पर्वतका दुई छुट्टाछुट्टै स्थानमा बिहीबार परेको चट्याङले लागेर पाँचजना घाइते हुनाका साथै एक घरमा क्षति पुगेको छ।
जिल्लाको फलेवास नगरपालिका–३ शङ्कर पोखरीस्थित टारीका दयाराम पङ्गालीको घरम चट्याङ पर्दा तीनजना घाइते भएका हुन्। थिए। बिहीबार राति करिब १२ बजे भीषण वर्षासँगैको चट्याङ परेर ३० वर्षीया शर्मिला रिजाल, २५ वर्षीय होमनाथ रिजाल र २७ वर्षीय नवीनप्रसाद रिजाल घाइते भएका हुन्।
उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए। घाइतेहरूको अवस्था सामान्य छ। चट्याङले पङ्गालीको दुईतले घरको दुईवटा कोठामा पूर्ण क्षति पुगेको छ भने टीभी, मिटरबक्सलगायत विद्युतीय सामग्रीसमेत नष्ट भएका छन्।
त्यसैगरी महाशिला गाउँपालिका–६ फलामखानीमा पनि चट्याङमा परी दुई जना घाइते भएका छन्। बिहीबार राति करिब १२ बजे परेको चट्याङले स्थानीय ५० वर्षीया उमादेवी सुनार र उनकी छोरी ३० वर्षीया रेखा सुनार घाइते भएको वडाध्यक्ष गोविन्द विकले जानकारी दिए। उनीहरुको खुट्टा र कानमा चोट लागेको र स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उनले बताए।
चट्याङ लागेर फलामखानीको पात्ला र ढडेनका सात घरमा विद्युत्को मिटर बक्स जल्नाका साथै एक बाख्रोसमेत मरेको छ।
Shares

प्रतिक्रिया