ad ad

गण्डकी


पोखराको प्राइम सहकारीमा पनि बचतकर्ताको रकम हिनामिना

पीडितलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध
पोखराको प्राइम सहकारीमा पनि बचतकर्ताको रकम हिनामिना

वाशुदेव मिश्र
जेठ १, २०८१ मंगलबार १८:४, पोखरा

पोखराको अर्को ठूलो कारोबार गर्ने प्राइम बहुउद्देश्यीय सहकारीले पनि बचतकर्ताको रकम हिनामिना गरेको पुष्टि भएको छ। पोखरा–४,गैह्रापाटनमा रहेको सो सहकारीका बचतकर्ताहरुले निक्षेप फिर्ता नपाएको भन्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा उजुरी गरेपछि यो रहस्य खुलेको हो।

बचतकर्ताको उजुरीपछि सहकारी रजिष्ट्रारको कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्की गुहारेको छ। सहकारी रजिष्ट्रारको कार्यालयले सो सहकारीका संचालक समितिका पदाधिकारीले बचतकर्ताको रकम ठगी गरेको पुष्टि भइसकेको भन्दै प्रहरीलाई अनुसन्धानमा सघाउन मंगलबार नै पत्राचार गरेको हो।

सहकारी रजिष्ट्रारको कार्यालयको पत्रपछि कास्की प्रहरीले बचतकर्तालाई प्रहरीको सम्पर्कमा आउन अनुरोध गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पीडितहरुलाई यही जेठ २० गतेभित्र उजुरी दिन भनेको छ।  

प्रहरीले बचत रकम फिर्ता नपाएका पीडित व्यक्तिहरुलाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्रलगायतका प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजसहित सम्पर्कमा आउन अनुरोध गरेको हो।

सो सहकारीबाट कतिजनाको कति रकम हिनामिना भएको छ भन्ने त खुलेको छैन तर पोखराको मुख्य बजार क्षेत्रमा संचालित भएकाले रकम सानो नभएको अनुमान गरिएको छ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा ८ वटा सहकारीविरुद्ध उजुरी परेको छ। प्रदेशमा आएको उजुरीको आधारमा यी सहकारी समस्याग्रस्त देखिएका हुन्।

तर, सहकारी पीडितहरुले भने पोखरामा मात्रै पनि १५ वटाभन्दा बढी सहकार समस्याग्रस्त रहेको जिकिर गरेका छन्। प्रदेश क्षेत्राधिकारभित्र पर्ने  कास्कीका दुई सय २८ सहकारी छन्। जसमा सक्रिय १८५ तथा अध्यावधिक भएका १८० सहकारी रजिष्ट्रार कार्यालय गण्डकीले जनाएको छ।

सहकारी पीडित संयुक्त संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले मंगलबारमात्र जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको सूचनाको हवाला दिँदै भने, ‘सूर्यदर्शन, इमेज,शिवशिखर त भइगए, बचतकर्ताको रकम हिनामिना गरेर भागाभाग गर्ने, बचतकर्तालाई उजुरी गरिस् भने राम्रो हुँदैन भन्दै धम्क्याएर अफिस खोलेर बस्ने दर्जनौंँ सहकारी पोखरामै छन्। प्राइमको कुरा त आइहाल्यो।’

पोखराकै मित्रमिलन, विन्ध्यवासिनी यसअघि नै संकटमा परिसकेका सहकारी हुन्। इमेज, सूर्यदर्शन र शिवशिखरले चाहिँ यहाँ शाखा खोलेर कारोबार गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .