सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने पक्राउ परेलगत्तै पीडितहरूले अनुसन्धान प्रभावित पार्ने गरी प्रदर्शनमा नउत्रन रास्वपा कार्यकर्तालाई आग्रह गरेका छन्।
उनीहरूले रास्वपा कार्यकर्ताहरू नाराबाजीमा उत्रिए त्यसको विरुद्धमा आफूहरू पनि सडकमा आउने चेतावनी पनि दिएका छन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरेनन् भने केही गर्दैनौँ। अनुसन्धान प्रभावित पार्न खोजे भने,जिल्ला कार्यालय वा अदालत अगाडि नाराबाजी गरे भने हाम्रो विरुद्ध हो भन्ने बुझ्छौँ,’ सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिका संयोजक किरण श्रेष्ठले भने, ‘यो देशमा मन्त्रीहरू, न्यायाधीश पनि जेल परेका छन्। रवि लामिछाने भगवान हैनन्। उहाँले अनुसन्धानलाई सघाउनै पर्छ। दोष नदेखिए उहाँ छुट्नु हुन्छ नै। त्यसपछि उहाँ प्रधानमन्त्री नै बने पनि हामीलाई के टाउको दुखाइ भयो र? सहकारीबाट गोर्खा मिडियामा गएको पैसा फिर्ता आउनुपर्छ र त्यसमा रविको कति भाग पर्छ, त्यो उहाँले फिर्ता गर्नुपर्छ भन्ने हाम्रो माग हो।’
यसअघि पूर्व डिआजी छविलाल जोशी पक्राउ परेको बेला कास्की जिल्ला अदालत बाहिर सहकारी पीडितको ब्यानर बोकेर रास्वपा कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएको दृष्टान्त दिँदै उनले यो पटक त्यस्तो नगर्न आग्रह गरे।
‘पोखरालाई शान्त राखौँ। आन्दोलन गरेर वातावरण प्रदूषण गर्ने काम नगरौँ,’ उनले थपे।
Shares

प्रतिक्रिया