गण्डकी


चितुवाको आक्रमणबाट आमाछोरा घाइते

चितुवाको आक्रमणबाट आमाछोरा घाइते

फाइल तस्बिर


नेपालखबर
भदौ १४, २०७९ मंगलबार ६:३०, तनहुँ

तनहुँको व्यास नगरपालिका–११ स्थित पातीघारीमा चितुवाको आक्रमणबाट साेमबार आमाछोरा घाइते भएका छन् । घाइते हुनेमा ४९ वर्षीया दिलमाया गुरुङ र नौ वर्षीय शङ्कर गुरुङ रहेको प्रहरीले जनाएको छ।

घरमै सुतिरहेका बेला साेमबार चितुवाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। निर्माणाधीन झ्याल ढोका नभएको घरमा सुतेका बेला चितुवा छिरेको थियो। सुरुमा छोरालाई आक्रमण गरेको र चितुवालाई लखेट्ने क्रममा आमा पनि घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए। चितुवाको आक्रमणबाट बालकको टाउकोमा र आमाको हातमा चोट लागेको थियो। घाइते दुवै दमौली अस्पतालमा उपचारपश्चात् घर फर्किएको अस्पतालले जनाएको छ।

जिल्लामा केही समययता चितुवाको आक्रमण बढ्दो छ। बस्ती छेउमै आएर चितुवाले बालबालिकालाई आक्रमण गर्ने गरेको छ। जिल्लाको भानु, बन्दिपुर, आँबुखैरेनीमा बढी चितुवाको आतङ्क छ। गत बुधबार मात्रै बन्दिपुर गाउँपालिका–१ मा चितुवाको आक्रमणबाट ३ वर्षीय बालक घाइते भएका थिए। उनको चितवनमा उपचार भइरहेको छ। ती बालकको सफल शल्यक्रिया गरिएको छ। 

मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए। 

चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको अध्ययनबाट देखिएको छ। चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन र एक्लै नहिँड्न आग्रह गरिएको छ। चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्न वन कार्यालयले अनुरोध गरेको छ। चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad