ad ad

गण्डकी


अझै खुलेन अवरुद्ध ग्रामीण सडक, स्थानीयलाई सास्ती

अझै खुलेन अवरुद्ध ग्रामीण सडक, स्थानीयलाई सास्ती

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ७:१५, काठमाडौँ

निसीखोला गाउँपालिकाले सातवटै वडाको बस्ती–बस्तीमा सडक पु¥याएको छ। हिउँदको समयमा घरै अगाडि सडक गुड्ने गरे पनि वर्षात्को समय ठप्पै हुन्छन्। गत असार महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन्। चार महिनादेखि अवरुद्ध सडक सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ। गाउँदेखि बजार पुग्न पैदल नै हिँड्नुपर्छ भने उपभोग्य सामान पनि बोकेरै गाउँ पुर्‍याउनुपर्ने अवस्था छ।

गाउँपालिकाको वडा नं ३, ४ र ७ का केही गाउँ पुग्ने सडकमा पहिराले कम क्षति पु¥याएको हुँदा सञ्चालनमा आए पनि दर्जन बढी अझै अवरुद्ध नै रहेको स्थानीय दिलबहादुर विकले जानकारी दिए। उनले असारदेखि बन्द भएको सडक अवरुद्ध हुँदा सामान ओसारपसारमा समस्या भएको गुनासो गरे। दसैँअगावै सडक सञ्चालन हुने अपेक्षा गरे पनि तिहार नजिकिँदासमेत खुल्ने सुरसार नभएको उनको भनाइ छ।

‘दसैँअगाडि नै सडक सञ्चालन भएर गाउँमा गाडी आउला भन्ने लागेको थियो तर आएन, तिहार आउन लाग्यो अहिलेसम्म सडक खुलाउने सुरसार छैन, यही हिसाबले त तिहारमा पनि बोकेरै सामान ल्याउनुपर्ने भयो’, उनले भने, ‘गाउँमा आउने बाटोको १५–२० ठाउँमा पहिरो गएको छ, कतै माथिदेखि कतै तलदेखि पहिराले बाटो क्षतविक्षत भएको छ, एक दिन डोजर लगाए त खुलाउन सकिने थियो, सडक खुलाउन कसैले पनि ध्यान दिएनन्।’

उनले भदौमा आफ्नो बहिनी सिकिस्त बिरामी भएर अस्पताल लैजाँदा बोकेरै अस्पताल लगेको सुनाए। विकले गाउँमा सडक आएर पनि आफूहरूले सुविधा लिन नपाएको दुःखेसो गरे। सरोकारवालाले ध्यान नदिँदा चार महिनासम्म सडक सञ्चालन गर्न नसकेको आरोप छ। केही गाउँमा गाडी चले पनि धेरैजसो गाउँका बाटो पहिराले अवरुद्ध बनेको विक बताए।

‘गाउँमा सडक आयो, अब हामी गाउँलेलाई सुविस्ता होला भन्ने सोचेका थियौँ, सडक आउँदा जग्गा–जमिन पनि दियौँ, काम पर्दा उपयोग गर्न पाइएन, बन्द भएको यतिका समय भयो, खुलाउने निकाय वडा कार्यालय, गाउँपालिका होला तर उहाँहरूले ध्यान दिनु भएन’, उनले भने, ‘गाउँमा धेरै मान्छे बिरामी हुन्छन् गाडी चले त यहीबाटै अस्पताल पु¥याउन सकिन्थ्यो होला, सडक नचल्दा मैले पनि बहिनी बिरामी हुँदा मान्छे लगाएर बोकेरै अस्पताल पु¥याएँ।’

निसीखोला –१ लेबाङका पुरन घर्तीमगरले सडक अवरुद्ध हुँदा खच्चडमा सामान ओसार्नुपर्ने अवस्था आएको बताए। उनले बजारबाट गाउँ निकै टाढा रहेको हुँदा दैनिक उपभोग्य सामान बोकेर उपभोग गर्नसमेत गाह्रो भएको भन्दै खच्चडमा ढुवानी गरेको बताउँछन्। सडक खुले यहाँका सयौँ नागरिकलाई सहज हुने उनको भनाइ छ।

‘बजारबाट गाउँ निकै टाढा छ, सामान बोकेर पनि पु¥याउन गाह्रो हुन्छ, गाउँका पसलेले असार अगाडि नै गोदाममा राखेका सामान पनि दसैँअगाडि नै सकियो, ल्याउने बाटो खुलेको छैन भन्छन्, त्यही भएर खच्चडमा ढुवानी गरेर पेट पाल्नुपरेको छ’, स्थानीय घर्तीमगरले भने, ‘अघिल्लो साल त दसैँमा सडक खुलेर गाउँमा गाडी गुड्थे, सामान बोकेर लैजानुपरेको थिएन, अहिले त तिहार आउनलाग्दा पनि सडक खुलेन, अब तिहारपछि खुल्ला।’

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले दसैँअगाडि नै सडक खुलाउन थाले पनि वर्षाका कारण समस्या भएको बताए। उनले केही गाउँका सडक सञ्चालनमा आए पनि अझै धेरै सडक खुलाउन बाँकी रहेको बताउँछन्। अध्यक्ष घर्तीमगरले भने, ‘दसैँअगाडि नै सबै गाउँका सडक खुलाउने गरी योजना बनाएका थियौँ, तर वर्षाले गर्दा खुलाउन सकिएन, दसैँ अगाडि पनि निरन्तर वर्षा भयो, दसैँ सकिएपछि पनि ठूलो वर्षा हुँदा सडक खुलाउन नसकिएको हो।’

उनले वर्षा रोकिएपछि सडक खुलाउने प्रसास गरिरहेको बताए। अहिले इञ्जीनियरले गाउँ–गाउँमा पुगेर सडकको अवस्था बुझ्ने र खर्च लगत अनुमान गरिरहेको भन्दै अब केही दिनै सडक खुलाउन थाल्ने बताए। ‘यतिका समय सडक अवरुद्ध हुँदा नागरिकलाई धेरै समस्या परेको छ, हामीले बुझेका छौँ, अलिकति वर्षाले अवरोध गर्‍यो, अहिले इञ्जीनियर गाउँ–गाउँमा पुगेर सडकको अवस्था बुझ्ने र खर्च के कति लाग्छ लगत अनुमान तयार गर्दै हुनुहुन्छ, अब केही दिनमै सबै सडक खुलाउने छौँ।’ उनले भने।

अध्यक्ष घर्तीमगरले धेरैजसो ग्रामीण सडक कच्ची हुँदा माथिदेखि भलसहित आएको बाढीले कालोपत्र लोकमार्गसमेत बिगारेको बताए। गाउँपालिकाले अब ग्रामीण सडकलाई व्यवस्थित बनाउन नाली निर्माण गर्ने र पहिरो रोक्नका लागि वृक्षरोपणसमेत गर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .