बागलुङको ढोरपाटन नगरपालिका-२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण रोकिएको छ। नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो।
विसं. २०७५ मा ६ रोपनी जग्गा खरिद गरेर बनाउन थालिएको बसपार्कको पर्खाल सँधियारले भत्काएपछि काम रोकिएको नयाँ सहर आयोजना कार्यालयका प्रमुख रामृकष्ण गिरीले जानकारी दिए।
नापी विभागले निर्णय नसुनाएसम्म बसपार्क निर्माणको काम अगाडि नबढ्ने उनले बताए। सँधियारले २० मिटर पक्की पर्खाल भत्काएपछि काम रोकिएको हो।
हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ। सात करोडको लगानीमा बन्ने बसपार्कमा रु दुई करोड २६ लाख खर्च भइसकेको छ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको नजिक रहेको भुजीखोला किनारमा तटबन्धन गरेर निर्माण थालिएको बसपार्कमा हाल टर्मिनलको आधा काम पूरा भएको छ। बसपार्कमा ३० वटा जिप, २० वटा बस र केही साना सवारीसाधन राख्न सकिने छ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले यथाशीघ्र विवाद निरुपण गरेर निर्माण पुनः थाल्नुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया