ad ad

गण्डकी


धुलो खाँदै चिनियाँ राजदूत पृथ्वी राजमार्गमा

चिनियाँ कम्पनीको साख खस्कन नदिने प्रयास
धुलो खाँदै चिनियाँ राजदूत पृथ्वी राजमार्गमा

वाशुदेव मिश्र
चैत २६, २०७९ आइतबार २१:१, पोखरा

२०२४ सालतिर पृथ्वी राजमार्ग निर्माणमा चिनियाँ टोली खटियो। भीर फोडेर, डाँडा उकालेर काठमाडौंबाट पोखरासम्म सडक लैजाने काम सजिलो थिएन।

तर, चिनियाँहरूले खुबी देखाए।

त्यतिमात्र होइन पोखराबाट बागलुङसम्मको भूपी शेरचन राजमार्ग बनाउने पनि चिनियाँ नै थिए। पोखरा नगर क्षेत्रभित्र सिंचाइको लागि बनेको नहर र सेती नदीमा निर्मित जलविद्युत परियोजनामा पनि चिनियाँ इञ्जिनियरिङले काम गरेको थियो।

ती सबै परियोजनामा चिनियाँहरुले नेपालीको विश्वास जिते। पछि पोखरा सभागृह र बहुचर्चित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी पनि चिनियाँ कम्पनीले हात पारे।

कोभिड महामारीमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम रोकिएन। महामारीको कारण देखाउँदै एक वर्ष म्याद थपिएपनि चिनियाँ कम्पनीले गुनासो गर्ने ठाउँ दिएन। समयमै विमानस्थल नेपाललाई हस्तान्तरण ग¥यो। 

तर, पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनीहरुमाथि प्रश्न उठ्न थालेको छ। नारायणगढ–बुटबल सडक खण्डको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले काम ढिला गरेपछि सरकारले ठेक्का तोड्ने चेतावनी दियो।

दुई पटकको सार्वजनिक सूचनापछि निर्माण कम्पनीसँगको म्याद आउँदो साउनसम्म बढाइएको छ। अहिले सो सडक खण्डको कामले गति लिएको छ। 

यस्तै समस्या मुग्लिङ– पोखरा सडक खण्डमा पनि देखियो। करिब ८४ किलोमिरट लामो सडक खण्डलाई दुई खण्डमा टुक्रयाएर ठेक्का लगाइयो। मुग्लिनदेखि तनहुँको जामुनेसम्मको ४१ किलोमिटर पूर्वी खण्डको लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग २०७७ साल माघ १७ गते छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भयो।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्मको जिम्मेवारी चीनकै यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रसनलाई दिइयो। पूर्वी खण्ड २०८१ साल वैशाखसम्म पश्चिम खण्ड २०८१ साल भदौसम्म सक्ने गरी ती ठेक्का लगाइयो।

तर, निर्माणले गति लिएन। पूर्वी खण्ड परियोजनाका प्रमुख इञ्जिनियर नरेन्द्र सुवेदीका अनुसार सो खण्डमा करिब २०.५ प्रतिशत मात्र प्रगति भएको छ भने पश्चिम खण्डमा ७ प्रतिशत पनि काम हुन सकेको छैन।

काम नभएपछि सो सडक परियोजनालाई ऋण सहयोग गरेको एसियाली विकास बैंकले चासो देखायो। स्रोतका अनुसार दाताको चासोपछि यसअघि भौतिक योजना मन्त्रालय सम्हालेका हालका गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यो विषयलाई चिनियाँ राजदूतसमक्ष राखे। राजदूत फिल्डमा गएर समस्याको गाँठो फुकाउने विषयमा सहमत भए।

त्यही वाचा अनुसार आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, नेपालका लागि मित्रराष्ट्र चीनका राजदूत छन सोन, एसियाली विकास बैंकका प्रमुख, पालिका प्रमुख, सडक विभागका अधिकारीसहितको टोलीले पोखराबाट मुग्लिनसम्मको सडकको स्थलगत निरीक्षण गर्‍यो।

परियोजनाका प्रमुख इञ्जिनियर नरेन्द्र सुवेदीका अनुसार उच्चस्तरीय टोलीले समस्या के छ भन्नेबारे ठेकेदार कम्पनी, स्थानीय तथा सरोकारवाला निकायहरुसँग छलफल गर्‍यो। 

‘समग्रमा निर्धारित समयभित्र गुणस्तरयुक्त सडक बनाउने कुरामा सहमति भयो,’ उनले भने, ‘ठेकेदार कम्पनीहरुले पनि समस्याका कुरा राखे, हामीले पनि हाम्रोतर्फबाट गर्नसक्ने कुराको प्रतिवद्धता जनायौँ।’

उनका अनुसार उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक योजनामन्त्री ज्वालासहित चिनियाँ राजदूत, एडीबीका प्रमुखहरू समयमै काम सक्नुपर्नेमा एकमत रहेका छन्।

तर, ठेकेदार कम्पनीले  सुरक्षा, निर्माण सामग्रीको पर्याप्त व्यवस्था, विद्युत पोलका कारण सडक विस्तारमा सिर्जना भएको अवरोध, डिजाइनमा भएको परिवर्तनका कारण समस्या भएको जानकारी गराए। सहज हुँदा समयमै काम सकिने उनीहरुले प्रतिवद्धता जनाएको पनि सुवेदीको भनाइ छ।

चार लेनको सडक लागत अनुमान अनुसार निर्माण थालिएको हो। 

निर्माणको क्रममा यस्ता सडकको डिजाइन परिवर्तन र लागत बढ्न सक्छ। कतिपय ठाउँमा घरजग्गाको मुआब्जा वितरण नहुँदा पनि समस्या परेको इञ्जिनियर सुवेदीले स्वीकारे।

उनका अनुसार पूर्वी खण्डमा मात्र घोषित ८ करोड मुआब्जा रकम निकासी हुन सकेको छैन। जसले गर्दा निर्माण कार्यमा अवरोध सिर्जना भएको छ।

उनले निर्माण कम्पनीसँग सरकार, दाता र परियोजनाका पदाधिकारी सन्तुष्ट नभएको चाहिँ लुकाएनन्।

‘काम नगरेपछि सन्तुष्ट हु्ने कुरै भएन, यो स्वभाविक हो,’उनले भने,‘यसमा दाता वा सरकार भन्ने कुरै छैन,’ उनले भने।

चिनियाँ राजदूतले अनुगमनको क्रममा समस्या सहजीकरणको लागि पहल गर्ने वचन दिएको उनले सुनाए। 

आइतबारको अनुगमनमा संलग्न एक जनप्रतिनिधिले चिनियाँ राजदूतको सहभागितालाई चिनियाँ पक्षको संवेदनशीलताको रुपमा अर्थ्याए।

‘चिनियाँ निर्माण कम्पनीमाथि प्रश्न उठ्न थालेकोमा चिनियाँ पक्ष बढी सचेत देखिएको हामीले पायौँ,’ उनले भने, ‘महामहिमकै चासोका कारण हाम्रा परियोजना समयमै सकिने सम्भावना बढेको छ।’

तनहुँ जलविद्युतको प्याकेज २, मेलम्ची खानेपानी, सुनकोशी मरिन डाइभर्सन, सिद्धबाबा सुरुङ, फास्ट ट्रयाकअन्तर्गतका विभिन्न खण्डको काम अहिले चिनियाँ कम्पनीहरूले गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .