ad ad

गण्डकी


पोखराबाट सोझै मुक्तिनाथ नपुग्नू, झ्याप्पै ‘लेक लाग्छ’

‘बाटो खुल्यो, मोटर चल्यो, लेक लाग्ने जोखिम बढ्यो’
पोखराबाट सोझै मुक्तिनाथ नपुग्नू, झ्याप्पै ‘लेक लाग्छ’

वाशुदेव मिश्र
असोज २८, २०८० आइतबार ६:५६, पोखरा

मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ समुन्द्री सतहबाट ३ हजार ७१० मिटर र कागबेनी २ हजार ८०४ मिटरको उचाइमा छ। मध्यान्न १२ बजेबाट चिसो हावा चल्न सुरु हुने सदरमुकाम जोमसोम नै २ हजार ६ सय मिटर र मुस्ताङकै तल्लो भेकमा पर्ने कालीगण्डकीका बगर र बेंसीको उचाइ अक्सर २ हजार मिटर वरपर रहेको छ। 

पहिला नुन बोक्नेहरू हिँडेरै यो मुक्तिनाथ र उपल्लो मुस्ताङसम्म पुग्थे। पदयात्रा पर्यटनको विकासपछि भने कास्कीको नयाँपुलबाट पदयात्रा सुरु हुन्थ्यो। पर्यटकहरू पहिलो दिन उकालो लाग्दै २४ सय ७४ मिटर उचाइको म्याग्दीको पुनहिल पुग्थे। पुग्न नसक्नेहरू बाटोमै पनि सुस्ताउँथे।

त्यताबाट उकालो लाग्ने पर्यटकहरू घासा, तातोपानी मार्फा हुँदै जोमसोम पुग्दा करिब ९ दिन लाग्यो। पदयात्रा पर्यटनकर्मीहरू त्यही अनुसासरको प्याकेज बनाउँथे। नेपाली धार्मिक पर्यटक भने ६६९ मिटर उचाइमा रहेको म्याग्दीको बेनीबाट मुस्ताङको पहिलो दिन लेते, दोस्रो दिन मार्फा, तेस्रो दिन जोमसोम हुँदै पाँचौं दिन मुक्तिनाथ पुग्थे। उकालो चढ्न नसक्नेहरुका लागि यो यात्रा अझ लामो हुन्थ्यो।

बलिया–बाङ्गाहरुको कुरा चाहिँ फरक हुने नै भयो! धार्मिक हुन् वा प्रकृतिप्रेमी विदेशी पदयात्री एकनासले पाइला चाल्दै अगाडि बढ्थे। देख्दा लाग्थ्यो–उनीहरुलाई हतार छैन। 

तर, एउटा सत्य के थियो भने–जति उक्लँदै गयो, त्यति नै बास बस्ने ठाउँको उचाइ बढी हुन्थ्यो। 

हिँड्दै जाँदा उनीहरूको शरीरले त्यहाँको हावापानी पचाइसकेको हुन्थ्यो र मुक्तिनाथको उचाइमा पुग्दा पनि सहज महसुस गर्थे। त्यति हुँदाहुँदै पनि कतिपयलाई चाहिँ लेक लाग्थ्यो।

लेक लाग्दा कम उचाइमा झर्नुपर्छ भन्ने ज्ञान त हुने नै भयो, त्यसका अलावा उनीहरुसँग टिम्बुर र लसुनका पोका–पुन्तुरा पनि हुन्थे। लेक लागेमा टिम्बुर  र लसुन चपाइहाल्थे। 

तर, अहिले समय बदलिएको छ। मुस्ताङ त के कुरा! उपल्लो मुस्ताङसम्म पनि सडक बनेको छ।

बिहान समुद्र सतहबाट ८२२ मिटर उपचाइमा रहेको पोखराबाट हिँडेको यात्रु साँझ ५ बजे अगावै २२० किलोमिटर पार गर्दै २ हजार ६ सय मिटर उचाइको जोमसोम पुग्छन्।

अर्थात् गर्मीबाट सोझै लुगलुग कपाउने चिसो भूमिमा पाइला राख्छन्। पर्यटक मुस्ताङ पुग्नु खुसीकै कुरा हो।

