गण्डकी


कास्कीको कांग्रेस–एमाले संयन्त्र बैठक : पोखरा एयरपोर्टको ऋणलाई अनुदानमा बदल्न आग्रह

कास्कीको कांग्रेस–एमाले संयन्त्र बैठक : पोखरा एयरपोर्टको ऋणलाई अनुदानमा बदल्न आग्रह

नेपालखबर
मंसिर ३, २०८१ सोमबार १९:५२, पोखरा

नेपाली कांग्रेस र नेकपा एमाले कास्कीको दुई दलीय राजनीतिक संयन्त्रले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा बदल्नका निम्ति कुटनीतिक पहल थाल्न नेपाल सरकारसँग माग गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको सदासयतामा त्यहाँको एक्जीम बैंकको झण्डै २२ अर्ब ऋण सहयोगमा निर्माण भएको हो। २०७३ सालमै शिलान्यास भए पनि करिब १ वर्षसम्म निर्माणले गति लिएन।

चाइना सीएएमसीसँग २०७८ सालको असार अर्थात् १० जुलाई २०२१ भित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी सम्झौता भए पनि कोभिडका कारण निर्माण कार्य एक वर्ष धकेलियो। चिनियाँ निर्माण कम्पनी सीएएमसीले २०७९ साल पुस १७ गते (१ जनवरी २०२३) मा पोखरा विमानस्थल नेपाललाई हस्तान्तरण गरेको हो।

तर, अहिले त्यो ऋण बढेर २८ अर्ब हाराहारी पुगेको छ। विमानस्थलको लागि चीनको एक्जिम बैंक (एक्सपोर्ट–इम्पोर्ट बैंक) ले २१५.९६५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने सहमति भएसँगै २०७२ साल चैत २० गते भएको सम्झौता अनुसार त्यसमध्ये २५ प्रतिशतमा ब्याज लाग्दैन।

ऋण सम्झौताका विस्तृत विवरणहरु बाहिर आएका त छैनन् तर ब्याजदर २ प्रतिशतमात्र भएको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुको भनाइ छ। २०७४ जेठ १७ बाट ऋण भुक्तानीको समयावधि २० वर्ष कायम गरिएको छ। ऋणको ब्याज र साँवा गरी २६ किस्ता तिर्ने सहमति बनेको छ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार २०७९ सालमा पहिलो किस्ताबाट सुरु हुने भुक्तानी २०९२ सालको पुस १ गते गएर टुंगिन्छ। तर, अहिलेसम्म ब्याजबापत् ९७ करोड ८२ लाख १४ हजार ९६८ रुपैयाँ भुक्तानी गरिएको सूचना अधिकारी भुलले जानकारी दिए।

पछिल्लो किस्ता तिरिएको छैन। चीनसँग ऋण लिएको सरकारले नागरिक उड्डयन प्राधिकरणसँग ५ प्रतिशत ब्याज लिने गरी २०७३ साल जेठ २३ गते पुरक सम्झौता गरेको छ। डलरको भाउ बढेसँगै ऋण रकम उकालो लाग्दै जानु तर यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुनुले यो विमानस्थल ‘भालुको कम्पट’ बन्दैछ भन्ने भाष्य निर्माण भएको छ।

त्यसलाई चिर्न ऋणलाई अनुदानमा बदल्नको लागि चीन सरकारसँग अनुरोध गर्नुपर्छ भन्ने आवाजहरु पनि उठ्न थालेका छन्। २०८० सालको असोज पहिलो साता तत्कालीन प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणताका पनि पोखरेलीहरुले यो माग उठाएका थिए।

चालु अंग्रेजी महिनाको डिसेम्बरम नै प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी चलिरहँदा कास्कीको कांग्रेस– एमाले राजनीतिक संयन्त्रले ऋणलाई अनुदानमा रुपान्तरण गर्नका लागि २ देशको कुटनीतिक पहल गर्न तथा अन्तराष्ट्रिय उडान सुनिश्चितताका लागि पनि संघीय सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

आइतबार भएको बैठकले त्पोखराको आर्थिक विकास एवं पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माणका लागि पनि संघ सरकारसँग माग गर्ने निर्णय गरेको एमाले कास्की इञ्चार्ज कृष्ण थापाले जानकारी दिए।

नौ बुँदे निर्णयमा व्यवस्थित पोखरा महानगरपालिका, आधुनिक पोखरा सहर निर्माण गर्न, ट्राफिक व्यवस्थापन गर्न तथा कास्की जिल्लाकै समग्र आर्थिक बिकासलाई प्रवद्र्धन गर्न, कास्कीका सबै पालिकालाई जोड्ने गरी चक्रपथको आवश्यकता देखिएकाले चक्रपथ एवं आधुुनिक बसपार्क निर्माणका लागि सम्बन्धित निकायलाई पहल गर्ने निर्णय पनि गरिएको छ।

यस्तै, कास्कीका सबै स्थानीय तहमा बिकास निर्माण र अन्य समस्या समाधानका लागि जिल्ला संयन्त्रले आवस्यक सहजीकरण गर्ने र दुई पार्टीबीचको सत्ता सहकार्यको आवश्यकतालाई जनताको तहसम्म पुर्‍याउन र सरकारले गरेको काम र योजनाको पक्षमा जनमत निर्माण गर्न आवश्यक सहजीकरण गर्ने निर्णयसमेत गरेको कास्की कांग्रेसका उपसभापति युवराज कुँवरले जानकारी दिए।

दुई पार्टीबीच सत्ता समीकरणपछि संघ, प्रदेश र जिल्लाहरुमा २ दलिय राजनीतिक संयन्त्रको गठन भएसँंगै कास्कीमा पनि यस्तो संयन्त्र बनेको हो। एमाले पार्टी कार्यालयमा एमाले केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको अध्यक्षतामा संयन्त्रको पहिलो बैठक बसेको हो।

बैठकमा एमालेका तर्फबाट थापासहित कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री र सचिव दर्शन लामा, नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र उपसभापति युवराज कुँवरको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad