गण्डकी


दृष्टिविहीनहरूले बादल छोए, मनको आँखाले हिमाल र फेवाताल चिहाए

दृष्टिविहीनहरूले बादल छोए, मनको आँखाले हिमाल र फेवाताल चिहाए

तस्बिरहरू : वसन्त शेर्पा


वाशुदेव मिश्र
साउन १५, २०८० सोमबार २१:२४, पोखरा

सृष्टि केसीले बादल नदेखेकी हैनन्। भक्तपुरकी उनी १० कक्षा पढ्दासम्म आकासको बादल, धर्तीको पानी, हरियाली र नदी–खोला सबैतिर दृष्टि घुमाउँथिन्। तर, एकाएक उनको आँखामा कालो बादल आइलाग्यो। गलत उपचारका कारण आँखाँको दृष्टि गुम्यो। सामान्य एलर्जीमा गलत औषधि चलाइएकाले एसएलसीको रिजल्ट आउँदासम्म संसारै अध्याँरो भयो।

आँखाको दृष्टि गुम्यो त के भयो! मनको दृष्टि छँदै थियो। मनको रोशनीबाटै उनले पढाइ पूरा गरिन्। दृष्टिविहीनको हितको लागि जीवन समर्पण गरिन्। ब्लाइण्ड रक्स नेपाल नामक संस्था स्थापना गरिन्। आकास छुने सपनालाई घनिभूत बनाइन्।

उनै सृष्टि एकहुल दृष्टिविहीनसहित पोखरामा झुल्किइन्। सपना थियो–आकासमा कावा खाने, बादललाई चुम्ने। उनले प्याराग्लाइडिङ रोजिन्। सोमबार मध्यान्नतिर प्यारापाइलटले उनीहरुलाई कास्कीकोट मान्द्रेढुंगाको टेकेको धर्ती छाड्न लगाए। आकासको सयर गराए। २ विदेशीसहितको सो टोलीले आकासमा कावा खाँदा हावाको चिसो झोक्का र बादलको स्पर्शमात्रै गरेनन्, मनको आँखाबाट फेवाताल र अन्नपूर्ण चियाए।

‘पाइलट सरले त्यो हरियाली (पोखराको आकासबाट देखिएको) वर्णन गरिरहनुभएको थियो। तल हर्पनखोला बगिरहेको छ भन्नुभयो। उहाँले गरेको वर्णनबाट मैले दृष्यको अनुभूति– हल्का मधुरो घाम, शितल हावा मनमा कैद गरेको छु। त्यो सुन्दरतालाई मनबाट महसुस गरेकी छु। आकासमा हुँदा मैले सुन्दर दृष्य देखिरहेको थिएँ,’ प्याराबाट फेवा किनारको पामेमा उत्रेपछि सृष्टिले ‘रक्स’ पारामा भनिन्,‘ मौसमका कारण हिमाल देखिएको छैन् भनिरहँदा बादलले छेकिरहेको हिमाल पनि मनको आँखाले तानितानी हेरेँ।’

जीवनको उचाइ र सफलतामा पुग्नका लागि अपाङ्ता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देशका साथ उडान भरेको उनको भनाइ थियो। पाइलटले बादल छुवाउन ग्लाइडरलाई माथि लैजाँदा निकै रोमाञ्चित भएको उनले सुनाइन्। 

‘म एकदम खुसी तब भएँ, जब मलाई कृष्ण सर (प्यारापाइलट कृष्ण सुनार) ले बादलमा छुवाउन लैजानुभयो। एउटा सपना हुन्छ नि जीवनमा! बादलमाथि उड्ने, उचाइमा पुग्ने, आज मैले त्यो उचाइ हासिल गरेँ। बादल छोइरहेको थिएँ, बादलभित्र हराएरहेका थियौं। म एकदमै खुसी छु,’उनले थपिन्।

