गण्डकी


गोरखामा बन्यो चेपाङ संग्रहालय

गोरखामा बन्यो चेपाङ संग्रहालय

गोरखाको सहिद लखन गाउँपालिकामा बनेको चेपाङ संग्रहालय। तस्बिर : रासस


नेपालखबर
जेठ ९, २०८० मंगलबार १३:११, गोरखा

गोरखाको सहिद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ संग्रहालय निर्माण गरिएको छ।

चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको वेषभूषा तथा कला संस्कृतिको संरक्षणका लागि संग्रहालय निर्माण गरिएको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिए। 

आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा वडा कार्यालयले विनियोजन गरेर संग्रहालय निर्माणको काम सम्पन्न भएको उनले बताए। ‘स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गासहितको क्षेत्रमा संग्रहालय निर्माण गरिएको हो’, उनले भने, ‘उपभोक्ता समितिमार्फत निर्माण गरिएको संग्रहालय चेपाङ समुदायको संस्कृति झल्कने खालको घर निर्माण भएको छ।’

संग्रहालयमा अल्पसङ्ख्यक चेपाङ जातिको वेषभूषा, परम्परागतरूपमा प्रयोग गर्ने सामग्री राखिने उनले बताए। ‘पछिल्लो समय चेपाङ समुदायले परम्परागत रूपमा प्रयोग गर्ने सामग्री लोप हुने अवस्थामा छ’, वडाध्यक्ष थापाले भने, ‘आगामी पुस्ताले ती सामग्री र संस्कृतिका बारेमा जान्न र बुझ्नसमेत नपाउने अवस्था भइसकेकाले त्यसको संरक्षण स्थानीयस्तरबाटै भए पनि गर्नुपर्छ भन्ने उद्देश्यले संग्रहालय निर्माण गरिएको हो।’

सहिद गाउँपालिकाको डाँडागाउँ चेपाङ समुदायको मात्र बसोबास रहेको ठाउँ हो। ‘उक्त स्थानमा चेपाङको मात्र बस्ती छ, अन्य जातिको बसोबास नै छैन’, उनले भने, ‘ढाडेगाउँ, डाँडागाउँ, तेस्रेगाउँमा सबै चेपाङ समुदायमा बस्दै आएका छन्।’ निर्माण सम्पन्न गरिएको संग्रहालयको संरक्षणको जिम्मेवारी पनि चेपाङ समुदायलाई दिइएको उनले जानकारी दिए। 

संग्रहालयमा चेपाङ समुदायले परम्परागतरूपमा प्रयोग गर्ने वेषभूषा, भाङग्रा, जङ्गलमा गिट्ठा टिप्न जाँदा प्रयोग गर्ने सामग्री, चमेरो मार्न प्रयोग गर्ने सामग्रीलगायतका सबैखालका परम्परागत सामग्री राखिने उनको भनाइ छ। 

संग्रहालयमा हरेक वर्ष चेपाङ समुदायले वर्षमा एकपटक मनाउने न्वागी पर्वका दिन सोही स्थानमा कार्यक्रमको आयोजना गरी मनाउने तथा समुदायको क्षमता विकासका लागि छलफल तथा बैठक गर्नका लागि प्रयोग हुने वडाध्यक्ष थापाको भनाइ छ। 

‘चेपाङहरूको परम्परागत वेषभूषामा महिलाका लागि गुन्युचोलो, पुरुषका लागि दौरा–कछाड र त्यसमा जाली भरिएको स्टकोट हो। साथमा पछाडिपट्टि कम्मरमा काठको खुर्पीठ्याक भिरिएको हुन्छ। त्यसको संरक्षण पनि संग्रहालयमार्फत अब हुन्छ’, उनले भने। 

त्यस्तै परम्परागत चेपाङ समुदायको गरगहनाका रूपमा मुगा, हारेमालालाई लिइन्छ। यस्ता गरगहना लगाउने परम्परा पनि बिस्तारै उक्त समुदायबाट लोप हुँदै गएको छ। आफ्नो परम्परा र संस्कृतिको लोप हुन नदिन स्थानीय सरकारको पहलमा संग्रहालय बनेपछि चेपाङ समुदाय पनि खुसी भएको स्थानीय जगबहादुर चेपाङले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad