ad ad

गण्डकी


किशोरदत्तले ‘छलाङ’ मार्दा विन्दुकुमारले कुमारलाई पाखा लगाए

किशोरदत्तले ‘छलाङ’ मार्दा विन्दुकुमारले कुमारलाई पाखा लगाए

वाशुदेव मिश्र
असोज २३, २०७९ आइतबार १३:५६, काठमाडौँ

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फको टिकट पाएका छन्। 

नेपाली कांग्रेसले आफ्नो भागमा परेको कास्की क्षेत्र नम्बर १ सुम्पेको हो। अन्तिम समयमा अर्का आकांक्षी कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीलाई पछाडि पार्दै उनले टिकट पाएका हुन्। 

नेपाल शिक्षक संघ संघीय समितिका उपाध्यक्ष भएर पनि काम गरेका बराल कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्यहुँदै सभापति बनेका हुन्। 

शिक्षकबाट राजनीति सुरु गरेका तथा कांग्रेसको १४औं महाधिवेशनबाट मूलधारको राजनीतिमा प्रवेश गरेका किशोरदत्तले टिकट पाउनुलाई राजनीतिक ‘छलाङ’को रुपमा व्याख्या गरिएको छ। 

पार्टीका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा र कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीलगायतका नेताहरु भएको क्षेत्रबाट टिकट पाउनु सजिलो थिएन। १४औँ महाधिवेशनमा प्रत्याशीलाई पराजित गर्दै सभापति बनेका किशोरदत्त संस्थापन पक्षधर हुन्। 

अब उनको प्रतिस्पर्धा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङसँग हुने भएको छ। मनबहादुर गण्डकी प्रदेशका निवर्तमान सांसद हुन्। 

अघिल्लो चुनामा सो क्षेत्रबाट एमालेका नेता खगराज अधिकारीले  कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका थिए। अधिकारीले ४९२४२ मत प्राप्त गरे भने थापाले २५८२६ मत प्राप्त गरेका थिए। 

कास्कीका ३ सिटमध्ये १ नम्बर कांग्रेस, २ नम्बर नेकपा एकीकृत समाजवादी र ३ नम्बर माओवादीको भागमा परेको छ। कास्की क्षेत्र नम्बर २ मा एमालेले निवर्तमान सांसद तथा पूर्वमन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ। 

गठबन्धनको तर्फबाट सो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका वैकल्पिक पोलिटब्यूरो सदस्य श्रीनाथ बराल उम्मेदवार बनेका छन्। उनी एमालेमा हुँदा अवसर नपाएका नेताको रुपमा चर्चित छन्। 

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा एमालेले रवीन्द्र पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो। सो चुनावमा कास्की निर्वाचन क्षेत्र नम्बर २ मा भएको निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी उमेदवार विद्या भट्टराई विजयी भएकी छन्।

उनले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई आठ हजार ४०९ मतान्तरले पराजीत गरेकी थिइन्। उनले २४ हजार ३९५ मत ल्याएकी छन् भने कांग्रेस उमेदवार पौडेलले १५ हजार ९८६ मत ल्याएका थिए। कास्कीमा यो एमालेको सबैभन्दा सुरक्षित किल्ला मानिन्छ।  

कास्की क्षेत्र नम्बर ३ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल उम्मेदवार बनेका छन् भने एमालेले सो क्षेत्रबाट दामोदर बैरागीलाई उम्मेदवार बनाएको छ।  यसअघि सो क्षेत्रबाट निर्वाचित सांसद तथा केन्द्रीय सदस्य जगत विश्वकर्माले टिकट नपाउँदा  बैरागीलाई खुसी प्राप्त भएको हो। एमालेमा दामोदर पनि अवसर नपाएका नेताको रुपमा चिनिन्छन्।

यसअघि सो निर्वाचन क्षेत्रमा जगत विश्वकर्माले हाल नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मालाई पराजीत गरेका थिए।  विश्वकर्माले ३२,६९० मत प्राप्त गर्दा शर्माले २४,१६४ मत पाएका थिए। मुख्य दलबाट उम्मेदवार बन्नेमा विद्याबाहेक सबै नयाँ अनुहार हुन्।   

प्रदेशतर्फ कास्की क्षेत्र नम्बर १ ‘क’ मा एमालेका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी उम्मेदवार छन्। उनी गण्डकीको मुख्यमन्त्रीलाई ‘अर्जुनदृष्टि’ लगाउँदै संघबाट प्रदेश झरेका हुन्। यसअघि उनी कास्की क्षेत्र नम्बर १ बाट विजयी सांसद हुन्।

मुख्यमन्त्रीका अर्का प्रतिस्पर्धी पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङको पुनः मुख्यमन्त्री बन्ने चाहनालाई अध्यक्ष  केपी शर्मा ओलीले अस्वीकार गरेसँगै खगराज प्रदेशमा आएका हुन्।

उनीसँग माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान विकास समितिका सभापति दीपक कोइरालाले प्रतिस्पर्धा गर्ने भएका छन्। उनले अघिल्लो चुनावमा सोही क्षेत्रबाट विजय प्राप्त गरेका थिए। 

कास्की क्षेत्र नम्बर १ ‘ख’ मा एमालेले मादी गाउँपालिकाका निवर्तमान अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’लाई उम्मेदवार बनाएको छ भने सो क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका युवा नेता दीपक गुरुङ‘माइला’लाई उम्मेदवार बनेका छन्। दीपक नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्। 

कास्की क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा एमालेले केन्द्रीय सदस्य भीम कार्कीलाई उम्मेदवार बनाएको छ। सो क्षेत्रमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछाने उम्मेदवार बनेका छन्। उनी पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष हुन्। बहुचर्चित फेवाताल संरक्षण अभियानका कारण उनी चर्चित छन्। 

कास्की क्षेत्र नम्बर २ ‘ख’ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विन्दुकुमार थापा उम्मेदवार बनेका छन्। उनी गण्डकी प्रदेशका बहालवाला कानूनमन्त्री हुन्। नेपाली कांग्रेसको तर्फबाट सो निर्वाचन क्षेत्रमा गण्डकीका भौतिक पूर्वाधारमन्त्री कुमार खड्काले पनि दावी गरेका थिए। तर, अन्तिम समयमा उनले टिकट पाएनन्। थापा यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। 

कास्कीको प्रदेशसभा क्षेत्र नम्बर ३ ‘क’ मा एमालेले गणेशमान गुरुङलाई उम्मेदवार बनाएको छ। उनी स्थानीय चुनावताका जनता समाजवादी पार्टी छाडेर पुरानै घर एमालेमा फर्केका हुन्। सो क्षेत्रबाट माओवादी केन्द्रले माओवादी केन्द्रका दुर्गादत्त भण्डारी गठबन्धनको तर्फबाट चुनावी मैदानमा ओर्लिएका छन्। उनी माओवादीमा अवसर नपाएका नेताको रुपमा चिनिन्छन्। 

कास्की क्षेत्र नम्बर २ ‘ख’ मा एमालेले निवर्तमान सांसद राजीव पहारी उम्मेदवार बनाएको छ। उनी गएको चुनावमा सोही क्षेत्रबाट विजयी भएका थिए। सो क्षेत्रमा कांग्रेसले प्रकाश बराललाई उम्मेदवार बनाएको छ। खेलकुदमा सक्रिय उनी नेपाली कांग्रेस गण्डकीका कार्यालय सचिव हुन्।

गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा निकट भएकै कारण उनले अन्य आकांक्षीलाई पाखा लगाउँदै टिकट पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .