। पोखरा पर्यटकीय सहर, यसको मौलिकता कायम राखिनुपर्छ भन्ने सोचेर मैले कम्तिमा सरकारी भवनहरू एकैखालका हुन् र त्यसमा ढुंगाको छानो हालियोस् भन्ने सोचेको थिएँ,’उनले नेपालखबरसँगको एउटा भेटमा भनेका छन्,‘मौलिकताले नै सहरलाई चिनाउने हो। हामी हुँदासम्म त्यो नियम कायम भयो तर पछि त बिगारे नि।’

सरस्वती क्याम्पसका संस्थापक तथा पहिलो नेपाली–अंग्रेजी शब्दकोषका लेखक डा. पाठकले दुई वर्षअघि पोखरा आउँदा पनि न्यूरोड र पोखरा एयरपोर्ट निर्माणका फेहरिस्त सुनाएका थिए। मापदण्डको कुरा गरेका थिए। यो भवनसँग जोडिएको कुरा भयो। 

अहिले पनि पुराना मान्छेले नगर विकास प्रतिष्ठान केन्द्र भनेर चिन्ने प्रदेशसभा भवनको पछाडिपट्टि सुन्दर चौर छ। नदीपुरको क्रिकेट मैदानको रुपमा चिनिने त्यो मैदानमा क्रिकेट खेल्दा औधी आनन्द आउने क्यान गण्डकीका अध्यक्ष संजयकान्त सिग्देल सुनाउँछन्। त्यो मैदानमा अन्य भौतिक संरचना निर्माण गर्न नहुने र क्रिकेटकै लागि सुरक्षित राख्नुपर्ने उनीहरूको संस्थागत माग पनि थियो। 

तर,देश संघीय संरचनामा गइसकेपछि प्रदेशसभाको लागि भवन खोज्ने क्रममा नगर विकास प्रतिष्ठानको त्यही जग्गामा आँखा पर्‍यो। २०७४ साल माघ ७ गते त्यही भवनमा प्रदेशसभाका सांसदहरूको शपथ भयो। २०७९ भदौ ८ गतेसम्म प्रदेशसभाको पहिलो कार्यकाल सकियो।

त्यही भवनमा बसेर सांसदले प्रदेशको नाम गण्डकी राखे। प्रदेशसभा भवनमा लेखिएको प्रदेश ४ को ब्यानर फेरियो र गण्डकी प्रदेशसभा बन्यो। २०७९ पुस १४ गते प्रदेशसभाको दोस्रो कार्यकाल सुरु हुँदा सदस्यहरूले त्यहीँ शपथ लिए। 

पानी पर्ने पोखरा! यहाँको एउटा भवनबाट अर्कोमा जाँदा रुझ्नु पर्दैन। बाटोमा पनि ढुंगाकै छानो हालिएको छ। अहिले देखिएको भवनको वल्लोपट्टि क्यान्टिन र केही तालिम कक्षहरू छन्। प्रशिक्षण केन्द्र भएकाले यहाँ आवासको लागि होस्टलको व्यवस्था पनि छ।

प्रदेशसभा भवनमा रुपान्तरण भएपछि ती सबै कुरा रोकिए। बरु, केही नयाँ टहराहरू बनाइए र त्यसमा संसदीय समितिको कार्यालय राखियो। मूल सभाकक्ष सानो छ। ६० जना सांसद  मुस्किलले अट्छन्। भवन पनि पुरानै हो। त्यसमाथि ढुंगाको छानो भएकाले चुहिने समस्या पनि छ।

प्रदेशसभाको पहिलो कार्याकालमै त्यो समस्या समाधानका निम्ति नयाँ भवन बनाउने घोषणा गरियो। नीति तथा कार्यक्रममा समेटिएपछि बजेटको व्यवस्था पनि भयो। डीपीआर गरिए पनि भवन चाहिँ बनेन। दोस्रो कार्यकालमा पुनः भवनको कुरा उठ्यो।    

नगर विकास प्रशिक्षण केन्द्रको स्वामित्वको ११० रोपनी जग्गाको भोगाधिकार प्रदेश सरकारले प्राप्त गर्‍यो। र, ७ रोपनी क्षेत्रफलमा रहने गरी नयाँ भवनको खाका तयार भयो। भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार शिलान्यास गरे। 

भवनका निम्ति चालु वर्षका लागि ९ करोड बजेट विनियोजन भएको छ। २०८१ साउन २१ मा बोलपत्र आह्वान गरिएकोमा ३५ निर्माण कम्पनीले भवन बनाउने प्रस्ताव पेस गरेका थिए। त्यसमध्ये २६ कम्पनी छनोट भएकोमा सबैभन्दा कम लागत प्रस्ताव गर्ने कम्पनी छनोट भएको हो।

भवन ३ तलाको हुनेछ। भुइँतलामा ५ वटा संसदीय दलको कार्यालय, ५ वटा भीआइपी कार्यालय निर्माण हुनेछ। भीआईपी कार्यालयहरू मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद् सचिवको हुनेछन्। त्यसमाथिको तलामा संसद्को बैठक कक्ष बन्नेछ। ७८ जना अट्ने गरी बैठक कक्ष निर्माण हुँदै छ। दर्शकदीर्घाका लागि छुट्टै ८० जनाको कक्ष निर्माण हुन्छ। त्यसबाहेक सामान्य र भीआइपी कक्ष, मार्सल अफिस, कार्य व्यवस्था परामर्श समितिको बैठक कक्ष, लाइब्रेरी, भिडिओ कन्फरेन्स हल र टिभी स्टुडियो हुनेछ। सँगै पार्किङ र चमेना गृह बनाइने छ।

भवनको लागत २५ करोड ३७ लाख ८२ हजार ८६१ रुपैयाँ रहेको छ। २०८१ माघ १८ मा भएको सम्झौता अनुसार आगामी २०८४ माघ १७ गते भवन निर्माण भइसक्ने छ। भवन निर्माणको जिम्मेवारी श्रेष्ठ एण्ड सन्स र इष्ट–वेष्ट जेभीले पाएको छ। भवन तोकिएको समयअघि नै सक्ने लक्ष्य लिइएको निर्माण कम्पनीले जनाएको छ। 

‘हाम्रै कार्यकालमा सभा बस्न मिल्ने गरी काम गरिदिनु होला,’ मुख्यमन्त्रीले शिलान्यासको क्रममै भने। भवन निर्माणको योजना कार्यान्वयन सहरी विकास तथा भवन कार्यालय कास्कीले गर्ने सभामुख कृष्ण धितालले जानकारी दिए।

भवन निर्माणको केही काम अघि बढिसकेको सहरी विकास तथा भवन कार्यालय कास्कीका प्रमुख ओमराज ढुंगानाले बताए। ३ तले भवन सिमेण्टका पिल्लरसहितको बन्ने र छानो पनि ढलान नै हुने भए पनि त्यसलाई ढुंगाकै छानोजस्तो स्वरुप दिइने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad