ad ad

गण्डकी


पोखराको लेकसाइडमा सडक महोत्सवको रजत संस्करण तयारी

पोखराको लेकसाइडमा सडक महोत्सवको रजत संस्करण तयारी

नेपालखबर
मंसिर १०, २०८० आइतबार १९:२१, पोखरा

पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आजभन्दा २५ वर्षअघि बस्ती पातलो थियो, फेवाताल कञ्चन थियो अनि पर्यटकीय गतिविधि पनि धीमा नै थियो।

अन्नपूर्ण क्षेत्र घुम्ने र फर्कनेहरु पोखरालाई मुकाम बनाउँथे तर अंग्रेजी नयाँवर्ष आउनासाथ उनीहरु भारततिर लाग्थे। अंग्रेजी नयाँवर्षमा लेकसाइडमा मनोरञ्जनात्मक गतिविधि नहुनु र भारतको गोवाले नयाँवर्ष भव्य रुपले मनाउने भएकाले पर्यटकहरुको रोजाइ गोवा हुन्थ्यो।

पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले अंग्रेजी नयाँवर्षमा गोवामा मानव सागर उर्लेको देखेका थिए।

भयो कस्तो भने, हिउँदे बिदा मनाउन पोखरा आएका राजा वीरेन्द्रले एकदिन गणेशसँग पर्यटकलाई पोखरामै अड्याउने उपाय के हुन्छ भन्ने प्रश्न राखेछन्। राजाले पनि चासो देखाएपछि गणेशको दिमागमा अंग्रेजी नयाँवर्षको छेकोमा सडक महोत्सव आयोजना गनुपर्ने कुरा आएछ।

रेष्टुरेष्ट एण्ड बार एसोसियसन (रेवान) पोखराका अध्यक्षसमेत रहेका उनले साथीहरुसँगको सरसल्लाहपछि सडक महोत्सव आयोजनाको तारतम्य मिलाएछन्।

उनै गणेशले सुरु गरेको पोखरा महोत्सव अहिले नेपालकै सबैभन्दा बढी सहभागिता हुने ‘सडक महोत्सव’ बनेको छ। ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारासहित सुरु भएको यही सडक महोत्सवको रजत संस्करण आउँदो पुस १२ देखि १६ गतेसम्म आयोजना हुने भएको छ।

महोत्सवका संयोजक तथा रेबानका प्रथम उपाध्यक्ष विश्वराज पौडेलका अनुसार पोखराको लेकसाइड क्षेत्रमा करिब ३ किलोमिटर क्षेत्रमा आयोजना हुने महोत्सवको रजत संस्करण भव्य हुनेछ।

महोत्सवअन्तर्गत सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरीगीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेसलगायतका मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .