देशभरि मनसुन सक्रिय भएसँगै हिमाली जिल्ला मनाङमा हिमपात भएको छ। माथिल्लो मनाङका टंकी, खाङ्सार, तिलिचो बेसक्याम्प, थोराङ्ला भञ्ज्याङ, नार, फुलगायत क्षेत्रमा हिमपात भएको हो।
हिमपातले माथिल्लो मनाङमा पर्यटक तथा स्थानीयको जनजीवन प्रभावित बनेका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए। उनका अनुसार ङिस्याङ गाउँपालिकाको हुम्डेबाट माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ।
हिमपात भएपछि पदयात्री, पर्यटक, स्थानीयलाई सडक तथा सवारीसाधनको अवस्था विश्लेषण गरेर मात्र यात्रा तय गर्न सूचित गरिएको प्रजिअ आचार्यले बताए। उनले भने, ‘हिमापत हुन सुरु भएको भएको छ, हालसम्म अधिक हिमपात भने भएको छैन। यहाँ रहेका पर्यटक रमाइरहेका छन्, तर यात्रा नगर्न आग्रह गरिएको छ।’
बिहीबार साँझदेखि लगातार वर्षा हुँदा शुक्रबार रातिदेखि हिमपात भइरहेको हो। नार र फू गाउँका साथै मेता र गाउँपालिका केन्द्र च्याखुमा पनि हिमपात भइरहेको नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले जानकारी दिए। उनले भने, ‘नारमा डेढ फिट र फूमा छ इन्च हिउँ जमेको छ।’
किसानले यतिबेला करु काटेर खेत र छतमा सुकाएका थिए। हिउँ छिट्टै पर्दा आलुबालीलाई पनि हिउँले पुरेको छ। यसले किसानमा चिन्ता थपिएको छ।
‘काङ्ला पास गर्ने पर्यटक नारमा रोकिएका छन्, हिमलुङ हिमाल चढ्न जाने पर्यटक भने हिँडेको गएका छन्, यो हिउँ पर्ने समय नभए पनि हिमपात सुरु भएसँगै चिसो बढेको छ’, पाख्रिनले भने।
जिल्लास्थित पर्यटन व्यावसायी समितिका अध्यक्ष विनोद गुरुङले मनाङ गाउँमाथि हिउँ परिरहेकाले जनजीवन प्रभावित बनेको बताए। हिउँले पर्यटक आवागमनलाई खासै फरक नपरे पनि किसानलाई बाली स्याहार्न समस्यामा पारेको उनले उल्लेख गरे। उनले, ‘समय अघि हिउँ परेपछि किसानलाई गहुँ, फापरलगायत अन्नबाली थन्क्याउन सास्ती भएको हो।’
Shares

प्रतिक्रिया