तर, एक्कासी उच्च हिमाली भेगमा पुगेका पर्यटकहरूमा लेक लाग्ने समस्या देखिन्छ। जसले गर्दा उनीहरूको ज्यान जोखिममा पर्नेमात्र हैन मृत्युसमेत हुनेगर्छ। अघिल्लो हप्तामात्र लेक लागेर ज्यान गुमाएका ३ जना पर्यटक यसको प्रमाण हुन्।

मुस्ताङ प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीनेश गौतमका अनुसार असोजको पछिल्लो हप्तामा मात्र लेक लागेर मुस्ताङमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना, भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय रेवतीको ज्यान गयो। उनीहरूको लेक लागेर मृत्यु भएको हो।

उनका अनुसार वातानुकुलित गाडीबाट सयर गरेर त्यहाँ पुग्नेहरू हाफप्यान्ट र टिसर्टमै हुन्छन्।

‘हिँडेर आउनेहरुले त चिसो र हावा पचाइसकेका हुन्छन् तर एक्कासी हिमाली भेगमा आउँदा उनीहरुमा समस्या देखिन्छ,’ उनले भने, ‘अझ मुक्तिनाथ आउने भारतीय पर्यटकहरू त पाका उमेरका हुन्छन्। उनीहरूलाई लेकले समात्छ।’

उनले उच्च हिमाली भेगमा हुने समस्याबारे मुस्ताङ प्रवेशद्धार घाँसामै रोकेर प्रहरीले जानकारी पस्कने गरेको पनि सुनाए।

‘प्रहरीले घाँसामै रोकेर सोझै मुक्तिनाथ नजानुहोस्, बाक्लो कपडा लगाउनुहोस् भन्ने जानकारी दिन्छ,’ उनले थपे, ‘चेन्नइ, तमिनाडुतिरबाट आउने पर्यटकहरूले त हिन्दी पनि नबुझ्ने समस्या हुन्छ, हामीले गाइडलाई सम्झाउने हो।’

मुस्ताङ अस्पतालमा मेडिकल सुपरीटेण्टेण्ट (मेसु) डा. तेजेश नेपालका उच्च हिमाली भेगमा अक्सिजन कम र बढी चिसो हुन्छ। रैथानेहरूले त्यहाँको मौसम पचाइसकेका हुन्छन् तर बाहिरबाट एक्कासी उच्च पहाडी वा हिमाली भेगमा आउँदा लेक लाग्ने समस्या हुन्छ।

उनका अनुसार बोलीचालीको भाषामा ‘लेक लाग्ने भनिए’ पनि  डाक्टरी भाषामा भने यसलाई हाइअल्टीच्यूट इलनेस वा एक्युट माउण्टेन सिकनेस ( एएमएस) भनिन्छ। उचाइमा पुग्दा टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने र पखाला चल्नु यसका लक्षण हुन्।

अग्लो ठाउँमा अक्सिजनको कमी हुँदा त्यसले शरीरका विभिन्न भाग र खासगरी श्वासप्रश्वास प्रक्रियामा असर पुर्‍याउँछ। मस्तिष्क र फोक्सोमा अक्सिजन नपुगेपछि पानी जम्ने प्रक्रिया सुरु हुन्छ र समयमै उपचार नगरिए मान्छेको मृत्यु हुनसक्छ। 

‘लेक लाग्दाको सुरुमा उपचार भनेको त्योभन्दा कम उचाइको ठाउँमा झर्ने हो,’ उनले भने, ‘त्यसपछि अवस्था हेरेर अक्सिजन दिने र अन्य उपचार गरिन्छ।’

उनका अनुसार श्वासप्रश्वाससम्बन्धी समस्या भएका र बढी उमेरका व्यक्तिलाई उचाइमा पुग्दा लेक लाग्छ । त्यसो त, समथर भागबाट एक्कासी उचाइमा पुग्दा यो समस्या आउने धेरै सम्भावना हुन्छ । 

उनको भनाइमा मुस्ताङ सदरमुकामसमेत रहेको घरपजोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कर्णबहादुर थकाली पनि सहमत छन्। उनका अनुसार एक दिनको हिँडाइमा ५ सय मिटरभन्दा उचाइको फरक पर्‍यो भने शरीरमा समस्या देखिन्छ। 