प्यारापाइलट कृष्ण सुनारका अनुसार बर्खामा बादल तल झर्ने भएकाले १८ सय मिटरको उचाइमै सृष्टिले बादल छुन पाइन्। पछिल्लो समय १८ सय ७५ मिटरभन्दा माथि प्यारापाइलटहरु पुग्दैनन्।
अष्ट्रियाका थोमसले पनि पहिलो आकासे यात्रा शानदार रहेको प्रतिक्रिया दिए।

ब्लाइन्ड रक्स अन्तर्राष्ट्रियका सदस्यसमेत रहेका उनले भने,‘ मैले मेरो सेन्सले महसुस गरिरहेको थिएँ। मनबाट हेरिरहेको थिएँ। यो अविस्मरणीय रह्यो।’

दृष्टिविहीनले पनि सामान्य मान्छेले जस्तै हरेक काम गर्नसक्ने भनाइ पनि उनको थियो।

बागलुङ जैमिनी नगरपालिकाकी २१ वर्षीया चाँदनी शर्माले बसमा यात्रा गरेको मान्छेले स्वच्छ हावामा यात्रा गर्न पाउँदा रमाइलो भएको सुनाइन्।  उडानको अनुभव शब्दमा वर्णन गर्न नसक्ने उनको भनाइ थियो।

‘आजको अनुभव शब्दमा बयान गर्न सक्दिन। फ्लाई एकदमै रमाइलो भयो। बसमा यात्रा गरेजस्तै। रमाइलोसँगै खुसी लाग्यो। आकाशमा उड्ने कुरा कस्तो होला भन्ने लाग्थ्यो तर आज आफैंले अनुभव गर्न पाएँ।’

पहिलोपटक दृष्टिविहीनलाई आकासमा कावा खुवाउने अवसर पाएका प्यारापाइलट राम गुरुङले उडानको क्रममा कुनै फरक नभएको बताए। 

‘उडान भर्दा र ल्यान्ड गर्दा सबै एकै महसुस गर्यौँ। फरक यतिमात्र रह्यो कि, सामान्य व्यक्तिले आँखाले हेरेरै सबै अनुभव गर्नुहुन्थ्यो। उहाँहरुलाई हामीले भनिरहेका थियौं,’ गुरुङले भने।

ब्लाइन्ड रक्स नेपालकी संस्थापक अध्यक्ष सृष्टि केसीका अनुसार संस्थाले दृष्टिविहीनको हितका विभिन्न गतिविधिका अलावा साहसिक खेलहरु आयोजना गर्छ। दृष्टिविहीनहरुको आत्मवल बढाउन तथा समाजमा नयाँ सन्देश प्रवाह गर्न यस्ता गतिविधि आयोजना गरिएको उनको भनाइ छ।

साहसिक खेलको अनुभव लिने उपक्रम चलिरहेको छ। यसअघि रक क्लाइम्बिङ र र्याफ्टिङको आयोजना भइसकेको उनको भनाइ छ। व्यक्तिगत रुपमा प्याराग्लाइडिङ दोस्रो अनुभव रहेको र त्यो अनुभव आफूमा मात्र सीमित राख्न नचाहेकाले साथीहरुलाई सहभागी गराएको उनले सुनाइन्।

प्याराग्लाइडिङमा सामेल सृष्टिसहित सम्भवी दवाडी (सुनिता), नारायणी दवाडी, अमिता खड्का, वसिम अन्सारी, सावाज अन्सारी, मीना भुजेल, चाँदनी शर्मा, मोम्सरा सुनार, रोजिना घिमिरे तथा अमेरिकी नागरिक क्रिष्टोफर जे जोन्स र अष्ट्रियाका थोमस साइलिङलाई हौसला दिन पोखराका मेयर धनराज आचार्य उडान स्थल पुगेका थिए।

‘जीवनमा सपना देख्नका लागि आँखा होइन, हिम्मत चाहिन्छ। आत्मबललाई सबल पक्ष मानेर अघि बढ्नुपर्छ। यसो भयो भने कुनै पनि पक्षमा हामी पछि पर्दैनौं र पर्नु पनि हुँदैन,’ सृष्टि आत्मविश्वासी सुनिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .