ad ad

गण्डकी


अन्नपूर्ण आरोहणका ७४ वर्ष : ४५० जना चुचुरोमा

सगरमाथामा ८ हजार, मनास्लुमा ३ हजार
अन्नपूर्ण आरोहणका ७४ वर्ष : ४५० जना चुचुरोमा

वाशुदेव मिश्र
जेठ २१, २०८१ सोमबार २१:५३, पोखरा

सन् १९५० को जुन २ का दिन अन्नपूर्ण पहिलोको हाइक्याम्प रहेका फ्रान्सेली आरोहीद्वय मौरिस हर्जोग र लुइस लिचेनेल ८ हजार ९१ मिटर अग्लो चुचुरो चुमेको कल्पना गर्दै थिए।

हावाको दूरीमा ७ हजार किलोमिटरभन्दा टाढाको अर्कै गोलाद्र्धबाट भारत र भारतबाट पैदलयात्रा गर्दै बागलुङ पुगेको मौरिसको टोलीले ८ हजारभन्दा अग्लो अन्नपूर्ण प्रथमको आरोहण गर्ने निर्णय गर्‍यो।

त्योभन्दा पहिला ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण भएकै थिएन। फ्रान्सेली नागरिक मौरिस इतिहास कोर्न चाहन्थे र त्यो बेला अन्नपूर्णलाई नै संसारको अग्लो हिमाल मानिन्थ्यो।

२५० जना भरियासहित उनी मुस्ताङ पुगे। स्थानीयले अन्नपूर्ण जाने बाटो राम्रो नभएको बताए पनि उनी रोकिएनन्। हाल म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ मा पर्ने नारच्याङबाट आधार शिविरको यात्रा अगाडि बढाए। धौलागिरिको परिक्रमा गर्दै निलगिरिको फेदी भएर उनी त्यता लागेका थिए।

अन्ततः उनको टोलीले जुन ३ को बिहान १९५० मा उत्तरी मोहोडाबाट अन्नपूर्ण प्रथमको सफल आरोहण गर्‍यो। मौरिस र लुइसले चुचुरो त टेके तर हिउँले मौरिसको हातखुट्टा खाइदियो।

फ्रान्स सरकारले चाहिँ उनको यो सफलतामा तीन दिने राष्ट्रिय उत्सव नै मनायो। यता नेपालका तत्कालीन श्री ३ महाराज चन्द्र शमशेरले उनलाई ‘गोर्खा क्रस’ले सम्मानित गरे।  

आरोहणको दुई वर्षपछि  मौरिसले अन्नपूर्ण आरोहणका अनुभूति समेटेर ‘अन्नपूर्ण’नामक पुस्तक नै लेखे। किताब सार्वजनिक भएकै हप्ता ४० हजार प्रति बिक्री भयो। सन् २०१२ मा हर्जोगको निधन हुँदासम्म अन्नपूर्णको बिक्री करोडौँको संख्यामा भइसकेको थियो।

नेपाल बाहिरी विश्वको लागि सन् १९५० मा मात्र खुल्ला भएको हो। नभए यो हिमाली राज्य केही बेलायती र केही घुमन्ते भिक्षुहरुको लागिमात्र स्वर्ग थियो। तर, नेपाल बाहिरी विश्वको लागि खुलेसँगै यसको चर्चा विश्वभर हुन थाल्यो।

हिमाल र आरोहणकै माध्यमबाट नेपालले विश्वमा चर्चित हुने अवसर पायो। यसको श्रेय पहिलो चरणमा मौरिस र उनको टिमलाई जान्छ। उनले लेखेको किताब पढेर धेरै विदेशीहरु नेपाल घुम्न आए। यसले नेपालको पर्यटन उद्योगको जग पनि बसायो।

अन्नपूर्णमा पहिलो पाइला भन्ने शीर्षकको सो पुस्तकमा हर्जोगले आफू हिमालप्रति कति आशक्त थिएँ भन्ने पनि खुलाएका छन्। हिमाल चढ्दा मरिहालिन्छ कि भनेर विहेसमेत नगरेको उनले बताएका छन्। सफल आरोहणपछि मात्र उनले विहे गरे रे १ मौरिसले अन्नपूर्ण प्रथम चढेको ३ वर्षपछिमात्र तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले २९ मे १९५३ मा सगरमाथाको आरोहण गरेका थिए।

अन्नपूर्ण आरोहणको लागि दुरुह हिमाल मानिन्छ। ‘किलर माउण्टेन’ को उपमा पाएको यो हिमाल आरोहणको लागि यो वर्षको वसन्तमा २५ जनाले मात्र अनुमति लिएको पर्यटन विभागअन्तर्गतको पर्वतारोहण महाशाखाका आरोहणको दृष्टिले जेठो यो हिमालमा अघिल्लो वर्ष अर्थात् सन् २०२३ मा ७ टोलीले अनुमति लिएका थिए।

पर्वतारोहण महाशाखाकी अधिकृत रुक्मिणी गुरुङका अनुसार सो वर्ष  अन्नपूर्ण ४ का लागि ४ र २ को लागि ५९ जनाले आरोहण अनुमति लिएका थिए। सोही वर्ष धौलागिरिमा ६० र गण्डकीमै रहेको मनास्लुमा ३०१ जनाले आरोहण अनुमति मागेका थिए।

पर्यटन विभाग, पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार यो वर्षको वसन्तयामको लागि ३ सय ३४ जनाले आरोहण अनुमति लिएका छन्। जसमध्ये ७४ जना महिला छन्।

सगरमाथाको लागि १ सय ४९ जना ल्होत्सेका लागि ४५, आमादब्बलमका लागि ३८, अन्नपूर्ण पहिलोका लागि २५ धौलागिरिका लागि १५, मकालुका लागि १०, जुगल प्रथम र जुगल दोस्रोका लागि १०/१० जनाले आरोहण अनुमति पाएको उनको भनाइ छ। तीमध्ये केहीले सफल आरोहण गरिसकेका छन्।

विश्वको १०औँ अग्लो हिमाल ‘अन्नपूर्ण–१ को उचाइ आठ हजार ९१ मिटर रहेको छ। सन् १९७७ को सरद ऋतु अर्थात् अक्टोबर १३ मा नेपाली आरोही सोनम ओलङ शेर्पाले सन् १९७७ को शरदयाममा अन्नपूर्णको सफल आरोहण गरेका थिए। सन्  २०२२ सम्म  यो हिमालमा ४०७ जनाले मात्र पाइला टेकेका छन्।

जबकि, सन् २०२२ सम्ममा ७ हजार ६२६ आरोहीले सगरमाथाको सफल आरोहण गसिकेका छन्। सन् २०१९ को मे २२ मा २२३  र २३ मा २१२ जनाले एकैदिन सगरमाथाको चुचुरो चुमेर कीर्तिमानी बनाएका थिए। सगरमाथामा  ५१९ जना महिला नै पुगेका छन्।

गण्डकी प्रदेशमै रहेको विश्वको  सातौँ अग्लो हिमाल धवलागिरि उचाइ चाहिँ  आठ हजार १६७ मिटर रहेको छ। सन् १९६० को, १३ मे मा स्वीटरल्यान्डका पर्वतारोहीहरू कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर र नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले पहिलोपटक यो हिमाल चढेका थिए।

सन् १९६० मा सफल आरोहण भए  पनि त्यसको १० वर्षसम्म कसैले पनि धौलागिरितिर चिहाएनन्। बल्ल सन् १९७० को सरदकालीन समयमा जापानका टेत्तुसी कावाताले सो हिमालको दोस्रो सफल आरोहण गरे। उनीसँगै लाक्पा तेन्जिङ शेर्पाले पनि धौलागिरिको चुचुरो चुमेका थिए।

सन् १९७२ मा ३२ जना,सन् २०१७ मा ५७,२०२१ मा ४८ जनाले मात्र यो हिमाल आरोहण गरेका पर्यटन विभाग,पर्वतारोहण शाखाकी अधिकृत रुक्मिणी गुरुङले जानकारी दिइन्। उनका अनुसार सन् २०२२ सम्म ६३८ जनाले धौलागिरिको सफल आरोहण गरिसकेका छन्।

विश्वको आठौँ अग्लो अर्थात् आठ हजार १६३ मिटर रहेको मनास्लु हिमालमा चाहिँ  सन् १९५६ को  मे ९ मा पहिलो पटक मानव पाइला पुगेको थियो। जापानीज पर्वतारोहीहरू तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले पहिलो पटक मनास्लु चढेर कीर्तिमान बनाएका थिए। हालसम्म २ हजार ७१६ जनाले मनास्लुको सफल आरोहण गरिसकेका छन्। यो हिमाल गोर्खा जिल्लामा पर्छ।

आरोहण उत्सव
आरोहणको दृष्टिले विश्वकै जेठो हिमाल भएको गण्डकी प्रदेशमा आरोहणका गतिविधिहरु भने कम छन्। सगरमाथा क्षेत्रको छायाँमा पर्नु तथा आरोहणका निम्ति  हिमालहरु असजिला हुनु यसको कारक रहेको पर्यटनसम्बद्ध विज्ञहरु बताउँछन्।

त्यसो त, आरोहणको लागि आवश्यक पर्ने जनशक्ति यही प्रदेशमा नहुनुलाई पनि समस्याको रुपमा लिन सकिने नेपाल पर्वतारोहण संघ कास्कीका निर्तमान अध्यक्ष शेषकान्त शर्माले बताए। प्रवर्द्धनात्मक कार्यक्रमले आरोहण गतिविधि बढाउन सकिने उनको भनाइ छ।

प्रवर्द्धनको उद्देश्यसहित अन्नपूर्ण दिवसको छेको पारेर आइतबार गण्डकी प्रदेशम विभिन्न कार्यक्रम चाहिँ आयोजना भएका छन्। श्रीलंका, इजरायल,थाइल्याण्ड,बेलायत, पाकिस्तान,सार्कका महासचिव, युएनडीपीलगायतका अन्तर्राष्ट्रिय नियोगका प्रमुखहरुलाई पोखरा क्षेत्रको हाइकिङ गराइयो। नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयले यसको चाँजोपाँजो मिलाएको हो।

कुटनीतिज्ञहरुले पोखराको उत्तरी गाउँ धम्पुसदेखि धितालसम्मको पदयात्रा गरेका थिए। पदयात्रामा सामेल भएका नेपालका लागि बेलायती राजदूत रब फेनले पर्यटन उद्योगबाट नेपालले ठूलो लाभ लिनसक्ने बताए।

आफू अन्नपूर्ण पदयात्रामा जाने तयारीमा रहेको पनि उनको भनाइ थियो। जुन ३ को अवसरमा अन्नपूर्णको सफल आरोही पूर्णिमा श्रेष्ठ, दावा योङजोम शेर्पा र लाक्पा डेन्डी शेर्पालगायतलाई सम्मान गरिँदैछ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म पर्वतीय म्याराथन भइरहेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नारच्याङ क्षेत्रमा पनि अन्नपूर्ण दिवस मनाइँदै गरेको ट्रेकिङ एजेन्सिज् एसोसियन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्म पन्थीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .