ad ad

गण्डकी


सत्तापक्षको चित्त दुखाइ र प्रतिपक्षको आलोचनाबीच गण्डकीको बजेट पारित

सत्तापक्षको चित्त दुखाइ र प्रतिपक्षको आलोचनाबीच गण्डकीको बजेट पारित

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८० शुक्रबार १९:१९, पोखरा

सत्तापक्षका सांसदहरूको चित्त दुखाइ र प्रतिपक्षको आलोचनाको बीचमा गण्डकी सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित भएको छ। 

गण्डकी सरकारमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेबाट असार १ गते पेश भएको ३३ अर्ब ४२ करोड ७२ लाखको बजेटलाई शुक्रबारको संसद बैठकले पारित गरेको हो।

बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात कुल विनियोजित बजेटको ३८।१ प्रतिशत विनियोजन भएको छ भने पुँजीगततर्फ २० अर्ब १९ करोड अर्थात ६०।४ प्रतिशत छुट्टयाइएको छ।

बजेट प्रस्तत भएदेखि नै आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेसहित सामाजिक विकासमन्त्री सुशीला सिम्खडा सत्तारुढ दलकै सांसदको निसानामा परे।

खासगरी सत्ताको नेतृत्व गरिरहेको कांग्रेसबाट निर्वाचित सांसदहरुले सामाजिक विकास मन्त्रालयले योजना बाँडफाटमा मनोमानी गरेको आरोप लगाए। साढे ५ अर्बको बजेट चलाउने सामाजिक विकास मन्त्रालयले उपल्लो मुस्ताङ क्षेत्रको एउटै पनि योजना नसमेटेको उनीहरुको आरोप थियो। हुन पनि सामाजिक विकास मन्त्रालयले उपल्लो मुस्ताङको लागि एउटै योजनामा रकम विनियोजन गरेन।

मुस्ताङका दुवै प्रदेशसभा सदस्य विकल शेरचन र नम्डु गुरुङ कांग्रेसबाट निर्वाचित हुन्। शेरचनले त बजेट  विनियोजन नभएको भन्दै जनताको तर्फबाट मन्त्री सिम्खडाविरुद्ध खेद प्रकट नै गरे।

गण्डकीकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सिम्खडा माओवादी केन्द्रको प्रतिनिधित्व गर्छिन्। 

प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहमा हस्तान्तरित बजेटको अंक फरक परेको विषयदेखि वितरणमुखी भएकोसम्म आरोप लगायो। शुक्रबार पनि एमालेले प्रदेशसभा अवरुद्ध गर्‍यो।

यही असार १८ गते कांग्रेसका सांसद द्रोणकुमार कुँवरले बजेटबारे मन्त्रालयगत छलफलका क्रममा मुस्ताङमा योजना नपरेको विषय उप्काउँदै  ‘चीनको स्वशासित क्षेत्रमा आवद्ध भएको माननीयहरुको आवाज’ भन्ने वाक्य प्रयोग गरेका थिए।

शुक्रबारको बैठक सुरु हुनेबित्तिकै एमाले सांसद सुधीरकुमार पौडेलले सोही कुरा समाते। उनले समय मागेर कुँवरको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे। 

उनले चीनको स्वशासित क्षेत्रमा आवद्ध को सांसद छ? भन्दै जवाफ मागे। उनलाई एमाले र राप्रपाका सांसदले साथ दिए।  उठेर विरोध जनाए। 

सभामुख कृष्ण धितालले यो विषयमा सचिवालयका तर्फबाट हेरेर उपयुक्त निर्णय लिने बताए पनि उनीहरुले विरोध रोकेनन्। बैठक १० मिनेटका लागि स्थगित भयो। कार्यव्यवस्था परामर्श समितिको बैठकले कुँवरले अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएसँगै एकघण्टापछि संसद चल्यो। 

नेपाली कांग्रेसका सांसद द्रोण कुँवरले आफूले बोल्दा ‘चीनको स्वाशासित क्षेत्र तिब्बतसँग जोडिएको मुस्ताङका माननीयहरु’ भन्नुपर्नेमा ‘जोडिएको’ शब्द छुटाएको स्वीकारे। तर, उनले एमालेले सानो कुरालाई ठूलो निहुँ बनाएको आरोप पनि लगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .