गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले एमाले र मजदुर किसान पार्टीबाहेकका कम्युनिष्ट पार्टीहरु कांग्रेसको सती गएको जिकिर गरेका छन्।
गण्डकीका मुख्यमन्त्री तथा एमाले संगठन विभाग प्रमुखसमेत रहेका उनी आइतबार एमाले पोखरा महानगर कमिटीद्वारा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै थिए।
‘देशमा एमाले बाहेक अर्को कम्युनिष्ट पार्टी रहेन। रोहित (नारायणमान विजुक्छे) हुनुहुन्छ। अरु सबैजना कांग्रेसको सती गए’,उनले भनेका छन्।
माओवादी केन्द्र कांग्रेससहितको पुरानै गठबन्धनमा फर्केसँगै उनी नेतृत्वको गण्डकी सरकार संकटतर्फ मोडिएको छ। ८ सांसद रहेको माओवादी केन्द्रले हात झिक्नासाथ सरकारबाट विदा लिने अवस्था पुगेका मुख्यमन्त्री अधिकारीले आफूहरुले कहिल्यै पनि जानीजानी गल्ती नगरेको र नगर्ने जिकिर पनि गरे।
‘हामी हाम्रै बाटोमा हिँडिरहेका छौं, जानेसम्म गल्ती गरेका छैनौँ र गर्दैनौं पनि,’उनले भने।
कम्युनिष्टको साइनबोर्ड झुण्डाउने जति भएपनि व्यवहारमा एउटा मात्रै एमाले रहेको उनको दाबी थियो।
कार्यक्रममा बोल्दै नेकपा (एमाले) केन्द्रीय सदस्य तथा गण्डकी सह–इन्चार्ज मायानाथ अधिकारीले सुखानीको जंगलमा मृत्युवरण गरेका शहीदहरु प्रति सम्मान गरे।
नेकपा (एमाले) केन्दीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले एमाले एक मात्र सच्चा कम्युनिष्ट पार्टी रहेको दाबी गरे।
कार्यक्रममा पोखरा महानगरपालिकाका ३३ वटै वडामा रहेका ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको थियो।
Shares

प्रतिक्रिया