‘२४ सय मिटर माथिबाट लेक लाग्न सुरु हुन्छ। आज पोखराबाट हिँड्ने मान्छे सोझै मुक्तिनाथ पुग्दा त च्याप्पै समात्ने भयो नि,’ उनले भने, ‘अहिले जोमसोममात्र हैन एकैदिनमा अझै उपल्लो मुस्ताङसम्म पुग्नेहरू बढेका छन्, यसले गर्दा लेक लाग्ने समस्या बढीरहेको छ।’

अक्सर गाडीमा आउने भारतीय पर्यटकहरूमा लेक लाग्ने समस्या बढी देखिएको उनले सुनाए।

उनले यो समस्या समाधानको लागि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा पोखरालगायतकै नाकामा ‘सिकनेस इन्फरमेसन सेण्टर’ राख्न पनि सुझाए।

‘त्यसो भए व्यक्तिको जीवन रक्षा हुने भयो,’ उनले भने, ‘मुस्ताङमा नै २ दिनजति बसेर मुक्तिनाथ जाँदा यो क्षेत्रको पर्यटन पनि फस्टाउने भयो।’

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका पूर्वअध्यक्ष सुशील पौडेलले पछिल्लो समय एकैदिनमा मुस्ताङ र मनाङ पुग्ने प्रवृत्तिले मानवीय क्षति बढेको जिकिर गरे।

उनले गाडीबाट मनाङ र मुस्ताङ जाँदा सचेतता अपनाउन नसके अझ बढी मानवीय क्षति हुने र त्यसले नेपालको पर्यटन उद्योगकै बदनामी हुनसक्नेतर्फ बेलैमा ध्यान दिनुपर्ने तर्क पनि गरे। 

‘मुक्तिनाथसम्मै पिचबाटो जानु राम्रो हो तर आज मुक्तिनाथ पुगेर भोलि फर्कने ट्रिप चलाउँदा जोखिम बढेको छ,’ उनले भने, ‘मोटर बाटो गयो तर त्यसले विपत्ति पनि निम्त्यायो। गाडीमा मुुक्तिनाथ जानु नै छ भने पनि पहिलो दिन घासा, लेतेतिर थामिने, दोस्रो दिन कागबेनी र तेस्रो दिन मुक्तिनाथ पुगेर फर्कने खालको प्याकेज बनाउँदा राम्रो हुन्छ।’ 

राजमार्गमा तीव्र गतिमा गाडी चलाउँदा हुने दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीले ‘टाइम कार्ड’को व्यवस्था गरेजस्तै मुस्ताङ यात्रामा पनि सचेतनासहितको व्यवस्था गर्न सुझाए।

राजमार्गमा प्रयोग हुने ‘टाइम कार्ड’ भनेको छुटेको समय र पुग्नुपर्ने समय तोकिएको कार्ड हो। बाटोको अवस्था र यात्रुको सुरक्षालाई हेरेर त्यसमा पुग्नुपर्ने समय निर्धारण गरिएको हुन्छ।

उनले मिलन लामा र देवी घर्ती मगरले गाएको ‘बाटो खुल्यो, मोटर चल्यो जुम्ला कालीकोटको...’ भन्ने गीतलाई केही बिगारेर थपे, ‘बाटो खुल्यो, मोटर चल्यो, ट्रेकिङ मासियो, ज्यानको जोखिम बढ्यो।’

टान पश्चिमाञ्चलका अध्यक्ष धर्म पन्थी चाहिँ हिमाली क्षेत्रको भ्रमण चाहनेहरुलाई समय बढी छुट्टयाउन र सकेसम्म पदयात्रा नै गर्न सुझाउँछन्।

‘पदयात्राको रोमाञ्चकता गाडीबाट पाइँदैन, पदयात्रा गर्दा वातावरणसँग शरीर आफैं मिल्दै जान्छ,’ उनले पेशागत धर्म पालना गर्दै भने, ‘यद्यपि, समय छोटो हुने र तीर्थब्रत गर्नेहरुले पनि आफ्नो जीवनको ख्याल चाहिँ राख्नैपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .