गण्डकी


दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

नेपालखबर
साउन ११, २०८२ आइतबार १६:५२, लमजुङ

दोर्दी गाउँपालिकाले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीबाट पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क बिमा गर्न सुरु गरेको छ। 

दोर्दी गाउँपालिकाले पालिकाको वडा नं ४ नौथर सेरामा आज एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ गरेको हो। गाउँपालिका अध्यक्ष युवराज अधिकारीले वडा नं १ भारतेका प्रेमबहादुर गुरुङलाई स्वास्थ्य बिमा कार्ड उपलब्ध गराएर बिमाको शुभारम्भ गरेका हुन्।

पालिका नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको र बिमाबाट धेरै स्वास्थ्य सेवा पाउन र नागरिकलाई राहत हुने भएकाले पालिकाभित्र रहेका सबै नागरिकको पालिकाले निःशुल्क बिमा गर्न लागेको र आजदेखि सुरु भएको उनको भनाइ छ। 

आज नै वडा नं १ देखि ४ वडासम्म शुभारम्भ कार्य गर्ने र अन्य वडामा क्रमशः गर्दै जाने गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष युवराज अधिकारीले दोर्दी गाउँपालिकामै चुलो बाली स्थायी रूपमा बसोबास गरिरहेका सबै घरपरिवारको स्वास्थ्य बिमा गर्ने बताए। 

यसका लागि ‘जलविद्युत्को आम्दानी–स्वास्थ्य बिमामा लगानी’ नाराका साथ बिमा गर्ने कार्यअघि बढेको छ। 

दोर्दी गाउँपालिकामा हाल ५ वटा आयोजनाबाट १२६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ। दोर्दी गाउँपालिकाभित्र ४ हजार २२५ घरपरिवार रहेको र सबै घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न १ करोड ५० हजार बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष अधिकारीले बताए।

लमजुङमा विसं २०७७ माघ महिनाबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भए पनि बिमा नगरेका दोर्दीका स्थानीय लाभान्वित हुने भएका छन्। यस पालिकाभित्र पिपुल हाइड्रोपावर कम्पनीको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाट क्षमताको दोर्दीखोला, लिवर्टी इनर्जी लिमिटेडको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’, दोर्दी खोला कम्पनीको १२ दशमलव १ क्षमताको दोर्दी १, छ्याङ्दीखोला हाइड्रोपावर कम्पनीको चार ४ मेगावाट क्षमताको जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad