कास्कीका सूर्यदर्शनसहितका सहकारीपीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र कार्यकर्ताहरूले घरघरर पुगेर आफूहरूलाई धम्क्याउने र प्रभावित पार्ने प्रयत्न गरेको आरोप लगाएका छन्।
सूर्यदर्शन सहकारीपीडित संघर्ष तथा तदर्थ समिति र सहकारीपीडित संघ कास्कीले बुधबार प्रेस विज्ञप्ति जारी गरी रास्वपा नेता तथा कार्यकर्तालाई उक्त आरोप लगाएका हुन्।
पीडितहरूले रास्वपासँग १० महिनाअघि नै पार्टी सभापति रवि लामिछानेविरुद्ध किटानी जाहेरी पर्दा के हेरेर बसेका थियौ भन्ने प्रश्न पनि गरेका छन्।
अहिले पोखराका चोकचोकमा गरिएका आन्दोलन सहकारीपीडितविरुद्ध भएको जिकिर पनि विज्ञप्तिमा गरिएको छ।
पीडितहरूले आफ्ना पक्षमा उभिन र बिहीबार पोखराको मुस्ताङचोकमा आयोजना हुने विरोध र्यालीमा सहभागी हुन नागरिक समाज र राजनीतिक पार्टीसँग अनुरोध पनि गरेका छन्।

पूर्वगृहमन्त्रीसमेत रहेका अफ्ना पार्टी सभापति रविलाई फसाइएको भन्दै रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्दै छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई यही कात्तिक ३ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखिएको छ।
यस क्रममा जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा लामिछानेसँग बयान लिन सुरु गरिएको छ। मंगलबार उनीसँग ३ घण्टा बयान लिइएको छ।
पोखरामा अनुसन्धान सकेपछि बुटवलको सुप्रिम सहकारी ठगीमा पनि अनुसन्धान गर्न उनलाई बुटवल लगिने प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया