ad ad

गण्डकी


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन भण्डारण डिपोको शिलान्यास

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन भण्डारण डिपोको शिलान्यास

डिपोको शिलान्यास गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल (तस्बिर : रासस)


नेपालखबर
साउन १, २०८० सोमबार २०:४४, पोखरा

गएको असार ६ गते चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ‘ए’ ३१९ जहाज अवतरण गर्‍यो। तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान निश्चित छैन।

आन्तरिकतर्फको दैनिक करिब ५० वटा उडान भने नयाँ एयरपोर्टबाटै भइरहेको छ। इन्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली जडान गरेपछि यो एयरपोर्टबाट रातिमा पनि उडान हुन्छ। चालु अंग्रेजी वर्षको जनवरी एक तारिखमा उद्घाटन गरिएको विमानस्थलमा जहाजको लागि अत्यावश्यक ‘हवाइ इन्धन डिपो’ समेत बनेको छैन।

विमानस्थल प्रमुख विक्रम गौतमका अनुसार अहिले पुरानो विमानस्थलमा रहेको नेपाल आयल निगमको इन्धन डिपोबाट ओसारिएको ‘इन्धन’ नै जहाजमा हाल्ने गरिएको छ। 

‘नेपाल आयल निगमसँग २७ हजार लिटरको दुईवटा ट्याङ्कर छन्, पुरानो विमानस्थलमा इन्धन भण्डारण गरिन्छ,’ उनले भने, ‘त्यहाँबाट यता  ल्याइएको इन्धन यहाँको ट्याङ्करमा खन्याइन्छ।’

पुरानो विमानस्थलदेखि नयाँ विमानस्थलसम्म अति संवेदनशील मानिएको पेट्रोलियम पदार्थ बोकेर पु¥याउन चुनौती छ। विमानस्थलबाट पोखराको मुख्य सहरी क्षेत्र आउने बाटो २ लेनको मात्रै छ। अहिले नै सो सडकमा ट्राफिक जाम हुन्छ। साँघुरो सडक, विजयपुर खोलामा बनेका पुलहरूको भारवहन क्षमता कम भएका कारण पनि इन्धन बोकेर ल्याउन समस्या देखिएको आयल निगमका अधिकारीहरुले बताउँदै आएका थिए। 

चिनियाँ कम्पनीले एयरपोर्टको काम थाल्दादेखि नै इन्धन डिपो बनाउने प्रक्रिया सुरु गरिए पनि विविध कारणले ढिला भएको उनले बताए। पोखरा विमानस्थल निर्माण सुरु भएसँगै २०७७ सालमा इन्धन डिपो निर्माणको टेन्डर आह्वान गरिएको थियो।

तर, आह्वान गरे अनुसारका कम्पनीहरुले आवेदन दिएनन्। टेन्डर खोल्दा नै पनि कम्पनी योग्य नभएको भनियो। छनोट प्रक्रियामा असहमति जनाउँदै टेन्डरमा सहभागी कम्पनीले अदालत गुहा¥यो।

जसका कारण समयमा डिपो बनेन। पछि निर्माणको जिम्मा भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तर नामक कम्पनीले डिपो बनाउने ठेक्का पाए।

करिब ७७ करोडमा ठेक्का लिएका कम्पनीले अहिले काम थालेका छन्। 

‘सुरक्षा गार्ड र कार्यालय प्रयोजनको लागि भनेर दुईवटा भवनहरु निर्माणाधीन अवस्थामा छन्, अब इन्धन भण्डारणकक्षको पनि शिलान्यास भएको छ,’ विमानस्थल प्रमुख गौतमले भने, ‘डेढ वर्षमा सक्ने भनिए पनि एक वर्षमै सक्ने प्रतिवद्धता आएको छ।’

इन्धन डिपोको सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले शिलान्यास गरेका छन्। डिपो आयल निगमको स्वामित्वमा हुनेछ। 

आयल निगमले नागरिक उड्डयन प्राधिकरणको जग्गा भाडामा लिएर डिपो निर्माण गरेको हो। नयाँ डिपोमा ३६ लाख लिटर हवाइ इन्धन भण्डारण हुने आयल निगम पोखराका प्रवक्ता श्रीधर लामिछानेले बताए।

उनका अनुसार डिपोमा १२ लाख क्षमताका तीनवटा टंकी हुनेछन्। इन्धन भर्ने तीनवटा ट्याङ्कर,बारुणयन्त्र पनि त्यहाँ तम्तयार अवस्थामा रहनेछन्। 

अहिले सो विमानस्थलबाट दैनिक २० देखि ३० हजार लिटर इन्धन खपत हुँदै आएको छ। अन्तर्राष्ट्रिय उडान हुन थालेपछि खपत पनि बढ्ने उनको भनाइ छ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा इन्धन डिपो छ।

सञ्चालनमा रहेका २९ मध्ये नौवटा विमानस्थल मात्र निगमले हवाइ इन्धन बिक्री गर्दै आएको छ। 

गगनगौंडा डिपोको भण्डारण क्षमता बढ्यो 
गण्डकी प्रदेशका विभिन्न जिल्लाको माग अनुसार इन्धन आपूर्तिको लागि कास्कीको गगनगौंडामा नेपाल आयल निगमनको भण्डारण केन्द्र रहेको छ ।

त्यसमा  २२ सय ८० किलोलिटर डिजल र ३५० किलोलिटर पेट्रोल र ७६० किलोलिटर मट्टितेलको भण्डारण क्षमता रहेको थियो। निगमले सो भण्डारण केन्द्रको क्षमता पनि वृद्धि गरेको छ।

निगमका प्रवक्ता श्रीधर लामिछानेका अनुसार अहिले त्यसको क्षमता बढाएर एक करोड लिटर पु¥याइएको छ। गण्डकीको एक महिनाको माग धान्ने गरी भण्डारण क्षमता बढाइएको उनले बताए। 
 
गगनगौंडा डिपोबाट दिनमा २ लाख लिटर पेट्रोल र ३ लाख लाख लिटर डिजल खपत हुने गरेको छ। दुइवर्ष अघि ७७ रोपनी क्षेत्रफलमा ७७ करोड रुपैयाँमा निगमले भण्डारणगृह बनाएको हो।

भण्डारणगृहको सोमबार नै उद्घाटन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .