एमाले गण्डकीको प्रथम अधिवेशनअन्तर्गत अहिले मतदान प्रक्रिया चलिरहेको छ। बिहीबार मध्यान्नबाट सुरु भएको मतदान प्रक्रियाअन्तर्गत हालसम्म ५७० प्रतिनिधिले मत खसालेको निर्वाचन कमिटीले जनाएको छ ।
अब करिब २ सय जना प्रतिनिधिहरु मत खसाल्ने लाइनमा भएको निर्वाचन कमिटीको अनुमान छ। एमाले गण्डकी अधिवेशनको लागि ९०७ जना प्रतिनिधि रहेका थिए।
सोमबार सुरु भएको अधिवेशन लम्बिँदा केही मतदाताहरू घर फर्केको एमालेका एक नेताले बताए।
गण्डकी प्रदेश अध्यक्षको लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी मैदानमा छन्। प्यानललाई निषेध गर्ने भनिए पनि उनीहरु दुवै प्यानलसहित नै मैदानमा उत्रिएका छन्।
शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ भने अधिकारीको पक्षमा स्थायी समिति सदस्य खगराज अधिकारी रहेका छन्। अधिकारीलाई एमाले महासचिव शंकर पोखरेलको पनि आशीर्वाद छ।
म्याग्दीका शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी र अर्का उपसचिवमा कास्कीका दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन्।
यता, लमजुङका अधिकारीको प्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, महिला उपसचिवमा कास्कीका मीना गुरुङ र अर्को उपसचिवमा म्याग्दीका सन्तोष रावलले उम्मेदवारी दर्ता गरेका छन्।
लेखा आयोगको अध्यक्षमा शर्माको प्यालनबाट नवलपुरका अमृत ज्ञवाली, उपाध्यक्षमा गोर्खाका गिरधारी सापकोटा र सचिवमा बागलुङका वीरबहादुर विकले उम्मेदवारी दिएका छन्।
अधिकारीको प्यानलबाट अध्यक्षमा बागलुङका रामबहादुर जिसी, उपाध्यक्षमा शिवजी पौडेल र सचिवमा वैकुण्ठनाथ आचार्यले उम्मेदवारी दिएका छन्।
५ पदाधिकारीसहित १६५ सदस्यीय समिति चुनिने भए पनि केही सदस्यहरु निर्विरोध भएकाले १३५ पदको लागि मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
मतदान नै नसकिएकाले सम्भवत्ः मतगणनाको कार्यक्रम शुक्रबार बिहान हुने पनि आयोगका एक सदस्यको भनाइ छ।
Shares

प्रतिक्रिया