होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको 'जाऊँ है पोखरा' अभियानअन्तर्गत भैरहवामा शनिवार आयोजित कार्यक्रममा गण्डकी प्रदेश घुमघामका पर्यटकीय प्याकेज सार्वजनिक गरिएको छ।
संघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यसपटक पश्चिम नेपाललाई लक्षित गरी शुक्रबारबाट सुरु भएको अभियानअन्तर्गत संघले ५ वटा प्याकेज सार्वजनिक गरेको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए।
प्याकेजअन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा–मुक्तिनाथ र पदयात्रा प्याकेज रहेका छन्। होटलमा बस्ने, खाने र घुम्नेसम्बन्धी यी प्याकेज दुई रातदेखि चार रातसम्मका र तीन हजारदेखि २६ हजार मूल्यबीचका रहेका छन्।
देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको जाउँ है पोखरा अभियानको प्रभाव सकारात्मक पर्दै गएको र अभियानकै कारण देशैभर नेपालीमा घुम्ने बानीको विकास भएको अध्यक्ष सुवेदीले जानकारी दिए।
अहिले पोखरा पुग्ने पर्यटकमध्ये ३५ प्रतिशत हिस्सा नेपालीको रहने गरेको उनले सुनाए।
पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यो क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको संघले जनाएको छ।
Shares

प्रतिक्रिया