सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न माग राखेर सुरु गरेको आन्दोलनका कारण पोखराको पृथ्वीचोक क्षेत्रमा तनावपूर्ण बनेको छ।
रातो प्लेटका दुई पाँग्रे र चार पाँग्रे सवारी साधनले राइड सेयारिङ सेवा सञ्चालन गरेको विरोधमा यातायात व्यवसायीहरू विरोधमा उत्रिएका हुन्।
उनीहरूले आइतवारसम्म आफ्नो माग पूरा नभए आन्दोलन सुरु गर्ने र सार्वजनिक यातायात नै ठप्प पार्ने चेतावनी दिएका थिए।
यसै क्रममा राइड शेयरिङविरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले पोखराको पृथ्वीचोकमा ग २० प ३९७३ को स्कुटर तोडफोड गरेका छन्।
आन्दोलित सार्वजनिक यातायात व्यवसायीले पोखरामा दुई पत्रकारमाथि समेत आक्रमण गरेका छन्।
व्यवसायीको आन्दोलनको भिडिओ खिचिरहेका पत्रकारद्वय विना थापा मगर र सुरज थापा मगरमाथि पोखराको पृथ्वीचोकमा आक्रमण भएको हो।
अन्दोलनकारीले सुरज सवार ग२०प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन्।
पृथ्वीचोकमा पर्यटक बस चलाएको भन्दै बसमाथि तोडफोड गर्न लागेका बेला क्यामेराले दृश्य कैद गर्दैगर्दा आफूहरुमाथि आक्रमण भएको सञ्चारकर्मी सुरजले बताए।
घटनापछि आक्रमण गर्नेविरुद्ध जाहेरी लिएर पत्रकारहरू जिल्ला प्रहरी कार्यालयमा पुगेका छन्।
सञ्चारकर्मी थापाले आन्दोलन गर्ने क्रममा आन्दोलनकारीले पर्यटक बसमा आक्रमण गरेपछि रिपोर्टिङ गर्ने क्रममा आफूमाथि कुटपिट गरेको बताए।
त्यस्तै कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले पत्रकारलाई कुटपिट गर्ने कार्यमा संलग्न ४ जनालाई पक्राउ गरेको बताए। उनीहरूमाथि अनुसन्धान भइरहेको पनि उनले बताए।
व्यवसायीहरूले शान्तिपूर्वक आन्दोलन गर्ने भनेपनि हातपात र आक्रमणमा उत्रिएको उनले जानकारी दिए। नियन्त्रणमा लिइएका चार जनाले नै मादक पदार्थ सेवन गरेको पाइएको पनि बताए।
यातायात व्यवसायीले निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने माग राखेका छन्।
यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरूको माग छ।
Shares

प्रतिक्रिया