ad ad

गण्डकी


च्याङ्ग्रा बेच्न छोर्वे र कर्माको रारादेखि पोखरासम्मको यात्रा

च्याङ्ग्रा बेच्न छोर्वे र कर्माको रारादेखि पोखरासम्मको यात्रा

नेपालखबर
असोज १९, २०८१ शनिबार १२:३९, काठमाडौँ

उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए। साढे दुई सय च्याङ्ग्रा लिएर आफू ८ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए।

मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुगेका उनका साथमा दुई साथी पनि थिए। लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दसैँको मुखमा च्याङ्ग्रा बेच्न लुम्ले आइपुगेका हुन्। च्याङ्ग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ। 

लामाले दसैँमा च्याङ्ग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन। विगत एक दशकदेखि नियमित जसो च्याङ्ग्राको व्यापार गर्न उनी मुगुबाट यहाँ आउँछन्। 

‘यसपाली दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ’, उनले भने। लामो समयदेखि यहाँ आइ च्याङ्ग्रा बिक्री गर्दै आएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ। मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उनले १८ वटा च्याङ्ग्रा बिक्री भइसकेको बताए। 

लामाभन्दा अगाडि केही व्यापारीले च्याङ्ग्रा पोखरा पुर्‍याइसकेका छन्। अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्याङ्ग्राको माग बढेको उनको अनुभव छ। यही असोज २२ गतेसम्म सबै च्याङ्ग्रा बिक्री गरेर गाउँ फर्कने उनको योजना छ। 

मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्याङ्ग्रा व्यापारमा बर्सौं बिताएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको उनले बताए। उनले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्याङ्ग्रा ल्याउँछन्। 

‘दसैँको बेला पोखरामा बस्ने दाजुभाइहरुले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरुलाई मासु खुवान पाउँदा हामीहरुलाई पनि खुसी लाग्छ’, लामाले भने, ‘राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने ?, केही न केही काम त गर्नु पर्‍यो।’

अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब १० देखि १२ हजार रुपैयाँले मूल्य घटाएको लामा बताउँछन्। लामाको व्यवसायिक साझेदार हुन् मुस्ताङका कर्मा लामा। उनले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताए।

यस वर्ष च्याङ्ग्राको अधिकतम मूल्य  ४० देखि ४५ हजार रुपैयाँ रहेको कर्माले जानकारी दिए। आफूहरुले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई ४२ हजार रुपैयाँमा दिने गरेको उनी बताउँछन्।

कर्मा भन्छन्, ‘देख्दा सुन्दा यसको मूल्य बढी भयो भन्ने लाग्नसक्छ तर तुलनात्मक रुपमा पोखरासम्म ल्याउँदा त्यस्तो महंगो होइन, पोहोर सालको दसैँमा ४८/५० हजार रुपैयाँ भन्थे अहिले ३८/४० हजार रुपैयाँमा पाउनुहुन्छ, गाउँमा भन्दा सहर बजारमा च्याङ्ग्राको माग बढी हुने हुँदा हामीहरुले हिमालमै पुगेर ल्याउने गरेका छौँ।'

दसैँका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन्। यस वर्ष पनि धेरैको सङ्ख्यामा व्यापारी मुस्ताङ पुगी च्याङ्ग्रा लिएर बजार पुग्न थालेका छन्।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .